Comments Add Comment
बालुवाटारमा कोरोना :

प्रधानमन्त्रीका तीन सल्लाहकार, स्वकीय सचिव र ६७ सुरक्षाकर्मीमा संक्रमण

१७ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा एकैपटक ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीको सचिवालयमा रहेका तीन सल्लाहकार र स्वकीय सचिवलाई संक्रमण पुष्टि भएको छ ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई संक्रमण देखिएको हो । ‘सुरक्षाकर्मी लगायत थुप्रैको स्वाब संकलन गरिएको थियो । सचिवालयका हामी चार जनाको पोजेटिभ आएको छ’ थापाले अनलाइनखबरसँग भने ‘तर हामीलाई कुनै लक्षण देखिएको छैन ।’

६७ सुरक्षाकर्मीलाई पनि संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ -शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्ट्रिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।

अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको छैन । तर केहीको रिपोर्ट आउन बाँकी छ ।

यसअघि प्रधानमन्त्रीका निजी चिकित्सक एवं त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान -आईओएम)की डीन डा. दिब्यासिंह शाह र प्रधानमन्त्रीको सचिवालयमा रहेका फोटोग्राफर राजन काफ्लेलाई कोरोना संक्रमण देखिएको थियो ।
त्यसपछि शुक्रबार अरुको स्वाब गरिएको थियो ।

तर प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन । प्रधानमन्त्रीसँगै राजेश श्रेष्ठ, दीपेन्द्र दाहाल लगायतको बुधबार स्वाब संकलन गरिएको र बिहीबार नेगेटिभ रिपोर्ट आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment