Comments Add Comment
सन्दर्भ: महाकवि देवकोटा जयन्ती :

महाकवि देवकोटा : अमेरिका र वेद मेहता

नेपाली वाङ्मयका अद्भूत र विलक्षण प्रतिभा महाकवि देवकोटा म २ वर्षको छँदा बितेका रहेछन् २०१६ सालमा । उनले देहावसानकबा बेला निकै शारीरिक पीडा र कष्ट भोग्नु परेको विषयमा पढेको थिएँ । उनले पीडाले छटपटाउँदा पोटासियम साइनाइड मागेका थिए रे । यी कुराहरु पढ्दा म निकै भावुक भएको थिएँ ।

आफूले उनलाई भेट्न नपाए पनि उनलाई भेट्नेहरुले ती भेटका विषयमा लेखेका निकै रुचिका साथ पढ्ने गर्थें । म साहित्य लेखनमा लागेको शुरुवातकै बेलामा साझा प्रकाशनले साना आकारका पुस्तकहरु तत्कालीन समयका एक डाइरेक्टर भवानी घिमिरेको प्रस्ताव र सुझबुझमा पाकेट वुक साइजमा प्रकाशन थालेको थियो र त्यही सिरिजमा निस्कियो जनकलाल शर्माको एउटा पुस्तक-” महाकवि देवकोटा: एक व्यक्तित्व दुई रचना” । अत्यन्त रोचक शैलीमा लेखिएको सो पुस्तक पढेपछि देवकोटाका विषयमा नयाँ कुरा कुरा, उनका आनिवानी र खानपानको विषयमा पनि जानकारी पाइएको थियो ।

यसै सिलसिलामा महाकवि देवकोटाका विशेषाङ्कहरु पनि खोजेर पढें, ती विषेशाङ्कहरु अध्ययनको क्रममा माहाकवि मृत्यु शैय्यामा पशुपति आर्यघाटमा दुई विदेशी साहित्यकारहरु डम मोरे र बेद मेहताले पनि भेटेको र त्यस भेटलाई आआफ्नो पुस्तकमा समेत उल्लेख गरेको थाहा भयो ।

तर, कुनै दिन तीमध्ये एकसँग मेरो भेट होला भन्ने चाहिँ मैले कल्पनै गरेको थिइनँ । त्यो कल्पनै नगरेको कुरा सन् २००२ मा यथार्थमा परिणत भयो ।

जर्नेलले डोम र वेदलाई घुमाउन एकजना युवकलाई खटाएका थिए । तिनै पथप्रदर्शक युवकले उनीहरूलाई पशुपति आर्यघाट पुर्याइदिए जहाँ देवकोटा क्यान्सरको अखण्ड पीडामा छटपटाइरहेका थिए

खासमा सन् २००२ को कुनै महिना वाशिङ्गटन डीसीको जर्ज टाउनमा अवस्थित वार्नेस एण्ड नोवल पुस्तक गृहमा भारतीय अमेरिकी लेखक वेद मेहतासँग भेट गर्ने अवसर जुरेको थियो । उनको नव प्रकाशित पुस्तकको बजारका लागि पुस्तकाँश पढ्ने सिलसिलामा उनी वाशिंटन डिसी आएका थिए । कार्यक्रम सकिएपछि मैले उनीसँग कुरा पनि गर्ने अवसर पाएँ । मैले आफ्नो नाम बताएर म नेपाली हुँ भन्ने बित्तिकै उनले मेरो हात समातेर भने- “मैले नेपालको महाकवि देवकोटालाई भेटेको छु । उनका बारे पुस्तकमा लेखेको पनि छु ।”

मैले झलक्क माइकल हटलाई सम्झेँ- सन् १९९२ मा म बेलायत भ्रमणमा जाँदा माइकल हटले उनको विश्वविद्यालयमा बोलाएका थिए । कुरै कुरामा महाकवि देवकोटाको प्रसङ्ग निस्कियो । अनि उनले भने महाकवि देवकोटा मृत्यु शय्यामा छँदा डम मोरे र वेद मेहताले भेटेका थिए । उनीहरूले आ-आफ्नो पुस्तकमा त्यस विषयमा लेखेका छन् । म त्यसको फोटोकपी तपाईंलाई दिन्छु ।’

उनले ती अंशको फोटोकपी गरेर दिएका थिए । त्यो अझै मेरो संकलनमा सुरक्षित छ ।

वाशिंटन डिसीमा छोटो भेटपछि मैले इमेल लेखें वेद मेहतालाई । उनले जवाफ दिँदै प्रश्न गरे-” वाकिङ द इण्डियन स्ट्रिट पढेको हो ? पढेर केही प्रश्न छ भने सोध्न सकिन्छ ।”

मैले पुस्तक खोजेँ । सन् १९६१ मा प्रकाशित सो पुस्तक बजारमा सहज उपलब्ध नहुने रहेछ तर प्रयोग भइसकेका पुस्तकको बजारमा भने पाइयो र मगाएँ र उनले महाकवि देवकोटालाई भेटेको प्रशङ्ग पुन पढें ।

वास्तवमा वेद मेहता र डोम मोरेलाई काठमाडौँ पुर्याउने श्रेय भने चिनियाँ मूलकी लेखिका हान सुइयानलाई दिनुपर्छ । उनले एकदिन भन्छिन् -“मर्नुअघि एकपल्ट काठमाडौँ हेर्नैपर्छ ।’

हानको यही भनाइले डोम र वेद काठमाडौँ जाने निर्णयमा पुगेका थिए । डोमका पिता नेपालका ‘ए’ क्लासका राणा जर्नेलसँग परिचित थिए र उनकै आतिथ्यमा डोम र वेद काठमाडौँमा बस्ने प्रबन्ध हुने भयो । उनीहरूको यात्रा तत्कालीन समयको विमान डकोटा अर्थात् डी.सी.३ मा दिल्लीबाट आग्रा र वनारस हुँदै भएको थियो ।

काठमाडौं बसाईको क्रममा एकदिन एक नेपाली कविको घरमा साहित्यिक जमघटको आयोजना गरिएको थियो र कविता वाचन समेत भएको थियो । कविताहरु नेपाली र अङ्ग्रेजी दुवै भाषामा वाचन भएका थिए ।

त्यस कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पनि चर्चा चलेको थियो । एक जनाले भने- उनले जति नेपाली साहित्यको इतिहासमा कसैले योगदान गरेका छैनन् । उनी महान् प्रतिभा हुन् । उनी यो मुलुकका गहना हुन् । उनले गर्दा नै हामी प्रख्यात भयौँ । आदि, इत्यादि ।

त्यस जमघटमा देवकोटाको अनुपस्थिति खट्किन्छ । अनि वेदले सोधेका थिए-“उनी कतिबेला आउँछन् ?”

प्रत्युत्तरमा वेदले जे सुने त्यो उनका लागि अकल्पनीय थियो-“ओहो ! तपाईंलाई थाहा छैन ? उनी त पशुपतिनाथ आर्यघाटमा मृत्यु शय्यामा छन् ?”

जर्नेलले डोम र वेदलाई घुमाउन एकजना युवकलाई खटाएका थिए । तिनै पथप्रदर्शक युवकले उनीहरूलाई पशुपति आर्यघाट पुर्याइदिए जहाँ देवकोटा क्यान्सरको अखण्ड पीडामा छटपटाइरहेका थिए । उनीहरूलाई भेटाउन लगेकोमा देवकोटाले ती युवकलाई धन्यवाद दिए ।

वेदको कथन अनुसार देवकोटाले भने- ”मृत्युको सन्दर्भमा हामी हिन्दूहरूभन्दा क्रिश्चियनहरूको ठीक छ । उनीहरू सङ्गीत बजाउँछन् र स्वर्गबाट दूतहरू पठाइएको विषयमा बताइन्छ र पादरीले नम्र शब्दमा स्वर्ग जाने विषयमा बताउँछन् तर हाम्रो पशुपतिले कुनै शान्ति दिँदैन । मेरो हृदय धाँजाधाँजा परिरहेछ ।”

“म दुई सय पाउण्डको थिएँ अहिले ९० पाउण्डको भएको छु । तपाईंहरूले जे देखिरहनुभएको छ, यो त अस्थिपञ्जर मात्रै हो । क्यान्सरले मलाई जलाइरहेछ । कुनै नर्क र अग्नि पनि त्यति खराब हुँदैन जति यो छ । मलाई तपाईंहरू आशीर्वाद दिनहोस्, यौटा मर्न लागेको मानिसलाई आशीर्वाद दिनुहोस् ! ’ देवकोटाले उनीहरूलाई भने ।

महाकवि देवकोटाको यो तस्वीर उनको देहावसान हुने दिन विहान मदनमणि दीक्षितले खिचेका हुन् र प्रतीक घिमिरेको सौजन्यबाट लिइएको हो ।

यसबीच उनलाई बरफले सेकिँदै थियो र देवकोटाले भने ”यसले अलिकति राहत हुन्छ । यो क्यान्सर जतिको पीडादायी दुनियाँमा अरू केही छैन । ”

महाकवि देवकोटाले सुलोचना महाकाव्यको भूमिकामा भनेका छन्- “म कवितामै कुरा गर्न सक्छु । ”

साँच्चै नै उनी साहित्यकै लागि पैदा भएका थिए र क्यान्सरको अग्निले दहन गरिरहँदा पनि उनको नेपाली साहित्यप्रति नै चिन्तन जारी थियो ।

महाकवि आफूले अनुवाद गरेको सङ्कलन कस्तो छ त्यो जान्न उत्सुक हुन्छन् मृत्यु शय्यामा पनि । त्यो इन्द्रेनी पत्रिकाको एसियाली अङ्क थियो, कविताङ्क जसमा नेपाली र अङग्रेजी दुवै भाषामा कविताहरू प्रकाशित थिए र धेरैजसो अनुवाद महाकवि देवकोटाको थियो । त्यसमा अनूदित कतिपय कविताहरू निबन्धकार शङ्कर लामिछानेको ताहाचलको डेरामा भएको तथ्य शङ्कर पत्नी रत्ना लामिछाने अझै सम्झना गर्छिन् ।

क्यान्सरको असहृय पीडाका बीच मृत्यु शय्याबाट देवकोटा भन्छन्- ”तपाईंहरूका केही हरफहरू सुनाउनुहोस् न ! हुन त म बुझ्न नसकुँला नभए तपाईंहरूले सङ्क्षेपमा बताउनु भए पनि हुन्छ । ”

डोमले कविता सुनाउँछन्-“डोरोशीलाई पत्र’ अनि कविताहरू, पहाडका विषयमा, देवदूत, प्रेम र साहसको बारेमा ।

यी कविता श्रवण गरिसकेपछि देवकोटाको प्रतिक्रिया थियो- “तपाईंहरूको जस्तो अङ्ग्रेजीमा मेरो पकड भएको भए ! तपाईंहरू जस्तैले नेपाली सिक्नुपर्छ र हाम्रो साहित्य विश्वका लागि अनुवाद गर्नुपर्छ । हामीसँग भावना छ तर भाषा छैन । ”

यसैबीच महाकवि विस्तारै लोलाए अनि अचेत भए । डम र वेदले महाकविसँग प्रत्यक्ष बिदावारी हुने अवस्था रहँदैन ।

वेद मेहता अहिले न्यूयोर्कमा बस्छन् । उनी अझै देवकोटाको सम्झना गर्छन् ।

सन् २००९ मा महाकवि देवकोटाको शतवार्षिकी अमेरिकाको राजधानी शहर वाशिंटन डिसीमा मनाइयो । यो शतवार्षिकी पहिलो दिन नेपाली दूतावासको प्रङ्गणमा औपचारिक रुपमा शुभारम्भ गरेर दूतावास लेरोय प्लेसदेखि वाशिंटन डिसीको मुटुस्थल डुपोण्टसर्कलसम्म वाजा गाजा, थरिथरिका नेपाली जातिय पहिरन तथा राष्ट्रिय पोशाकमा सजिएका वाशिंटन डिसी, मेरिल्याण्ड भर्जिनियामात्र होइन न्युयोर्कसम्मका साहित्यकार र विभिन्न नेपाली संघसंगठनका प्रतिनिधिहरुको सहभागितामा प्रभातफेरि सम्पन्न भएको थियो ।

यस कार्यक्रमका लागि कार्यक्रम संयोजकको नाताले शुभकामना मन्तव्यका लागि इमेलबाट वेद मेहतालाई अनुरोध गरेको थिएँ र उनले खुशिसाथ आफ्नो मन्तब्य पठाएका थिए, जसमा उनले नेपाल भ्रमणमा जाँदा बाग्मतीको किनारमा अवस्थित आर्यघाटमा महाकवि देवकोटालाई भेट गरेको उल्लेख गरेका थिए र मैले सो सन्देश त्यस अवसरमा पढेर सुनाएको थिएँ ।

देवकोटालाई जीवनकालमा अमेरिका आउने अवसर जुरेन । अफ्रो एसियाली लेखक सङ्घको तासकन्द सम्मेलनका लागि तत्कालीन सोभियत रूस पुगेका थिए तर सन् १९८० मा न्यूयोर्क, अमेरिकाको कोलम्बिया विश्वविद्यालय छापाखानावाट डेविड रूविनद्वारा अनूदित उनका केही छानिएका कविताहरुको सङ्ग्रह ‘नेपाली भिजन्स, नेपाली ड्रिम्स’ युनेस्कोको परियोजना अन्तरगत प्रकाशित भयो । संभवत यो पुस्तक कुनै पनि नेपाली कविको युनेस्कोको परियोजना माअमेरिकाको विश्वविद्यालय छापाखानाले प्रकाशित पहिलो पुस्तक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment