Comments Add Comment

सानो पानी आउँदा पनि भासिन्छ जमिन, पहाडी जिल्लामा डरैडर

सुदूरपश्चिममा १८ दिनमा १३ जनाको मृत्यु

बझाङको पहिरो

७ साउन कैलाली । बझाङको केदारस्युँ गाउँपालिका २ का हेमन्त भण्डारीलाई राति निन्द्रा पर्दैन । उनको घर पहिरोको उच्च जोखिममा छ ।

असार १९ गते बझाङको केदारस्युँ गाउँपालिका ८ मलागीमा गएको भीषण पहिरोले उनलाई थप त्रसित बनाएको छ । ‘मेरो घर पनि पहिरोको उच्च जोखिममा छ’ उनले भने ‘डरै डरले रात बित्छ ।’

केदारस्युँ बझाङमा पहिरोको उच्च जोखिममा रहेको स्थानीय तह हो । त्यहाँ समय समयमा ठूला तथा साना पहिरोहरू गइरहन्छन् । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारी कमसल माटोका कारण पहिरोको जोखिम रहेको बताए । उनी भन्छन्, ‘सानो पानी आउँदा पनि जमिन भासिएर जान्छ । जमिन धेरै कमजोर छ । हामी सबै त्रसित छौं ।’

सोमबार राति मालिकार्जुन ८ मा पहिरो गएपछि त्यो क्षेत्रमा पनि त्रास बढेको छ । पहाडी जिल्लाहरूमा पहिरोको त्रास पछिल्लो केही बर्षयता बढी हुन थालेको बाजुराको बडीमालिका नगरपालिकाका मेयर पदम बडाल बताउँछन् ।

‘पछिल्लो समय यसले बढी क्षति गर्न थालेको छ’ उनले भने ‘यसको दीर्घकालीन समाधानका लागि बस्ती विकास कार्यक्रममा जोड दिनुपर्नेछ ।’

थुप्रै सडक अवरुद्ध

एक सातादेखि साफे–मार्तडी सडक अवरुद्ध छ । बूढीगङ्गा नगरपालिका १ मा पर्ने द्वारी क्षेत्रको सडकमा तल र माथिबाट पहिरो खस्न थालेपछि अवरुद्ध बनेको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

‘पहिरोसँगै बूढीगङ्गा नदीको तीब्र कटानका कारण सडक चार मिटर तल भासिइसकेको छ’ गैरेले भने, ‘तत्काल हटाउन सकिने अवस्था छैन ।’

केही समयअघि आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह पनि सडक क्षेत्रको निरीक्षण गर्न बाजुरा पुगेका थिए । बाजुराबाट फर्किएलगत्तै उनले भने, ‘यो नेपाल कै सबै भन्दा ठूलो पहिरो हो । यहाँ ठूलो समस्या छ ।’

उनले डोजर लगाएर पहिरो हटाउन सुरु गरे पुरै बस्ती नै जोखिममा पर्ने बताए । ।

अहिले साफे मार्तडी मात्रै होइन बाजुराकै मार्तडी–कोल्टी सडक, मार्तडीदेखि गौमूल गाउँपालिका घटमुना, मार्तडीदेखि छेडेदह गाउँपालिका डोगडी, बाम्काबजारदेखि त्रिवेणी नगरपालिका तोली, बाम्का बजारबाट डोगडीलगायत क्षेत्र जाने ग्रामीण सडक अवरुद्ध छन् ।

‘सानो पानी पर्दा पनि ती सडकहरु अवरुद्ध हुन्छन्’ बाजुराका प्रजिअ गैरेले भने ‘वर्षामा अधिकांश ग्रामीण सडकहरु बन्द नै हुन्छन् ।’ प्राविधिक रूपमा जाँच नै नगरी काटिएका सडकले पहिरो निम्त्याउने भएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् ।

छैन गतिलो पूर्व तयारी

१९ असारमा बझाङको केदारस्युँ गाउँपालिका–८ मा गएको पहिरोमा ६ जनाले ज्यान गुमाए । त्यस क्षेत्रमा अझै पहिरो जाने सम्भावना छ । एउटा पहिरो गएको दुई साता भइसक्दा पनि त्यहाँ पूर्वतयारीका केही काम गरिएको छैन ।

बझाङका प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले स्थानीय सञ्चार माध्यममार्फत पहिरोबाट जोगिन सूचना प्रशारण गरिरहेको बताउँछन् । ‘हामी हाई अलर्टमा छौ । सञ्चार माध्यमहरूमा विज्ञापन र सूचना प्रकाशन पनि गरेका छौं’ उनले भने ।

पहाडी क्षेत्रमा बिशेषगरी भौगोलिक बनावट र मापदण्ड विपरीत खनिएका सडकहरूका कारण पहिरो गइरहेको छ । तर यसको नियन्त्रण र नियमनमा तीनै तहको सरकार गम्भीर देखिएको छैन ।

बैतडीको मेलौली नगरपालिका मेयर कृष्णसिंह नायवले पहिरोलगायतका विपद् कम गर्न वृक्षारोपण गर्ने विषयमा छलफल भइरहेको बताए । ‘वृक्षारोपण गर्दा पहिरोको जोखिम कम हुन सक्छ यस बिषयमा हामी सोचिरहेका छौं’ उनले भने ।

तर, जोखिमपूर्ण क्षेत्रमा अझै पनि वृक्षारोपण हुन सकेको छैन । डीपीआरबिना निर्माण गरिएको सडकका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको हो । यस बिषयमा तीनै तहको सरकारले आवश्यक पहल भने नगरेको आरोप छ ।

१८ दिनमा १३ जनाको मृत्यु

१८ दिनयता सुदूरपश्चिममा बाढी पहिरोका कारण १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाका ४, बझाङका ८ र बाजुराका १ जना रहेका छन् ।

असार १९ गते राति गएको पहिरोले बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा ६ जनाको मृत्यु भयो । पहिरोमा बेपत्ता भएका २२ वर्षीय गिरिजा जेठारा दुई सातासम्म पनि भेटिएका छैनन् । २२ वटा घर बगाएको उक्त पहिरोका कारण ३८ घर अझै जोखिममा छन् ।

त्यसको केही दिनमै बझाङकै जयपृथ्वी नगरपालिका–७ सुवेडामा गएको पहिरोले एक घर बगाउँदा ११ वर्षीय बालकको ज्यान गयो । त्यसको अघिल्लो रात डोटीको पुर्वीचौकी गाउँपालिकामा पहिरोमा पुरिएर ४ महिने बालकको मृत्यु भयो ।

असार ३० गते बाजुराको बुढीनन्दा नगरपालिका– ३ मा पहिरोमा पुरिएर स्थानीय ७२ बर्षका शिव बोहराको मृत्यु भएको थियो । गोरु चराउन गएका बेला उनी पहिरोमा पुरिएका थिए ।

गत आइतबार राति दार्चुलाको नौगाड गाउँपालिका–६, परिगाउँमा २ जनाको मृत्यु भयो । मृत्यु हुनेमा ३५ बर्षकी मती ठगुन्ना र आरती ठगुन्ना थिए ।

सोमबार राति दार्चुलाकै मालिकार्जुन गाउँपालिका–८ मा पहिरोले पुरिएर स्थानीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भयो । उनका दिदी लक्ष्मी परियारको अवस्था गम्भीर छ । भाञ्जाभाञ्जी पहिरोमा पुरिए पनि सामान्य घाइते छन् ।

पहिरोको कारण केही समयअघि डोटीको सायल गाउँपालिका–२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका थिए । पानी पर्न छोडेपछि आठ परिवारका ४० जना फेरि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment