Comments Add Comment

१८ महिनामा सक्नुपर्ने स्वास्थ्यचौकी भवन ६ वर्षसम्म पूरा भएन

निर्माण पूरा नभएको स्वास्थ्य चौकी भवन (बाँया) र हाल स्वास्थ्य चौकी सञ्चालन भएको अस्थायी भवन ।

६ साउन, गोरखा । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङको स्वास्थ्यचौकी भवन तीन पटक थपिएको म्यादभित्र पनि ठेकेदारले निर्माण सकेको छैन ।

१८ महिनामा निर्माण सक्न २०७१ वैशाख २८ गते धुलिखेल निर्माण सेवासँग सम्झौता भए पनि २०७२ कात्तिक २८ मा एक वर्ष, २०७३ कात्तिक २७ मा ८ महिना र २०७४ असार ३० गते ३२ महिना म्याद थप गरिएको थियो ।

पछिल्लो पटक थपिएको म्यादअनुसार ठेकेदारले २०७६ फागुन ३० गतेभित्र काम सक्नुपर्ने थियो । तर म्याद गुज्रिएको ६ महिनासम्म पनि १० प्रतिशत काम बाँकी रहेको संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका आयोजना प्रमुख झपटबहादुर थापाले बताए ।

तत्कालिन शहरी विकास तथा भवन डिभिजन कार्यालय गोरखासँग सम्झौता भएको आयोजना हाल संघीय आयोजना कार्यान्वयन इकाइ मातहत छ ।

‘भुइँको फिनिसिङ, ट्वाइलेट वाथरुम, रंगरोगन र कम्पाउण्डिङको काम बाँकी नै छ,’ उनले भने । एक महिनाभित्र काम सक्न ठेकेदारलाई अल्टिमेटम दिएको थापाले बताए । भवन निर्माणको लागत मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक एक करोड ७२ लाख ५२ हजार २५५ रुपैयाँ रहेको छ ।

ठेक्का पाएको धुलिखेल निर्माण सेवाबाट यो स्वास्थ्यचौकी निर्माणको जिम्मा निर्माण व्यवसायीसमेत रहेका स्वास्थ्यचौकी रहेको वडाका वडाध्यक्ष नारायण श्रेष्ठले लिएका छन् । ‘काम मैले गरेको हुँ तर नाकावन्दी, भूकम्प, चुनाव र कोरोनाका कारण काममा ढिलाइ भयो,’ श्रेष्ठले भने ।

गरिसकेको कामको पनि समयमा रकम नपाउँदा ढिलाइ भएको पनि उनले बताए । ‘सरकारी भवन भनेको बेला पैसा नदिएर काम गर्न पनि समस्या भयो,’ श्रेष्ठले भने । उनले एक महिनामा काम सक्ने प्रतिवद्धता जनाए ।

स्वास्थ्य चौकी अस्थायी टहरामा

समयमै भवन निर्माण नहुँदा स्वास्थ्य चौकी हाल अस्थायी टहरामा सञ्चालन गरिएको छ । बर्थिङ सेन्टरसमेत रहेको स्वास्थ्यचौकीमा ठाउँ अभाव हुँदा सेवा प्रवाह गर्न असहज भएको अनमी सचिना शाक्यले बताइन् ।

‘चैत्रसम्म त टेन्टमै थियौं, अहिले टिनको अस्थायी टहरामा छौं,’ उनले भनिन्, ‘ठाउँ साँघुरो छ, डेलिभरी गर्न आउँछन्, कुर्ने मान्छे बस्ने ठाउँसमेत छैन, सबै एउटै कोठामा बस्नुपर्दा समस्या भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment