Comments Add Comment

च्याम्पियन युभेन्टस अन्तिम खेलमा पराजित

१८ साउन, काठमाडौं । इटालियन सिरी ए को उपाधि जितिसकेको युभेन्टस अन्तिम खेलमा रोमासँग ३-१ ले पराजित भएको छ । क्रिस्टियानो रोनाल्डोलाई आराम दिइएको खेलमा युभेन्टसले पहिले अग्रता लिएपनि रोमाले उत्कृष्ट पुनरागमन गर्दै खेल जितेको हो ।

यस्तै दोस्रो स्थानको इन्टरले तेस्रो स्थानको एटलान्टालाई पराजित गर्दा चौथो स्थानको लाजियो सातौं स्थानको नापोलीसँग पराजित भएको छ ।

यसअघि नै उपाधि पक्का गर्दै लगातार नवौं पटक च्याम्पियन बनिसकेको युभेन्ट्सले घरेलु मैदानमा गोन्जालो हिगवेनको गोलमार्फत खेलको पाँचौ मिनेटमै अग्रता दिलाएका थिए । तर युभेन्टसले उक्त अग्रता जोगाउन सकेन भने रोमाले उत्कृष्ट पुनरागमन गर्‍यो ।

२३औं मिनेटमा निकोला कालिनिकले रोमाको लागि बराबरी गोल फर्काए । ४४औं मिनेटमा डिएगो पेरेट्टीले पेनाल्टीमार्फत गोल गर्दै रोमालाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।

५२औं मिनेटमा पेरेट्टीले नै व्यक्तिगत दोस्रो गोल गरेपछि रोमाले ३-१ को अग्रता बनायो। त्यसपछि गोल भएन र रोमा विजयी भयो ।

पराजित भएपनि युभेन्ट्सले घरेलु मैदान सिरी ए को ट्रफी उचालेको थियो ।

यस्तै दोस्रो स्थानको इन्टरले तेस्रो स्थानको एटलान्टालाई २-० ले पराजित गर्दै लिगमा सुखद अन्तय गरेको छ । इन्टरका लागि खेलको पहिलो मिनेटमै डानिलो डि एम्ब्रोसिओ र २०औं मिनेटमा एस्ले योङले गोल गरे ।

अर्को खेलमा नापोलीले लाजियोलाई ३-१ ले हरायो । नापोलीका लागि नवौं मिनेटमा फाबियनले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै २२औं मिनेटमा सिरो इम्मोबाइलले लाजियोको लागि बराबरी गोल फर्काए । लरेन्जो इनसिग्नेले ५४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नापोलीलाई २-१ को अग्रता दिलाए । अन्तिम समयमा माटेओ पोलिटानोले गोल गरेपछि नापोलीले ३-१ को जित हात पारेको हो ।

लाजियोका इम्मोबाइल ३५ गोल गर्दै सिरी ए को सर्वाधिक गोलकर्ता बनेका छन् । उनले तेस्रो पटक सिरी ए को गोल्डेन बुट जितेका छन् । यस्तै युरवपको लिगभर सर्वाधिक गोल गर्दै युरोपियन गोल्डेन बुटको अवार्ड पहिलो पटक जित्न सफल भएका छन् ।

यसैगरी एसी मिलानले काग्लियारीलाई ३-० ले पराजित गरेको छ । एसी मिलानको लागि राग्नर क्लाभान, ज्लाटानो इब्राहिमोभिचल र सामुएल कास्टिलेजोले गोल गरे ।

सिरी ए बाट युभेन्टस, इन्टर, एटलान्टा र लाजियो शीर्ष चारमा रहँदै अर्को सिजनको च्याम्पियन्स लिगको लागि छनोट भएका छन् । यस्तै पाँचौ स्थानको रोमा युरोपा लिगमा छनोट भएको छ भने छैटौं स्थानको एसी मिलानले युरोपा लिगको प्लेअफ खेल्ने अवसर पाउनेछ ।

लिगमा सातौँ भएको नापोली घरेलु प्रतियोगिता कोपा इटालिया जितेकोले युरोपा लिगमा सीधै छनोट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment