Comments Add Comment

कोभिडले थलिएको सुन बजारमा धनत्रयोदशी उत्साह

२८, कात्तिक, काठमाडौं । काठमाडौं बालाजुकी तिर्था गोतामे ठेलम ठेल गर्दै न्यूरोडको एक सुन पसलमा छिरिन् । निकै बेर गहनाहरु नियाँलेर उनले अन्तिममा एउटा चाँदीको सिक्का किनिन् ।

कोरोनाको उच्च जोखिमका बाबजुद गहना किन्न न्यूरोड पुगेकी उनले भनिन्, ‘आज सुन वा चाँदीका गहना किन्नपर्ने दिन भनेर अफीसबाट यतै आएँ, थामि नसक्नु भिड रहेछ ।’

तिहारको यमपञ्चक सुरु भएसंगै शुक्रबार काठमाडौंका बानेश्वर, न्यूरोड लगायत क्षेत्रका सुन चाँदी पसलहरुमा ग्राहकको भिड देखियो । कोरोना महामारी र बढ्दो मूल्यका कारण थलिएको सुनचादी बजारमा तिहार र धनत्रयोदशीले उत्साह थपिदिएको व्यवसायीहरु बताउँछन् ।

भारतमा धनत्रयोदशीका दिन सुन लगायतका धातु जोडे धनकी देवी लक्ष्मी खुशी हुने विश्वास गरिन्छ । यो विश्वास नेपालमा पनि भित्तिएको छ । सुन चादी व्यावसायी महासंघका महासचिव धर्म सुन्दर बाज्राचार्य कोरोना र आकासिएको मुल्यले ६ महिना थला पारेको बजारमा धनत्रयोदशीले उत्साह ल्याएको बताए ।

‘हुन त तिहारताका सरदर दैनिक ५० किलो सुन बिक्री हुने गरेकोमा यस पाली कोभिडका कारण त्यस्तो भएन’, बज्राचार्यले भने, ‘यस्तो समयमा बिगतको तुलनामा एकतिहाई कारोबार हुनुपनि महत्वपुर्ण हो ।’

गत वर्ष धनत्रयोदशी कात्तिक ८ गते परेको थियो । उक्त दिन छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला ७० हजार ७०० थियो । योवर्ष धनत्रयोदशीकै दिन छापावाल सुनको भाउ ९५ हजार २०० रुपैयाँ छ । चाँदीको प्रतितोला मूल्य पनि गत वर्षको भन्दा ३६० रुपैयाँ बढी छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्य तिहार नजिकिएसंगै बजारमा चहल पहल बढेको बताउँछन् । ‘सुन ज्यादै महंगिएकोले यो पटक धेरै ग्राहकको ध्यान चाँदीमा गएको छ’, उनी भन्छन्, ‘यो तिहारमा दैनिक एक हजार किलो चाँदी बिक्री हुने अनुमान गरेका छौँ ।’

महामारीका कारण पनि अग्रीम गहना अर्डर गर्न नपाएका कारण यस पटक चादीका तयार गहना र थाल, सिक्का, करुवा लगायत धेरै बिक्रि भइरहेको उनले बताए ।

महामारी र महँगीका कारण उपभोक्ताले संस्कृति धान्न मात्रै थोरै रकमका सुन चाँदीका गहना किनेको व्यवसायीहरु बताउँछन् । न्यूरोडको नटराज ज्वेलर्सकाअनुसार सुन त निकै कमले मात्र किन्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment