Comments Add Comment

मानसिक स्वास्थ्यलाई विद्यालयको पाठ्यक्रममा राख्न निर्देशन

फाइल तस्वीर

७ साउन, काठमाडौं । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले विद्यालयस्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्न सरकारलाई निर्देशन दिएको छ ।

‘विद्यालय स्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विषयवस्तु समेटी अध्यापन–अध्यापन गर्ने–गराउने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन गर्दछ’ समितिको बुधबारको निर्णयमा भनिएको छ ।

समिति बैठकमासांसदहरुले आत्महत्या रोक्न पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्नुपर्ने बताएका थिए । मानसिक समस्या बढेका कारण आत्महत्याको दर पनि बढेको उनीहरुको भनाइ थियो ।

समितिले आत्महत्या रोक्ने उपायबारे अध्ययन अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले आफ्नो मानसिक स्वास्थ्यबारे सचेत रहन आम नागरिकलाई पनि आग्रह गरेको छ । ‘मानसिक स्वास्थ्यलाई आम नागरिकले प्राथमिकता दिने गरेको पाइदैन । आफ्नो मानसिक स्वास्थ्यसहित समग्र स्वास्थ्यप्रति सचेत रहन आम नागरिकलाई अनुरोध गर्दछ’ समितिको निर्णयमा उल्लेख छ ।

संयुक्त प्रयास गर्ने निर्णय

महिला तथा सामाजिक समितिले मानसिक स्वास्थ्यले पार्ने प्रभाव र आत्महत्या रोक्न प्रदेश सभाका सम्बन्धित संसदीय समितिसँग मिलेर संयुक्त प्रयास गर्ने निर्णय गरेको छ ।

मानसिक स्वास्थ्यबारे संयुक्त प्रयास र समन्वय आवश्यक देखिएका कारण प्रदेशसँग मिलेर संयुक्त प्रयास गर्ने निर्णय भएको सभापति निरु पालले बताइन् ।

उनका अनुसार आत्महत्या रोक्न के कस्ता नीतिगत व्यवस्था गर्न सकिन्छ, कस्ता खालका सचेतना कार्यक्रम चलाउन सकिन्छ भनेर प्रदेशसभाका समिति सभापति र सदस्यहरुसँग संघीय महिला तथा सामाजिक समितिले संयुक्त कार्यशाला गरेर सरकारलाई निर्देशन गर्नेछ ।

लकडाउन अवधिमा २ हजार आत्महत्या

कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म गरिएको लकडाउनमा करिब २ हजार जनाले आत्महत्या गरेका छन् ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार लकडाउन भएको चैत, वैशाख र जेठ महिनामा क्रमश ४८३, ५७८ र ६७१ जनाले आत्महत्या गरेका छन् ।

यसमा असार महिनाको जोड्दा २ हजार भन्दा बढीले आत्महत्या गरेको तथ्याङ्क आउने उल्लेख गर्दै मनोचिकित्सक बासुदेव कार्की सरकारले प्राथमिकताका साथ आत्महत्या रोक्न आवश्यक कदम चाल्नुपर्ने बताउँछन् ।

मानसिक स्वास्थ्यकै प्रभावकारी उपचार खोज्न र यसबारे विस्तृत अध्ययन गरेर अगाडि बढ्न सरकारले सम्बन्धित मन्त्रालयमा मानसिक स्वास्थ्य महाशाखा नै खोल्नुपर्ने उनको सुझाव छ ।

बढी आकांक्षा हुने उमेरका व्यक्तिहरुले बढी आत्महत्या गर्ने गरेको पनि उनको भनाइ छ । १४ देखि ४५ उमेर समूहका मानिसमा आएका मानसिक समस्या आत्महत्यामा पुग्ने गरेको र यही कारण केही अपाङ्ग हुने गरेको पनि उनले सुनाए ।

आत्महत्या प्रयास गर्नेमा महिला बढी र आत्महत्या नै गर्नेमा पुरुष बढी रहेको समेत उनले बताए । कार्कीले कोरोना भाइरसको जोखिम कम भएपछि वा अहिले नै वैदेशिक रोजगारीबाट फर्केकाहरुमा नैराश्यता बढेर आत्महत्या बढ्न सक्ने बताए ।

आत्महत्यालाई रोक्न परामर्शका कार्यक्रम अघि बढाउनुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment