
२५ भदौ, सुर्खेत । बिहीबार सुर्खेतको वीरेन्द्रनगरस्थित मालपोत कार्यालयमा अत्यधिक भिड थियो । भिडमा कोरोना सर्ने चिन्ताभन्दा पनि कसले चाँडै सेवा लिने भनी सेवाग्राहीबीच ठेलमठेल भइरहृयो ।
कार्यालयमा स्वास्थ्य सुरक्षा सावधानीका कुनै उपाय अपनाइएको थिएन । न हात धुने व्यवस्था न स्वानिटाइजर । एक सेवाग्राहीले यही भिडबाट कोरोना फैलिने भन्दै चिन्ता व्यक्त गरे । ‘सरकारी कार्यालय र सार्वजनिक स्थानमा ठेलमेल छ, जोखिम बढ्दो छ । यसरी त कोरोना सर्न सक्छ,’ उनले भने ।
कार्यालय प्रमुख लक्ष्मी खत्रीका अनुसार भिड नहोस् भनेर टोकन प्रणाली लागू गरिएको छ । ‘एक दिनमा ५० जनालाई सेवा दिन्छौं । अरु सेवाग्राहीको नाम टिप्ने र क्रमशः काम गर्ने व्यवस्था मिलाएका छौं’ उनले भनिन् ।
पहुँचको भरमा काम
टोकन लिएको एक साता बित्दा पनि आफ्नो पालो नआएको सुर्खेत पञ्चपुरीका उत्तम चपाईले बताए । ‘एक हप्ता भयो टोकन लिएको । अझै पालो आएको छैन । काम कहिले हुन्छ कुन्नी ?’ उनले प्रश्न गरे ।
तर पहुँच भएकाहरु भने एक घण्टामै काम सकेर जाने गरेको सामुदायिक सुधार संस्थाबाट मालपोत कार्यालयमा खटिएका स्वयंसेवक प्रेम बैगारले बताए ।
दुई जना लेखापढी नियन्त्रणमा
मालपोत कार्यालय परिसरमा भीड गराएको आरोपमा प्रहरीले दुई जना लेखापढी कानून व्यवसायीलाई नियन्त्रणमा लिएको छ । कार्यालय परिसरमै सेवाग्राहीको भिड गराएपछि दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले बताए ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरे । ‘वीरेन्द्रनगर सिल हुन्छ कि भन्ने नागरिकमा डर छ । सिल गर्दा नागरिकको दैनिक जीवनयापन गर्न समस्या हुन्छ । बरु सुरक्षा सतर्कता अपनाउन आम सुर्खेतवासीलाई आग्रह गर्छु’ उनले भने ।
प्रतिक्रिया 4