Comments Add Comment

पारिश्रमिक घटाउन कलाकार र प्राविधिकलाई दबाब

निर्देशक दिवाकर भट्टराई नयाँ चलचित्र बनाउने तयारीमा छन् । हाल, चलचित्रको लागि लोकेशन हेर्न मोफसल पुगेका यी निर्देशकले नायिका दिपिका प्रसाँई र नायक पल शाहलाई लिएर नयाँ चलचित्र बनाउने चर्चा चलेको धेरै भैसक्यो । तर, उनी लोकेशन हेर्न मोफसल दौडिएपनि पूर्ण रुपमा कोरोना भाइरसको भ्याक्सिन नआएसम्म छायांकन गर्न सकिन्छ भन्ने सोचमा छैनन् । किनकी, चलचित्रका लागि आवश्यक लोकेशनमा अहिले नै सजिलोसँग छायांकन गर्न सकिने अवस्था छैन ।

दिवाकर चलचित्र महंगो बजेटमा बनाउन नहुने बताउँछन् । तर, चलचित्रका लागि आवश्यक दृश्यमा संझौता गर्न नसकिने उनको तर्क छ । उसोभए, कसरी सस्तो बजेटमा चलचित्र बन्न सक्ला त ? केही निर्देशकको जस्तै दिवाकरको पनि तर्क छ कि, कलाकार र प्राविधिकले सस्तो रकममा काम गर्नुपर्छ । उपकरणहरु भाडामा दिने कम्पनीले निर्मातालाई राहत दिनुपर्छ ।

उसो त, दिवाकरको मात्र होइन धेरै निर्देशक तथा निर्माता अहिले यही सोच राखिरहेका छन् । निर्देशक दीपेन्द्र के खनाले पनि संझौता गर्ने नाममा चल्ने चित्र मात्र बनाउन नसकिने बताउँछन् । उनले भने–‘कलाकार, प्राविधिक र उपकरणमा छुट हुनपर्छ । तर, चलचित्र स्तरिय मेकिङमा संझौता गर्दा झनै घाटा लाग्छ ।’ दिपेन्द्रले दर्शकले विश्वभरका चलचित्र हेरेको भन्दै कथामा भने संझौता गर्न नहुने बताए । यसको अर्थ, अब पारिश्रमिक नै कम गरेर कलाकार, प्राविधिकहरुले काम गर्नुपर्छ भन्ने नै हो ।

निर्देशक मिलन चाम्सले पनि सबैले मिलेर चलचित्र क्षेत्रलाई अगाडि बढाउनुपर्ने भन्दै यसमा सबैले सहयोग गर्नुपर्ने बताउँदै आएका छन् ।

केही कलाकारले पनि पारिश्रमिक घटाउन तयार भएको त बताइरहेका छन् । यो समयमा विशेषगरि, चलचित्रसँग आवद्ध हुने महंगा कलाकार, प्राविधिकहरुले नाफाको केही प्रतिशत पाउनेगरि संझौता गर्न आवश्यक छ । के, सस्तो बजेटमा स्तरिय चलचित्र बनाउन निर्देशकहरु सफल होलान् त, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment