Comments Add Comment

कार्टुनमा भेटिए नवजात शिशु, अभिभावक खोज्दै प्रहरी

१३ साउन, काठमाडौं । सोमबार साँझ कपनको आकाशेधारा चौरमा खेल्दै गरेका बच्चाहरूले एउटी नवजात शिशुलाई बेवारिसे अवस्थामा भेटे । नजिकै रहेको केयर चाइल्ड अर्फानेज र बाहिरका समेत बच्चाहरूले खेल्दै गर्दा भेटेको नवजात शिशुको बारेमा अर्फानेजकी सञ्चालिका पुष्पा अधिकारीलाई खबर गरे ।

कार्टुनको बाकसमा रहेकी ती शिशु देख्दा ४/५ दिनकी जस्ती देखिन्थिन् । बच्चाको स्वास्थ्य अवस्था सामान्य थियो ।

५ वर्षदेखि ११ वर्षसम्मका १५ जना बालबालिकालाई साहारा दिइरहेकी अधिकारी नयाँ बच्चा भेटिएको सुन्नासाथ सोही चौरमा पुगिन् । ‘साँझ त्यस्तै ६ बजेको थियो होला । दुईजना बच्चाहरू कराउँदै आए । चौरमा गएर हेर्दा त एउटा जीवित बच्चा छाडिएको रहेछ । मेरै जिम्मामा त्यो शिशुलाई बाल गृहमा सुरक्षित राखिएको छ ।’ अधिकारीले अनलाइनखबरसँग भनिन् ।

अधिकारीका अनुसार अहिलेसम्म बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । बच्चाको तौल नापिएको छैन । बाँकी स्वास्थ्यको अवस्थाबारे भोलि(बुधबार) अस्पताल लैजाने तयारी भएको अधिकारीले बताइन् ।

सो शिशुको अभिभावको खोजतलासका लागि प्रहरीमा समेत निवेदन दिइसकिएको छ । महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक शेखरजंग मल्लले शिशुको अभिभावक बारे खोजी भइरहेको जानकारी दिए । ‘झट्ट घटनाको प्रकृति हेर्दा विवाहअघि नै जन्मिएको बच्चा भएकोले कसैले पनि दाबी गर्न नआएको हुनसक्छ । हामीले खोजी कार्य जारी राखेका छौं ।’ मल्लले अनलाइनखबरसँग भने ।

मल्ल विवाह अघि नै जन्मिएको बच्चा बाल गृहमा हुर्कियोस् भन्ने सोचेर नै बालगृह नजिकै लगेर छाडेको हुनसक्ने बताउँछन् । उनी भन्छन् ‘हामी अभिभावकको खोजीमा छौं । तर अहिलेसम्म कोही आफ्नो भनेर दाबी गर्न आएका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment