Comments Add Comment

रेस्टुरेन्टको उकुसमुकुस : न टिक्न सजिलो न बिक्न

Photo Credit : ठमेलमा बन्द भएको स्यान्विच प्यालेस

२७ कात्तिक, काठमाडौं । ठमेलको नरसिंहचोक छेउमा २०७६ असारमा खुलेको थियो, स्यान्डविच प्यालेस । नयाँ भवनमा नयाँ ऊर्जाका साथ ब्यापार चम्काउन लागेका थिए, सञ्चालक यादवराज पाण्डे । ठमेलमै २९ वर्ष रेस्टुरेन्ट चलाएको अनुभव र आत्मविश्वास थियो उनीसंग ।

तर, एकवर्ष नपुग्दै माघ दोस्रो साता काठमाडौंमा कारोना संक्रमणको पहिलो केस देखियो, फागुन लाग्दा नलाग्दै रेस्टुरेन्टमा ग्राहक पातलिन थाले । चैतमा त लकडाउन नै भयो । त्योसंगै ३२ लाख रुपैयाँ लगानी गरेको रेस्टुरेन्टमा ताल्चा लाग्यो ।

पाण्डेले समस्यामा परेपछि घरबेटीसँग सहयोग मागे, ५० प्रतिशत भाडा छुट पनि पाए । तर, आय सुकेको बेला ठमेलजस्तो महंगो ठाउँमा दुईवटा रेस्टुरेन्टको भाडा तिरिरहन उनले सकेनन् । त्यसपछि उनले २८ लाख रुपैयाँ घाटा खाएरै स्यान्डविच प्यालेस बन्द गर्ने निर्णय लिए ।

स्यान्डविच प्यालेसका सञ्चालक पाण्डे

‘इन्टेरियर डेकोरेसनसहित सबै पक्षको लगानी खेर गयो, ’उनी भन्छन्, ‘नयाँ ठाउँमा पिक–अप गर्दागर्दै महामारीले चौपट गरायो, लगानी डुवायो ।’

पाण्डेले रेस्टुरेन्ट छोडेपछि घरबेटी आफैंले पश्मिना पसल राख्न नयाँ सेटअप गर्दैछन् । ‘स्यान्डविच प्यालेस’को बोर्ड हटिनसकेको रेस्टुरेन्ट अगाडि पाण्डेले भने, ‘सरकारी नीति पनि हामीजस्ता साना व्यवसायीको लगानी जोगाउने गरी आएन, ठमेलमा मजस्ता थुप्रै साना व्यवसायीको कथा–ब्यथा यही हो ।’

****

२०७६ को सुरुमै संयुक्त अरब इमिरेट्स् (युएई)बाट फर्केका लोकन्थलीका कृष डंगोललाई लाग्यो, वैदेशिक रोजगारीमा कति घोटिनु ? आफ्नै देशमा सकिने व्यावसाय किन नगर्ने ?

नभन्दै, असोजमा त उनले पर्यटकीय गतिविधि हुने झोंछेमा ३० लाख रुपैयाँ लगानी गरेर ‘फंकी हाउस’ खोलिहाले । रेस्टुरेन्टमा उनको अनुभव पनि थियो । सुरुमै मासिक ९० हजार भाडा तिर्नुपर्दा अलि सकस भएपनि पछि उछिन्छ भन्ने विश्वास उनलाई थियो । वरपर चिनजान बढ्दै जाँदा ग्राहक पनि बाक्लिँदै थिए ।

तर, चैतमा लकडाउनसंगै रेस्टुरेन्ट ठप्प भयो । छिट्टै खुल्ला भन्ने आशा गर्दागर्दै दुई महिना बित्यो । जसोतसो भाडा तिरे । ‘घरबेटीसँग भाडा छुटको आग्रह गरेँ, तर सुनेनन्,’ डंगोल भन्छन्, ‘बिना आय लगानीमाथि लगानी थप्न सक्ने अवस्था नभएपछि ३० लाख रुपैयाँ डुबाएर रेष्टुरेन्ट बन्द नगरी भएन ।’

****

पाटनमा ‘प्राचीन क्याफे’ चलाइरहेका सोम भण्डारीले पाण्डे र डंगोलको जस्तै हण्डर खेपेका छन् । गज्जबले चलिरहेको क्याफेमा लागेको लकडाउनको सटर खोल्न उनले सकेनन् । चर्को भाडा तिर्न नसकेपछि उनले क्याफे नै घरेबेटीलाई छोडिदिएका छन् ।

लकडाउन खुल्ला र रेस्टुरेन्ट चलाउँला भन्दै जेठसम्म जसोतसो भाडा तिरे । लकडाउन अझ लम्बिएर मासिक ८० हजारभन्दा बढी भाडा तिर्न नसकेपछि घरेबटीसँग सरसमानको हिसाब गरेर क्याफे छाडिदिएको बताउँदै भण्डारी भन्छन्, ‘जबकी, लकडाउन अगाडि नयाँ ब्रान्च खोल्न ठाउँ खोज्दै थिएँ ।’

सानो लगानी गर्नेहरुलाई बचाउन सरकारले कुनै कदम नचाल्दा महामारीपछि भविष्य नै अन्धकारजस्तो बनेको उनी बताउँछन् ।

****

संयम थापा (नाम परिवर्तन) भक्तपुरको सल्लाघारीमा रहेको रेस्टुरेन्ट बेच्न खोजिरहेका छन् । रेस्टुरेन्ट चलिरहेपनि लकडाउनपछि उनको आर्थिक अवस्था बिग्रेको छ ।

उनले लकडाउनअघि करिब २५ लाख रुपैयाँ लगानीमा धादिङको राजमार्ग क्षेत्रमा पनि रेस्टुरेन्ट खोलेका थिए । अहिले दुईपट्टीको भाडा र कर्मचारीसहित बिजुली पानीको खर्च व्यवस्थापन गर्न निकै सकस भएकोले उनी भक्तपुरको रेस्टुरेन्ट बेच्न आतुर छन् । उनी भन्छन्, ‘तर, महामारीले सबैतिर हानेर होला, किन्ने ग्राहक कोही भेटिएका छैनन् ।’

६ लाख रुपैयाँबाट व्यवसाय थालेर विस्तारमा गएको बेला उनी एक्कासी प्रतिरक्षात्मक अवस्थामा पुगेका छन् । लकडाउन खुलेपछि ब्यापार फर्किएला भन्ने आशा उनलाई थियो । त्यसैले सरसापटी गरेर खर्च व्यवसथापन गरिरहे ।

‘तर, लकडाउन खुलेको लगभग ४ महिनामा ब्यापार नफर्कदा कोरोनाको खोप आएर रोग निस्तेज नभएसम्म पुरानो अवस्थामा फर्किन सकिँदैन भन्ने भइसक्यो’, थापा भन्छन्, ‘त्यसैले मेरो मात्रै हैन, अरुको पनि थुप्रै रेस्टुरेन्ट बिक्रीमा छन् ।’

शंखमुलमा बन्द भएको एक क्याफे

एकाएक उल्टो गतिमा

गत माघसम्म नेपालमा रेस्टुरेन्ट, क्याफे खोल्ने क्रम उच्च गतिमा थियो । अन्य पेशा व्यवसायमा हुनेले पनि आफ्नै क्याफे वा वा रेस्टुरेन्ट हुनु कमाईसंगै प्रतिष्ठाको विषयजस्तो बनेको थियो ।

सानो र मध्यम लगानीमै खोल्न सकिने र नाफा पनि राम्रो हुने भएकाले धेरैले रेस्टुरेन्ट, क्याफेमा लगानी गरेका थिए । विदेशबाट फर्किएकाहरु पनि धमाधम यो व्यवसायमा हात हालिरहेका थिए । ठूला व्यवसायीदेखि राजनीतिक दलका नेता, कार्यकर्ता, सेलिब्रेटी र पत्रकारसम्मले क्याफे, रेस्टुरेन्ट चलाएका थिए । आफ्नो जनसम्पर्क (पीआर) प्रयोग गरेर आम्दानी गर्न यो व्यवसाय उत्तम ठहरिएको थियो ।

स्तरीय क्याफेमा भेटघाट र रमाइलो गर्ने संस्कार झांगिँदै थियो । हप्ताको कम्तीमा एकपटक सपरिवार लन्च वा डिनरका लागि रेस्टुरेन्ट जाने जीवनशैलीको विकास हुँदै थियो । सहर मात्र होइन, राजमार्ग क्षेत्र र सहरीकरण भइरहेका गाउँहरुमा पनि रेस्टुरेन्ट कल्चर फैलिदै थियो ।

तर जब चीनमा कोरोनाको महामारी फैलिएर ‘सामाजिक दूरी’को लागि आह्वान हुन थाल्यो, त्यसपछि नेपालमा पनि यो व्यवसायमा मन्दी निम्तियो । त्यसपछि एकाएकजसो रेस्टुरेन्ट व्यवसाय थला पर्‍यो ।

लकडाउनभर चार महिना रेस्टुरेन्टहरुले बढीमा ‘टेक–अवे’ सेवा चलाउन पाए । यसैपनि लकडाउनको दुई महिना अघिबाटै नेपालमा यो व्यवसायमा मन्दी छाएको थियो । लकडाउन खुलेपछि पनि रेस्टुरेन्टको व्यवसाय पुरानो लयमा फर्किन सकेको छैन ।

आम्दानी न्यून हुँदा अन्य व्यवसायीलाई जस्तै रेस्टुरेन्ट सञ्चालकलाई पनि कर्मचारीको तलब, घरभाडा, बिजुली र पानीको न्यूनतम खर्चलगायतले पिरोलिरहेको छ । धेरै रेस्टुरेन्ट सञ्चालकहरु कि बेच्ने, नभए बन्द गरेर हिँड्ने मनोदशामा छन् ।

केही रेस्टुरेन्ट अनलाइन प्लेटफर्ममार्फत परिकार बेचेर टिक्ने कोसिसमा छन् । तर, धेरैका लागि यो सम्भव विषय होइन ।

एक वेबसाइटमा देखिएको रेस्टुरेन्ट बिक्रीको विज्ञापन

कारोबार सुकेपछिको अत्यास

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान)का अनुसार देशभर ठूला लगानीका ३३ सय रेस्टुरेन्ट छन् । साना लगानीका १० हजारभन्दा बढी रेस्टुरेन्ट रहेको अनुमान छ ।

रेबानका अध्यक्ष अरनिको राजभण्डारीका सामान्य अवस्थामा देशभरका रेस्टुरेन्टमा दैनिक १० करोडभन्दा बढी कारोबार हुने गरेको बताउँछन् ।

उनका अनुसार, पर्यटकमा निर्भर ठमेल, पोखराको लकेसाइड, सौराहालगायत क्षेत्रका रेस्टुरेन्टमा अहिले पहिलेको तुलनामा १० प्रतिशतसम्म कारोबार हुँदैछ । यी क्षेत्रका पनि कतिपय रेस्टुरेन्ट त खुलेकै नै छैनन् ।

फेसबुकमा देखिएको रेस्टुरेन्ट बिक्रीको सूचना

घाटामा चलिरहेका  कतिपय रेष्टुरेन्ट बिक्रीका लागि प्रयास गरिरहेका छन् । फेसबुकलगायतका समाजिक सञ्जाल र इ–कमर्स साइटहरुमा रेस्टुरेन्ट र क्याफे बिक्रीका सूचना बाक्लै देखिन थालेका छन् । कतिपय रेस्टुरेन्टले सटर बन्द गरेर त कतिले खुलै राखेर बिक्रीको सूचना टाँसेका छन् ।

रेस्टुरेन्टका धेरै कर्मचारी बेतलबी बिदामा छन् । कतिले आधा वा निश्चित प्रतिशत मात्रै तलब पाइरहेका छन् ।

रेस्टुरेन्टहरुको अहिलेको सबैभन्दा ठूलो समस्यमा हो, घरभाडा । नगद प्रवाहको समस्या भएपछि घरभाडा तिर्न धेरैलाई सकस परेको छ ।

सहरमा ठूलो खाली क्षेत्र र भवन भाडामा लिएर रेस्टुरेन्ट सञ्चालन गर्ने गरिएकाले भाडाबापतको रकम धेरै हुन्छ । सरकारले समयमै समस्यालाई सम्बोधन नगरेकाले धेरै रेस्टुरेन्ट व्यवसायी पलायन हुने अवस्था आएको अध्यक्ष राजभण्डारी बताउँछन् ।

‘टिक्नलाई पनि ऋणमाथि ऋण थप्न परेकाले धेरैले बरु पछि खोलौंला भनेर रेस्टुरेन्ट बिक्री हुन थालेका छन्,’ राजभण्डारी भन्छन्, ‘यो नगद प्रवाह व्यवस्थापन गर्न सक्नेका लागि सस्तोमा रेस्टुरेन्ट किन्ने मौका पनि बनेको छ, तर तत्कालै लगानी उठाएर नाफामा लगिहाल्न गाह्रो छ ।’

१० अर्बको लगानी जोखिममा

नेपालमा पछिल्लो तीन वर्षमा रेस्टुरेन्ट व्यवसायमा ठूलो लगानी भित्रिएको थियो । रेस्टुरेन्ट, बार, क्याफे र साना खाजा पसलसहितका व्यवसायमा १० अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको अनुमान छ ।

पछिल्लो समय रेस्टुरेन्ट जाने, खाने, रमाइलो गर्ने संस्कृति मौलाइरहेकाले यो व्यवसायको लगानीलाई अरुभन्दा सुरक्षित र प्रतिफलमुखी मान्न थालिएको थियो । तर, एकाएक आएको कोरोना संकटले यो व्यवसायलाई थला पारिदिएको छ । नयाँ मात्रै हैन, पुराना र स्थापित चेन रेस्टुरेन्टहरू पनि समस्यामा परेका छन् ।

रेबान अध्यक्ष भण्डारीका अनुसार नाङ्लो, हटब्रेडजस्ता चेन रेस्टुरेन्टले पनि आफ्ना केही आउटलेट बन्द गरेका छन् । यो बेला भर्खरै स्थापित भएर लगानी उठाउन नपाएका व्यवसायीहरु बढी समस्यामा छन् । भर्खरै पढाइ सकेका र विदेशबाट फर्केका युवाले रेस्टुरेन्ट व्यवसायी छन् ।

विदेशमा कमाएको पुँजी लगाएकाले बैंक ऋणको भार भने ठूलो नभएको अध्यक्ष राजभण्डारी बताउँछन् । सा–सानो गरेर ठुलो पुँजी लगानी भएको रेस्टुरेन्ट व्यवसायलाई बचाउन सरकारले कुनै भूमिका नखेलेको उनको चित्त दुखाइ छ ।

अध्यक्ष राजभण्डारीकाअनुसार धेरै युवाले यसबाटै व्यवसायको सुरुआत गरेका थिए । तर, संकट पर्दा राज्यबाट कुनै सहयोग नपाएको उनले बताए । ‘हामी वर्षमा झण्डै ४ अर्ब कर तिर्छौं,’ उनी भन्छन्, ‘तर, सरकारले सुनको अण्डा पार्ने कुखुरालाई वास्ता गरेन ।’

बिक्रीमा रहेको बौद्धको एक रेस्टुरेन्ट

उनका अनुसार, कृषकले उत्पादन गरेको माछामासु, दूध, फलफूल, तरकारीको मुख्य खपत गर्ने रेस्टुरेन्ट नै हुन् । रेस्टुरेन्टहरु थला पर्दा त्यसको अप्रत्यक्ष मार कृषकहरुलाई परेको उनी बताउँछन् ।

‘हामीलाई सरकारले उद्योगको रुपमा पनि हेर्दैन,’ राजभण्डारी भन्छन्, ‘हाम्रो लगानी बालुवामा पानी हुने अवस्था आउँदा पनि संरक्षणको कुनै नीति नै आएन ।’

रेस्टुरेन्ट अत्यावश्यक सेवा भएपनि सरकारले बिलासीता प्रवर्द्धन गर्ने व्यवसायको रुपमा ब्यवहार गर्दा समस्यामाथि समस्या थपिएको अध्यक्ष राजभण्डारी बताउँछन् ।

महासंघले बैंकबाट पुनर्कर्जा पाउन पनि सहयोग नभएका कारण व्यवसायबाट पुँजी र दक्षता पलायनको अवस्था आएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment