Comments Add Comment

सिन्धुपाल्चोकका न्यौपानेलाई महाकवि देवकोटा पुरस्कार

२७ कात्तिक, काठमाडौं । नेपाली वाङ्मय प्रतिष्ठानले यस वर्षको महाकवि देवकोटा पुरस्कार सिन्धुपाल्चोकका चन्द्रप्रसाद न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

‘नेपाली वाङ्मय प्रतिष्ठानले नेपाली महाकाव्य सृजना र प्रकाशनका क्षेत्रमा विशिष्ट योगदान दिने महाकाव्यकार न्यौपाने, सिन्धुपाल्चोकलाई २०७७ सालको महाकवि देवकोटा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ,’ प्रतिष्ठानका अध्यक्ष शैलेन्दुप्रकाश नेपालले जारी गरेको विज्ञप्तीमा लेखिएको छ ।

दश हजार राशीको उक्त पुरस्कार वातावरण अनुकूल भएपछि समारोह आयोजना गरी न्यौपानेलाई हस्तान्तरण गरिने प्रतिष्ठानले जनाएको छ ।

वि. सं २०२४ साल कात्तिक २८ गते सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोट, कल्लेरी (हाल बलेफी गाउँपालिका वडा नं २) मा जन्मिएका न्यौपानेका महाकाव्य मात्रै दर्जन हाराहारी प्रकाशित छन् । ‘चन्द्रयुग’ वृहत्तर महाकाव्य रचना र प्रकाशनपछि थप चर्चामा रहेका न्यौपानेले नेपाली साहित्यका प्राय सबै विधामा कलम चलाएका छन् ।

लोक भाकाको ‘पालुवा’ खण्डकाव्य प्रकाशन गरेर साहित्य यात्रामा उदाएका न्यौपानेका महाकाव्य, कथा, निवन्ध, नियात्रा, कविता संग्रह, समालोचना, उपन्यास लगायत चार दर्जन बढी कृति प्रकाशित छन् ।

लामो समयसम्म शिक्षण पेशामा रहेका न्यौपानेले नेपाली साहित्यका महाकाव्यकार र महाकाव्यहरुको गहिरो अध्ययन अनुसन्धान समेत गरेका छन् ।

छन्दोवद्ध कविता, नयाँ छन्दकै सृजना र मौलिकताका कारण नेपाली साहित्यमा अलग्गै स्थान बनाउन सफल न्यौपानेले यसअघि पनि थुप्रै सम्मान एवम् पुरस्कार प्राप्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment