Comments Add Comment

जम्मु–कश्मीरलाई समेटेर पाकिस्तानद्वारा नयाँ नक्सा जारी

२१ साउन, काठमाडौं । पाकिस्तान सरकारले जम्मु–कश्मीर, लद्दाख र गुजरातको जुनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । यो नक्सालाई भने भारतले खारेज गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार नयाँ नक्सा जारी गरेको जानकारी दिँदै यसलाई ऐतिहासिक भनेका छन् । नयाँ नक्सा जारी गर्ने मन्त्रिपरिषद निर्णयको सबै विपक्षी दल र पाकिस्तान प्रशासित कश्मीरी नेताहरुले स्वागत गरेको खानले बताएका छन् ।

उनले भनेका छन्, ‘पाकिस्तानको नयाँ राजनीतिक नक्साले पाकिस्तानी जनताको उमंगलाई प्रतिनिधित्व गर्दछ । पाकिस्तान र कश्मीरका जनताको सैद्धान्तिक विचारधाराको समर्थन गर्दछ ।’

भारतले गत वर्ष अगष्टमा जम्मु–कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खारेज गरेको थियो भने लद्दाखलाई अलग्गै राज्य बनाएको थियो । यसको पहिलो वर्षगाँठको पूर्वसन्ध्यामा पाकिस्तानले नयाँ नक्सा जारी गरेको हो ।

भारतले भने पाकिस्तानले जारी गरेको नयाँ नक्सालाई अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले त्यसलाई राजनीतिक मूर्खता भनेर टिप्पणी गरेको छ ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतीय राज्य गुजरात र हाम्रो केन्द्र शासित प्रदेश जम्मु–कश्मीर र लद्दाख क्षेत्रमा यो आधारहीन दाबी हो । यसको न कानुनी वैधता छ, न अन्तर्राष्ट्रिय विश्सनीयता ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment