Comments Add Comment

प्रदेश सांसद शाक्यले भनिन्– मलाई दिइएको दसैँ भत्ता कोभिड १९ कोषमा दाखिला गरिदिनू

२ कात्तिक, काठमाडौं । बागमती प्रदेश सभाकी सदस्य शोभा शाक्यले दसैं भत्ता नलिने घोषणा गरेकी छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै साझा पार्टीकी नेतृ समेत रहेकी शाक्यले दसैँ भत्ताबापत आफ्नो खातामा आएको रकम कोभिड १९ को स्वास्थ्य कोषमा दाखिला गरिदिन आग्रह गरेकी छन् ।

कोभिड १९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलो संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला जनप्रतिनिधिहरूले दसैँ भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने उनले बताएकी छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मासिक तलब स्वतः खातामा आउने गर्दछ । बागमती प्रदेश सरकारले तलब सँगसँगै दसैँ भत्ता पनि सांसदहरूको खातामा दाखिल गरिसकेको छ । मेरो खातामा आएको सो रकम मैले फिर्ता गर्ने जानकारी गराउन चाहन्छु । दशैँ खर्च बापतको सो रकम कोभिड १९ को स्वास्थ्य कोषमा दाखिला गर्न समेत हार्दिक अनुरोध गर्दछु ।’

शाक्यले सबै सांसदहरूलाई दसैँ भत्ता फिर्ता गर्न र प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड १९ नियन्त्रण र उपचारमा लगाउन पनि आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment