Comments Add Comment

स्याङ्जामा लापरवाही : थुनावालाई परीक्षण नगरी छोड्दा स्थानीयमा संक्रमण

२० साउन, पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा साउन ४ गते तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गर्‍यो । उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान बढाउँदै थियो ।

यहीबीचमा केही प्रहरीमा रुघाखोकी जस्तो लक्षण देखिए । कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा साउन ६ गते ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भयो । प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि अनुसन्धान सकेर तास खेलेको आरोपमा पक्राउ परेका सबैलाई छाडियो ।

उनीहरु घर फर्किए । थप प्रहरी संक्रमित भएको पाइयो । जब उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी भयो, केही दिन प्रहरी थुनामा बसेर घर गएका उनीहरु पनि परीक्षणको दायरामा आए ।

मंगलबार थुनुमुक्त भएका एक जनासहित उनकोे सम्पर्कमा आएका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा थुनामुक्त भएकै व्यक्तिसहित परिवारकै ४ जना छन् भने बाँकी ४ जना सम्पर्कमा आएका उनका साथीहरु रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यमप्रसाद शर्माले जानकारी दिए ।

‘स्याङ्जाका प्रहरीमा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको खोजि गरेर स्वाब परीक्षण गर्‍यौं । तिनै मध्ये एक थुनामुक्त भएर गएका व्यक्ति थिए,’ प्रमुख शर्माले भने, ‘अहिले तिनै थुनामुक्त भएका व्यक्तिसहित सम्पर्कमा आएका ८ जनामा संक्रमण पुष्टि भयो ।’

प्रहरीमा संक्रमण देखिएपछि थुनामुक्त भएकाहरुलाई परीक्षण नगरी पठाउँदा स्थानीयमा पनि संक्रमण सरेको छ । ‘प्रहरीमा कोरोना संक्रमण देखिनेबित्तिकै थुनामुक्त हुनेलाई क्वारेन्टाइनमा राखेर स्वाब परीक्षण गर्न सकेको भए सायद मंगलबार ८ जनामा संक्रमण हुन्नथ्यो होला’ स्वास्थ्य प्रमुख शर्माले भने, ‘क्वारेन्टाइनमा राख्न र स्वाब टेस्ट गरेरमात्र पठाउनमा हामी चुकेछौं ।’

जनप्रतिनिधिको जिम्मा लगायौं ! फुत्क्यो !

यो घटनालाई लिएर प्रहरी र स्थानीय जनप्रतिनिधिले भने एकअर्कालाई दोष दिएका छन् ।

स्याङ्जा प्रहरी प्रमुख एसपी विमलराज कडेंलले थुनामुक्त भएकाहरुलाई क्वारेन्टाइनमा राख्न जनप्रतिनिधिकै जिम्मा लगाएर पठाइएको बताए । ‘हामीसँग स्रोत, साधन केही हुँदैन । हामीले क्वारेन्टाइनमा राख्न जनप्रतिनिधिकै जिम्मा लगाएका हौं,’ एसपी कडेंलले भनें, ‘तर, क्वारेन्टाइनमा राखिएनछ ।’

तर पुतलीबजार नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष ख्यामनारायण चापागाईंले क्वारेन्टाइनमा राख्न भनेर पठाइएको भएपनि फुत्किएर भागेको बताए । ‘प्रहरीले व्यक्ति जिम्मा लगाएको नभएर क्वारेन्टाइनमा राख्नु भनेर पठाएको हो,’ चापागाईले भने, ‘मैले पनि छिमेक नजिककै मान्छेलाई भनेर पठाएको थिएँ । क्वारेन्टाइनबाट फुत्किएर हिँडेछन् । राख्न सकिएछ ।’

प्रहरी संक्रमित भइसकेकपछि थुनामा रहेकाहरुलाई परीक्षण विना समुदायमा पठाउनु कमेजारी हो भन्नेमा दुईमत छैन ।

स्याङ्जामा पछिल्लो समय ट्राभल हिस्ट्री नभएका व्यक्तिहरुमा संक्रमण देखिने क्रम बढेको छ ।

अहिलेसम्म स्याङ्जामा मात्र ५९ जना समुदायका व्यक्तिमा संक्रमण देखिएको छ । स्याङ्जामा कोरोना समुदायस्तरमै फैलिएको भन्दै त्रास बढिरहेको छ । जिल्ला स्वास्थ्य प्रमुख यमप्रसाद भन्छन्, ‘यसलाई समुदायमा फैलिएको नभनौं, दोस्रो चरणमा चाहिँ पक्कै प्रवेश गर्‍यो ।’

समुदायमा फैलिइसकेपछि कतिबेला कहाँ कसलाई संक्रमण देखिन्छ भन्ने पत्तो नहुने उनको भनाइ छ । ‘स्याङ्जामा कन्ट्राक ट्रेसिङका क्रममा समुदायका धेरै जनामा संक्रमण देखिएको हो,’ उनले अनलाइनखबरसँग भनेका छन्, ‘कम्युनिटीमा जसलाई पनि देखिएको अवस्था होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment