
News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेको रोशी गाउँपालिका-१० का ३३ वर्षीया सोमा थिङको मृत्युपछि नक्कली कागजात बनाएर रकम लिएको आरोपमा ६ जना पक्राउ परेका छन्।
- प्रहरीले अनुसन्धान गरी सोमाको मृत्युको नक्कली विवरण पत्ता लगाएर उनीहरूलाई हिरासतमा राखेको हो।
- ६ जनालाई नै पक्राउ गरी अनुसन्धान गरिएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए।
८ असार, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका-१० ठकुरी गाउँ पाथ्लोपोखरी टोलकी ३३ वर्षीया सोमा थिङ वैदेशिक रोजगारीका लागि लामो समय यूएई बसिन् ।
सन् २०१६ देखि २०२२ सम्म ६ वर्ष यूएईमा काम गरेपछि उनी नेपाल फर्किन् । नेपाल फर्केपछि उनी परिवारसहित ललितपुरको इमाडोल बसिन् ।
१६ असार २०७९ बिहानै श्रीमान् कान्छामान थिङसँग सोमाको ठाकठुक पर्यो । श्रीमान्सँग विवाद भएपछि ‘मर्छु’ भन्दै उनी त्यही दिन घरबाट निस्किइन् ।
बिहान कोठाबाट निस्केकी सोमा कता गइन्, पत्तो भएन । आफ्ना भाइ र बहिनीलाई समेत फोन गरी ‘मर्छु’ भनेको जानकारी प्रहरीले पाएको थियो । १२ वर्षे छोरा छोडेर बेपत्ता भएकी सोमा १०औं दिन २५ असार २०७९ मा धुलिखेलको जंगलमा मृत फेला परिन् ।
घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा सोमाको शव फेला परेको थियो । पोस्टमार्टमको प्रक्रिया सकेर परिवारले शव सद्गद् गरे ।
दुई वर्षअघि नै आत्महत्या गरी ज्यान गुमाएकी उनै सोमाको शवलाई देखाएर राज्यबाटै लाखौं असुल्न खोज्ने ६ जना अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा पुगेका छन् ।
आत्महत्या गरी ज्यान गुमाएकी सोमामाथि नक्कली कागजात बनाएर वैदेशिक रोजगारीमा जोड्दै उनीहरूले राज्यबाट १० लाख रुपैयाँ असुल्न खोजेका थिए । ६ जनालाई नै पक्राउ गरी अनुसन्धान गरिएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए ।
यो प्रकरणमा स्वयं सोमाका श्रीमान् कान्छामानदेखि नायव सुब्बासम्म संलग्न रहेको पाइएको छ । सीआईबीले सोमाका श्रीमान् ३७ वर्षीय कान्छामान, भूमि व्यवस्था अभिलेख विभाग बबरमहलका नायब सुब्बा (कम्प्युटर अपरेटर) पशुपति अधिकारी, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१३ का ४२ वर्षीय मनबहादुर नेपाली, अर्घाखाँचीको मालारानी गाउँपालिका-२ का ३५ वर्षीय रामबहादुर नेपाली, रोशी गाउँपालिका-१० का ५० वर्षीय निरकुमार मल्ल, रोशी गाउँपालिका-१२ का ४२ वर्षीय रामबहादुर तामाङमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ । उनीहरूमाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रवक्ता खड्काले बताए ।
मृत्यु भइसकेकी सोमालाई यूएई गएको देखाएर रकम असुल्ने दाउ
वैदेशिक रोगजारीमा गएर मृत्यु भएकाको परिवारलाई १० लाख रुपैयाँ राहत तथा क्षतिपूर्ति दिने व्यवस्था छ । विदेशमै काम गरेका बेला कुनै रोग लागेर नेपाल फर्केर आएकाको मृत्यु भएमा र बिदामा आएको बखत मृत्यु भएमा पनि १० लाख रुपैयाँ दिइने व्यवस्था छ ।
यो व्यवस्थाबारे सोमाका श्रीमान् कान्छामान जानकार हुन्छन् । यो कुरा उनले आफ्नै गाउँका मिल्ने साथै निरकुमारलाई सुनाउँछन् । यसरी रकम लिन कामदार मृत्यु भएको एक वर्षभित्र निवेदन दिइसक्नुपर्ने हुन्छ ।
तर, सोमाको हकमा एक वर्ष नाघिसकेको हुन्छ । निरकुमारले यो विषय रामबहादुर तामाङलाई सुनाउँछन् । तामाङ यसअघि यस्तै काम गर्दै आएका व्यक्ति हुन् । त्यसपछि रामबहादुरदेखि मनबहादुर नेपाली र मनबहादुर हुँदै यो कुरा नासु पशुपति अधिकारीसम्म पुगेको सीआईबीका एक अधिकारी बताउँछन् ।
मनबहादुर, रामबहादुरद्वय र नासु अधिकारी यसअघि पनि यस्तै प्रकरणमा जोडिएर पक्राउ समेत परेका व्यक्ति हुन् । त्यसपछि नासु अधिकारीले नै दिएको उपायअनुसार उनीहरूले काम गरेको देखिएको सीआईबीका ती अनुसन्धान अधिकृत सुनाउँछन् ।
त्यसपछि उनीहरूले बीमा दाबी गर्नका लागि चाहिने सम्पूर्ण कागजात नक्कली बनाएको पाइएको छ । अध्यागमन विभागको पत्रदेखि, मृत्युदर्ता, सिफारिसपत्र, श्रम स्वीकृति समेत नक्कली बनाएको पाइएको प्रवक्ता खड्काले बताए ।
मृत्यु भएको एक वर्ष नाघिसकेकाले उजुरीको हदम्याद नाघ्ने हुँदा नक्कली श्रम बनाएर पुन: यूएई गएर आएको विवरण देखाउन उनीहरूले अध्यागमन र श्रमको समेत नक्कली पत्र बनाएको पाइएको सीआईबीका एक अनुसन्धान अधिकृतले बताए ।
अनि खुल्यो पोल
सम्पूर्ण नक्कली कागजात बनाएर उनीहरूले बीमा रकम दाबी गर्न वैदेशिक रोजगार बोर्डमा पेस गरेका थिए । २५ असार २०७९ मा मृत भेटिएकी सोमाको १६ पुस २०८१ मा मृत्यु भएको भन्दै मृत्यु दर्तासहितको विवरण बोर्डमा पेस गरेका थिए ।
कागजातमाथि शंका लागेर बोर्डले रोशी गाउँपालिका-१० लाई पत्राचार गर्दै विवरणहरू माग गरेको थियो । त्यसपछि बल्ल उनीहरूको पोल खुल्यो । वडाको रेकर्डमा सोमाको मृत्यु २५ असार २०७९ मा भेटिएपछि बोर्डले नै थप अनुसन्धान गर्न भन्दै सीआईबीलाई पत्राचार गरेको थियो । त्यसपछि सीआईबीले यो विषयमा विस्तृत अनुसन्धान गरेपछि उनीहरू पक्राउ परेका हुन् ।
यसको सम्पूर्ण उपाय नासु अधिकारीले लगाएको सीआईबीका अधिकारीहरू बताउँछन् । ‘यसअघि पनि यस्तै काम गरेको पाइएपछि पक्राउ परेका नासुलाई सबै थाहा भएकाले उनैले बताएको प्रक्रियाअनुसार अरुले काम गरेको देखिन्छ,’ सीआईबीका ती अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।
पहिला पनि पक्राउ परेका थिए नासु
अहिले सीआईबीको हिरासतमा रहेकामध्ये मनबहादुर, रामबहादुरद्वय र नासु अधिकारी गरी ४ जना यसअघि पनि यस्तै प्रकरणमा जोडिएका व्यक्ति हुन् ।
मनबहादुरसहित ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २३ चैत २०७९ मा पक्राउ गरेको थियो । त्यसको ३ दिनपछि २६ चैतमा अपराध अनुसन्धान कार्यालयले नासु अधिकारीलाई पक्राउ गरेको थियो ।
उनीहरूले वैदेशिक रोजगारका क्रममा मृत्यु भएका तथा बिदामा आउँदाका बखत मृत्यु भएका व्यक्तिका परिवारले बीमावापत पाउने रकम दिलाइदिने भनेर ठगी गर्ने गरेको त्यसबेलाका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसी (हाल एआईजी)ले बताएका थिए ।
उनीहरूलाई ठगीसम्बन्धी कसुरमा कारबाहीका लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो ।
त्यतिबेला नासु अधिकारी वैदेशिक रोजगार बोर्डमै कार्यरत थिए । तर पक्राउ परेका नासु अधिकारी र रामबहादुर तामाङले मृतकका आफन्तको नाममा लिएको ८ करोड रुपैयाँ पीडित पक्षलाई फिर्ता गरेपछि मिलापत्र भएको थियो । त्यसपछि उनीहरूविरुद्ध मुद्दा चलेन ।
यही प्रकरणका फरार प्रतिवादी रामबहादुर नेपाली र मनबहादुर नेपालीले पनि पीडित पक्षसँग मिलापत्र गरेपछि उनीहरू चारैजना मुद्दा नचलेको पाइएको छ । दुई वर्षअघि मुद्दा नचली उम्मेकाहरू नै अहिले फेरि पुरानै शैलीमा ठगीमा जोडिएका छन् ।
प्रतिक्रिया 4