Comments Add Comment

अयोध्या प्रसङ्ग : माडीवासीका लागि अवसर र चुनाैती

भगवान रामको जन्म माडीको अयोध्यापुरी क्षेत्रमा भएको हुन सक्ने अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि त्यसका बारेमा देशैभर र छिमेकी देशमा पनि विभिन्न बहसहरु भए । माडीमा पनि विभिन्न बहसहरु चले ।

यथार्थमा भन्नुपर्दा यो विषयले माडीमा अवसर र चुनाैती एकै साथ हाम्रा सामु खडा गरेको छ । अवसर र चुनाैतीको सामना गर्दै अगाडि बढ्नु माडीको आवश्यकता हो । यसलाई सहज र सरल तरिकाले सामना गर्न नसके अवसरबाट वञ्चित हुन्छौं । भावी पुस्ताले पनि राम्रोसँग मूल्याङ्कन गर्नेछन् ।

प्रधानमन्त्रीले रामको जन्मभूमि माडी हो भनेर बोल्नु माडी विकासको ढोका खोल्ने ठुलो अवसर हो । महत्वपूर्ण कुरा केहो भने यहाँको विकास भन्नु नै पर्यटन हो।पर्यटनमा पर्यापर्यटन, कृषि पर्यटन , धार्मिक पर्यटन नै हाम्रो मुख्य आधार हुन् । तिनै वटाका पूर्वाधार तयार छन् । त्यसको जगेर्ना र व्यवस्थापन गर्नु हाम्रो तत्कालीन दायित्व र आवश्यकता हो ।

पर्यापर्यटन र कृषि पर्यटनको विकास गर्ने विषयमा निर्विवाद भएपनि धार्मिक पर्यटनको विषयमा एकरुपता आउनु पर्ने देखिन्छ । यो एउटा अभूतपूर्व सुनौलो अवसर हो, यसलाई समात्न नसके सदाका लागि बिदा भएर जानेछ। अनि हाम्रा हातमा केबल निर्मम इतिहास र क्रुर समीक्षा मात्र रहनेछ। अनि रहनेछ फगत राजनीतिका लागि खोक्रो राजनीति ।

राजनीति राजनीतिका लागि मात्र हैन, विकासका लागि हो । यसलाई नजर अन्दाज गरेर किनारमा बसेर बल्छी खेल्ने अनि बल्छीमा माछा पारेर फुर्लुङ्गमा राख्न नपाए बल्छी गलत भन्नु कति तार्किक हुन सक्ला ?

हामी सबैका चेतना अनुसार दर्शन, सिद्धान्त, राजनैतिक बिचार छँदैछन् । हाम्रा राजनीतिक दलहरूले समयक्रममा पूर्ववत अडानलाई थाती राख्दै आजको धरातलमा पाइला टेकेका हुन् । यसलाई हामीले गहिरो गरी बुझ्न वान्छनीय छ । विकास गर्ने अवसर आएको समयमा अनावश्यक विवाद गरेर बस्नु माडी विकासमा अवरोध हो भन्ने मलाई लाग्छ ।

राजनीति राजनीतिका लागि मात्र हैन, विकासका लागि हो । यसलाई नजर अन्दाज गरेर किनारमा बसेर बल्छी खेल्ने अनि बल्छीमा माछा पारेर फुर्लुङ्गमा राख्न नपाए बल्छी गलत भन्नु कति तार्किक हुन सक्ला ?

माडीको ६० हजार जनसंख्या आज यथार्थमा ३० हजारमा किन झर्‍यो ? यसको कारण के होला ? हामी माडीमा नेतृत्व गर्नेहरुले यसमा कति ध्यान पुर्यायौं । माडीमा राजनीतिक गर्ने अनि आफैं माडीबाट बाहिर जान खोज्दा के कस्ता समस्या उत्पन्न हुन्छन् ? यस विषयमा गम्भीर भएर सोच्न जरुरी छ ।

मेरो आशय माडीबाट पलायन हुनेको सङ्ख्या किन बढिरहेको छ । यसलाई रोक्नुपर्छ । यसलाई रोक्न पर्यटनको विकास गर्नैपर्छ । त्यसका लागि अवसरको रुपमा आएको अयोध्याधामलाई स्वागत गर्नुपर्छ ।

अयोध्याको सन्दर्भ आइरहँदा वर्षौंदेखि समाधान हुन नसकेको सुकुमबासी बस्तीको व्यवस्थापन गर्नु हाम्रो पहिलो प्राथमिकता र चुनाैती पनि हो । यसको लागि केन्द्र सरकारले तय गर्ने नीतिको आधारमा हामीले कार्यक्रम बनाउने र मुलत केन्द्रीय सरकारलाई सहयोग गर्नु हाम्रो कर्तव्य हुनेछ ।

तत्कालका लागि समग्र सुकुमबासीको तथ्याङ्क लिने सहजीकरण गर्ने र विस्थापित कुसुममखोलाका चेपाङका घर बनाउन पहल गर्नुपर्ने हुन्छ । जुन कुराको पहल माडी नगर पालिका र नेकपा (नेकपा) माडी नगर कमीटीले गरेकै छ र गरिरहन्छ । यसका साथै रिउ करिडोरको विषय र निकुञ्जले माडीलाई पारेका समस्या हरुलाई पनि प्याकेजमै अगाडि बढाउनुपर्छ ।

कुरा उठ्ने गरेको छ, चेपाङ्ग बस्ती र पर्यटन विकास कुन पहिला ? यी विषय एक आपसमा तुलना गर्ने विषय नै होइनन् । दुवैसँगै जानुपर्छ । दुवै कुरा सरकारको कार्यसूची भित्रका विषय हुन् । तथापि यी दुई विषयको कार्यान्वयन सरकारका दुई निकायले गर्ने हो । हाम्रो भूमिका सरकारलाई सहजीकरण गर्ने हो । हाम्रो प्रतिनिधित्व नगरपालिकाले गर्दछ, गरी रहेकै छ । हामीले पनि सहजीकरण गर्नेहो गर्दछौं । सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पुरा गर्न चुक्नु हुँदैन । छिटो भन्दा छिटो पहलकदमी लिनुपर्छ ।

नारदमणि पौडेल

अर्को कुरा, जहाँसम्म कोरोना कन्ट्रोल नभए अरु केहि गर्नुहुन्न वा सुकुमबासी समस्या समाधान नभए अरु केही गर्नुहुन्न भने सोचाइ नै विकास विरोधी सोचाइ हो । मेरो प्रश्न छ । कोरोनाको आयु कहिलेसम्म छ ? अर्थात कति बाँच्छ ? अनि सुकुमबासी समस्या समाधान कहिले होला ? यदि यसलाई कुरेर बस्ने हो भने स्कुल बनाउन रोकौं । बाटो पुल बनाउन रोकौं।तटबन्धन गर्न रोकौं ।बिहेबारी रोकौं । के यी सबै सम्भावना छ रोक्न ? नत्र अयोध्या प्रसङ्ग मात्रै किन रोक्ने ?

रोक्नु हुँदैन । विकासका सबै अवसरलाई खुलारुपमा अगाडि जान दिनुपर्छ । पर्यटनको विकासलाई अगाडि बढाउनुपर्छ । यहाँ बहसको विषय छ कसलाई प्राथमिकता भन्नेको । कोरोना रोगहो र आकस्मिक हो यसबाट मुक्ति पाउनु भनेको जिउनु हो जिउनैपर्छ । बिबाद रहेन ।

कोरोना कहरले माडीको जनजीवन अस्तब्यस्त हुने सङ्केत देखिँदैछ। नगरपालिकाले भरपुर प्रयत्न गर्दागर्दै हाम्रै बेहोसीका कारण कोरोना समुदायमा पनि फैलिँदै गएको छ । हामीमा रहेको लापरवाही गर्ने अनि सरकारले केही गरेन भनेर धारेहात लगाउने प्रवृत्ति नसच्चिने हो भने माडीमा थप सङ्कट आउन सक्छ । त्यसकारण नियमनकारी निकायको कडा निगरानी र हामी पूर्ण सचेत हुनुपर्छ ।

अन्तमा, चेपाङ बस्तीको घर निर्माणकार्यलाई अवरोध पुर्‍याउने बेनामी उजुरीलाई खारेज गरौं र घर निर्माणका लागि पहल गरौं । साथै सुकुमबासी समस्या समाधानका लागि देवी ज्ञवाली ‌नेतृत्वको आयोगलाई काम गर्ने वातावरण तयार गरौं । निकुञ्ज र रिउ करिडोरको विषय सँगसँगै अगाडि बढाऔं । अयोध्याको विषय माडी विकासको कोशेढुंगा हो भन्ने बुझेर एकताबद्ध भएर अगाडि बढौं ।

(लेखक अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक हुन्  ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment