Comments Add Comment

महामारीविरुद्धको लडाइँमा काठमाडौं पछि पर्‍यो : मन्त्री ज्ञवाली

२५ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि परेको देखिएको बताएका छन् ।

आइतबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका उनले हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाईमा भने पछि परेको बताएका हुन् ।

‘काठमाडौं धेरै हिसाबले देशलाई नमुना दिने, दृष्टान्त प्रस्तुत गर्ने जिल्ला वा राजधानी शहर हो । हरेक राजनीतिक परिवर्तनमा सामाजिक पविर्तनहरुमा यसले त्यही भूमिका खेलेकोछ । तर कता कता महामारीविरुद्धको लडाईंमा काठमाडौं पछाडि परेको जस्तो देखिँदैछ’ उनले भने ।

कोरोना नियन्त्रणमा कतिपय जिल्लाको प्रयास उदाहरणीय नभए पनि काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको मन्त्री ज्ञवालीले बताए । उनले काठमाडौंका आम नागरिक, जनप्रतिनिधि र संघ संस्थालाई कोरोना महामारी नियन्त्रणमा बाँके, कपिलवस्तु, वीरगञ्जजस्ता ठाउँमा अपनाइएको राम्रो अभ्यासबाट सिक्न आग्रह गरे ।

४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने भन्दै उनले संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने पनि बताए । ६० प्रतिशत संक्रमित काठमाडौंमै रहेका र क्रिटिकल केयर चाहिने अवस्थाका संक्रमित पनि यहीँ बढी भएकाले हालको स्वास्थ्य सामर्थ्यले धान्न नसक्ने उनको भनाइ छ । ‘हाम्रो सामर्थ्य बढ्दै गएको छ, तर जुन अनुपातमा संक्रमितको संख्या बढेको छ । त्यसले चुनौती थपेको छ’ मन्त्री ज्ञवालीले भने ।

कोरोना महामारीलाई हल्का ढंगले लिन नहुने पनि उनले बताए । ‘१० लाख ५० हजार भन्दा बढीको ज्यान लिने रोग सामान्य हुँदै होइन’ उनले भने ‘यसप्रतिको उच्च सतर्कतालाई रत्तिभर पनि कम गर्नु हुँदैन ।’ नेपालमा संक्रमणको श्रृङ्खला रोक्न नागरिकको सचेतता एकदमै जरुरी छ ।’

मन्त्री ज्ञवालीले यस वर्ष दसैँलगायतका चाडवाड उल्लासका साथ मनाउने अवस्था नभएको बताए । उनले आफ्ना अभिभावक र मान्यजनलाई कोरोनाबाट जोगाउन सबै सचेत हुनुपर्ने बताए । ‘हाम्रा अभिभावक, ज्येष्ठ नागरिकको सुरक्षा हाम्रो निम्ति एकदमै महत्वपूर्ण छ । हाम्रो सानो लापरवाहीले उहाँहरुको जीवनमा जोखिम पुर्‍याउँछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment