Comments Add Comment

आईसीयूका कोरोना संक्रमितको औषधि : व्यक्तिले प्लेन चार्टर गरेर ल्याए, सरकारले ल्याएन

१९ साउन, काठमाडौं । विराट मेडिकल कलेज तथा नर्सिङ होमका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीलाई साउन ७ गते कोभिड–१९ संक्रमण पुष्टि भयो ।

निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या आएपछि ९ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरियो । त्यसबेला उनलाई ९० प्रतिशत अक्सिजन दिनुपरेको थियो ।

आईसीयूमा राखेर अक्सिजन दिँदा पनि स्वास्थ्यमा सुधार आएन । उनलाई भेन्टिलेटरमा सारियो । डा. कार्कीको उपचारका लागि रेमडिसिभिर औषधि नभई नहुने भयो ।

तर यो औषधि नेपालमा उपलब्ध थिएन ।

कोरोना संक्रमित बिरामीलाई सामान्य औषधि उपचार र अक्सिजनले नभ्याएपछि आईसीयूमा राखेर उपचार गर्ने क्रममा सुईमार्फत रेमडिसिभिर औषधि दिइन्छ ।

अमेरिकाको जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेमडिसिभिरलाई अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले कोभिड–१९ का संक्रमितहरूमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ ।

‘आर्थिक अवस्था राम्रो भएका कारण कलकत्ताबाट औषधि मगाएर उपचार गर्न सकियो’ शिक्षण अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक प्रा.डा. सन्तकुमार दास भन्छन्, सामान्य मानिसले यो औषधि उपचार पाउँदैनन् ।’

यो एन्टिभाइरल इबोलाका बिरामीमा पनि प्रयोग गरिएको थियो । नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिज (एनआईएआईडी)का अनुसार अमेरिकाका अस्पतालमा भर्ना भएका एक हजार ६३ कोरोना संक्रमितमा गरेको अध्ययनमा अन्य औषधिभन्दा यो एन्टिभाइरल प्रयोग गरेकाहरूमा प्रभावकारिता राम्रो भएको र चाँडो निको भएको जनाएको छ । यो परीक्षणलाई ‘एडप्टेड कोभिड–१९ ट्रिटमेन्ट ट्रायल’ (एसीटीटी) नाम दिइएको थियो ।

पहिलो एसीटीटी ट्रायलको रुपमा कोभिड–१९ संक्रमित भएको ‘डाइमण्ड प्रिन्सेस’ नामक पानी जहाजबाट यात्रा गरेर क्वारेन्टिनमा बसेकाहरुमा यो एन्टिभाइरल प्रयोग गरिएको थियो ।

विभिन्न क्लिनिकल ट्रायलको निष्कर्षअनुसार रेमडिसिभिर औषधिले जटिल अवस्थामा पुगेका बिरामीको स्वास्थ्यमा आंशिक सुधार ल्याउँछ, तर पूर्ण निको भने पार्दैन ।

त्यसैले अहिले गम्भीर किसिमका कोरोना संक्रमितलाई रेमडिसिभिर प्रयोग गर्न थालिएको छ । एक जना कोरोना संक्रमित बिरामीलाई पाँच दिनसम्म ६ डोजमा रेमडिसिभिर औषधि दिनुपर्ने चिकित्सकहरु बताउँछन् । सुईको माध्यमबाट ६ डोज रेमडिसिभिर औषधि दिँदा झण्डै एक लाख खर्च लाग्छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक डा. नारायणप्रसाद ढकालका अनुसार एक किलोग्राम उक्त औषधि बनाउन चाहिने कच्चा पदार्थलाई मात्र दुई लाख ४० हजार अमेरिकी डलर पर्छ । र, अहिलेसम्म कुनै पनि नेपाली कम्पनीले रेमडिसिभिर औषधि उत्पादन गरेका छैनन् ।

डा. कार्कीको लागि रेमडिसिभर औषधि नभई नहुने भएपछि कलकत्ताबाट मगाइयो । ११ भाइल औषधि ल्याउन भारतको कलकत्ताबाट विराटनगरसम्म प्लेन चार्टर गरिएको थियो भने त्यहाँबाट हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।

रेमडिसिभिर ५ दिन चलाएपछि डा. कार्कीको कन्भलेसेन्ट प्लाज्माथेरापी मार्फत उपचार गरियो । डा. कार्की प्लाज्मा थेरापीमार्फत उपचार गर्ने नेपालको पहिलो संक्रमित हुन् ।

‘आर्थिक अवस्था राम्रो भएका कारण कलकत्ताबाट औषधि मगाएर उपचार गर्न सकियो’ शिक्षण अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक प्रा.डा. सन्तकुमार दास भन्छन्, सामान्य मानिसले यो औषधि उपचार पाउँदैनन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर अहिले ३६ जना कोरोना संक्रमित आईसीयूमा छन्, २ जना भेन्टिलेटरमा छन् । जसमध्ये २१ जना काठमाडौंमा छन् । उनीहरुलाई पनि डा. कार्कीलाई जस्तै रेमडिसिभिर औषधि आवश्यक पर्नसक्छ । तर, तिनीहरुलाई आईसीयूमा उपलब्ध उपचारबाहेक रेमडिसिभिर जस्तो प्रभावकारी औषधि दिएर उपचार गर्न सकिएको छैन ।

गएका १२ दिनमा नेपालमा कोरोना संक्रमणका कारण १२ संक्रमितको मृत्यु भयो, जसमध्ये ६ जना आईसीयूमा उपचररत थिए भने २ जना भेन्टिलेटरमा ।

मन्त्रालयको सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार आईसीयूमा भर्ना भएका अधिकांश संक्रमित दीर्घरोगी छन् । आइसोलेसनमा रहेका ६० प्रतिशत संक्रमितमा लक्षण छ । यो तथ्यांकमा दीर्घरोगी र वृद्धवृद्धा पनि समावेश छन् । यसले कोरोनाबाट मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने संकेत गरेको छ ।

किनकी नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका ५८ मध्ये ३२ जनामा गम्भीर प्रकारको दीर्घरोग थियो । २५ जना ५० वर्षभन्दा माथिको उमेर समूहका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट संसारभर मृत्यु भएकामध्ये १३.२ प्रतिशत मुटु, ९.२ प्रतिशत मधुमेह, ८.४ प्रतिशत उच्च रक्तचाप, ८ प्रतिशत श्वास–प्रश्वास र ७.६ प्रतिशत क्यान्सरपीडित छन् । अर्थात कोरोनाको कारण दीर्घरोगी र वृद्धवृद्धाको मृत्युको संख्या विश्वरमा नै धेरै छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘नेपाल यो विषयमा अपवाद बनेको छैन र, अपवाद बन्न पनि सक्दैन ।’

तथ्याकंले राम्रो संकेत नगर्दा पनि गम्भीर किसिमका कोरोना संक्रमितलाई उपचार गर्न आवश्यक औषधि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको छैन, जसका कारण बचाउन सकिने संक्रमितको पनि मृत्यु हुनसक्छ ।

औषधि खरिद गर्न किन ढिलो भयो त ?

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल यसअघि गम्भीर किसिमका कोरोना संक्रमित नदेखिएकाले यो औषधि खरिदको प्रकिया सुरु नगरेको बताउँछन् ।

गएको सातादेखि लक्षण देखिएका र आईसीयूमा गएका संक्रमित बढ्दै गएकाले यो औषधि किन्न प्रकिया सुरु भइसकेको छ । ‘हामीले औषधि व्यवस्था विभागलाई यहाँका व्यवसायीहरुलाई रेमडिसिभिर ल्याउन टेण्डर गर्न भनेका छौं’ डा. पोखरेलले भने, ‘व्यवसायीहरुले ल्याएपछि सरकारले उनीहरुबाटै आवश्यक परेको औषधि लिनेछ ।’

विभागका निर्देशक ढकालका अनुसार चार आयातकर्ताले यो औषधि ल्याउन निवेदन दिएका छन् । ‘हामीले नेपालमा के कति औषधि चाहिन्छ भनेर अध्ययन पनि गरिरहेका छौं । सबै प्रकिया पूरा गरेर छिट्टै यो औषधि ल्याउछौँ’ निर्देशक ढकालले भने, ‘मन्त्रालयले नै ढिलो सिफारिस गरेकाले ढिलो भएको हो ।’

किन सुरु भएन रेमडिसिभिरको क्लिनिकल ट्रायल ?

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदले विश्व स्वास्थ्य संगठनको आग्रहमा वैशाखमै तेस्रो चरणको क्लिनिकल ट्रायलमा सहभागी हुने निर्णय गरेको थियो । अन्य रोगविरुद्ध प्रयोग भइरहेको औषधि कोभिड–१९ मा प्रभावकारी हुने सम्भावना देखेर डब्ल्यूएचओले विभिन्न देशलाई ट्रायल गर्न आह्वान गरेको थियो । त्यसमा रेमडिसिभिरलगायत अन्य तीन किसिमका औषधि थिए ।

तर चार महिना बित्दा पनि क्लिनिकल ट्रायल सुरु भएन । जबकी त्रिवि शिक्षण अस्पतालमा डा. कार्कीले व्यक्तिगत खर्चमा रेमडिसिभिर जोहो गरेका थिए । मेडिसिटी अस्पतालका एक संक्रमितलाई रेमडिसिभिर भारतबाट मगाएर चलाइएको छ ।

परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवाली भने डब्लुएओले नै क्लिनिकल ट्रायल होल्ड गरेकाले सुरु नभएको बताउँछन् । उनका अनुसार क्लिनिकल ट्रायलका लागि डब्ल्यूएचओले नयाँ गाइडलाइन बनाउँदैछ र, उसले आधिकारिक कम्पनीको औषधि सिफारिस गरेपछि मात्र नेपालमा क्लिनिकल ट्रायल सुरु हुनेछ ।

‘हामी क्लिनिकल ट्रायलको लागि तयारी छौं । आईसीयूमा भर्ना भएका संक्रमित पनि छन्’ डा. ज्ञवाली भन्छन्, ‘हामी डब्लुएचओको निर्देशन कुरेर बसेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment