Comments Add Comment

चित्रबहादुर केसीका छोराको फेसबुक स्टाटसले जनमोर्चामा हल्लीखल्ली

२७ कात्तिक, काठमाडौं । पूर्वउपप्रधानमान्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना पोजेटिभ एवं निमोनिया भएर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत छन् । राष्ट्रिय जनमोर्चाले उपचार खर्चका लागि सहयोगदाताहरुलाई आह्वान गरेको छ । तर, केसीको उपचारका लागि पार्टीले पैसा उठाउन थालेको भन्दै केसीका छोराले आपत्ति जनाएका छन् ।

वयोवृद्ध नेता केसीका दुई भाइ छोरामध्ये सचित्र केसी र विष्णु केसी दुवै जापानमा छन् । उनैमध्ये जेठा छोरा सचित्रले ‘बुबाको अवस्था सामान्य रहेको’ भन्दै ‘पैसा उठाउने बाहनामा नफस्न’ फेसबुकमा स्टाटस लेखेपछि यतिबेला राष्ट्रिय जनमोर्चाभित्र हल्लीखल्ली मच्चिएको छ ।

केसीका जेठा छोरा सचित्रले फेसबुकमा बुबाआमाको समेत तस्वीर राखेर यस्तो लेखेका छन्, ‘सबै साथीहरुलाई अभिवादन । बुबा खतरामुक्त हुनुहुन्छ । अनावश्यक हल्ला गरेर पैसा उठाउने बाहनामा कोही पनि नफस्नुहोला । आवश्यक परे पारिवारिक रुपमा हामीले सूचना गर्नेछौं ।’

केसीको उपचारका लागि पार्टीबाट उपचार खर्च जुटाउने अभियान सुरु गरेकोप्रति लक्षित गर्दै छोरा सचित्रले भनेका छन्, ‘चित्रबहादुर गम्भीर छन् भनेर प्रचार गरिएको छ, त्यो सर्वथा झूठ हो, यसको पछि नलाग्नुहोला । शुभ रात्री ।’

पार्टी भन्छ– अवस्था गम्भीर छ

जापानमा बस्ने छोराले बुबाको अवस्था सामान्य रहेको भन्दै पैसा उठाउने बाहनामा नफस्न आग्रह गरे पनि पार्टीले चाहिँ चित्रबहादुर केसीको अवस्था गम्भीर रहेको बताएको छ ।

बिहीबार नेकपाका मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा केसीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । महामन्त्री सिंहले भनेका छन्, ‘का. के.सी अहिले पाटनको मेडिसिटी हस्पिटलमा उपचाररत हुनुहुन्छ । उहाँलाई कोरोना भाइरसको पोजेटिभ देखिएको छ । त्यो सामान्य कुरा हो । तर, उहाँ लामो समयदेखि पेटको दीर्घरोगी हुनुहुन्छ । त्यसले गर्दा उहाँ धेरै कमजोर हुनुभएको छ । अहिले निमोनिया र लामो कैयौँ दिनदेखिको डाइरिया तथा वृद्धाअवस्थाका कारणले पनि उहाँको स्वास्थ्य चिन्ताजनक बन्न पुगेको छ ।’

विदेशमा रहेका छोराले आफ्नो पिताको उपचारको दायित्व बोक्नुको साटो उल्टै पार्टीले उपचार खर्च जुटाउने प्रयासलाई समेत ‘पैसा उठाउने बाहना’ भनेर बदनाम गरेको भन्दै जनमोर्चाका कार्यकर्ता केसीका छोरासँग आक्रोशित बनेका छन् ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जारी गरेको विज्ञप्तिमा केसीलाई लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकाले पार्टीको बैंक खातामा आर्थिक सहयोग गरिदिन कार्यकर्ता तथा शुभेच्छुकसँग आह्वान गरिएको छ ।

जनमोर्चाले केसीको स्वास्थ्यस्थिति गम्भीर रहेको बताएको छ । बुधबार बसेको जनमोर्चाको केन्द्रीय कमिटीको बैठकले उनको उपचारका लागि आर्थिक सहयोगको आहवान गर्ने निर्णय गरेको नेपालीले बताएका छन् ।

जनमोर्चाले बिहीबार पुनः अर्को विज्ञप्ति जारी गर्दै खाता नम्बर परिवर्तन भएको जनाएको छ । पछिल्लो विज्ञप्तिमा भनिएको छ, ‘हिजो प्रेषित प्रेस वक्तव्यमा का. चित्रबहादुर केसीको उपचारको लागि सहयोग पठाउनका लागि दिइएको राष्ट्रिय जनमोर्चाको बैंक खाता नम्बरमा बैंकले ४ वटा अंक थपी परिवर्तन गरेकाले नयाँ खाता नम्बर निम्नानुसार भएको जानकारी गराइन्छ ।’ नयाँ खाता नम्बर राष्ट्रिय जनमोर्चा, वचत खाता नं. १४२०१००००४१७३००१ राष्ट्रिय बाणिज्य बैंक, नयाँ बानेश्वर शाखा रहेको जनमोर्चाले जनाएको छ ।

पार्टीका नेता भन्छन्– अराजक तत्वबाट भ्रम फैलाइयो

आखिर केसीका छोरा सचित्रले जापानबाट किन त्यस्तो स्टाटस लेखे ? यसबारेमा जनमोर्चाका एक नेताले अनलाइनखबरसँग भने, ‘उनी जापानमा दिनहुँ मदिरा सेवन गरेर जथाभावी गर्दै हिँड्छन् । बुबाको उपचार उनले गर्न सक्ने अवस्था नै छैन । उनले राति नशाको सुरमा फेसबुकमा त्यस्तो स्टाटस लेखेका हुन् । केसीको अवस्था चिन्ताजनक छ ।’

तर, छोराले त्यस्तो स्टाटस लेखेपछि पार्टीको आर्थिक अभियानमा असर परेको ती कार्यकर्ताले बताए । जनमोर्चाका नेताहरुले दिएको जानकारीअनुसार गत वर्ष लडेपछि केसीको स्वास्थ्य अवस्था निकै कमजोर बनेको थियो ।

अहिले अध्यक्ष केसी र श्रीमती भैरहवामा छोरी भानु केसीको घरमा बस्दै आएका छन् । छोराहरु दुवै जापानमै भएकाले वृद्धावस्थामा उनलाई छोरीले हेरचाह गरिरहेकी थिइन् । यहीबेला निमोनिया भएपछि उनलाई भैरहवाबाट काठमाडौं ल्याएर मेडिसिटीमा भर्ना गरिएको हो ।

चित्रबहादुर केसीका कान्छा छोरा विष्णु केसी केही वर्षअघि जापानबाट फर्कने क्रममा विमानस्थलमै बेहोस भएका थिए । उनको उपचारमा ४/५ लाख रुपैयाँ खर्च भएकाले पारिवारिक स्रोतबाट अहिले केसीको उपचार खर्च व्यहोर्ने अवस्था नरहेको पार्टी कार्यकर्ताहरु बताउँछन् ।

तर, विदेशमा रहेका छोराले आफ्नो पिताको उपचारको दायित्व बोक्नुको साटो उल्टै पार्टीले उपचार खर्च जुटाउने प्रयासलाई समेत ‘पैसा उठाउने बाहना’ भनेर बदनाम गरेको भन्दै जनमोर्चाका कार्यकर्ता केसीका छोरासँग आक्रोशित बनेका छन् ।

चित्रबहादुर केसीकी छोरी भानु केसीले भाइको फेसबुक स्टाटसबारे गुनासो पोख्दै भनिन्, उसले बुबासँग सम्पर्क नगरेको एक डेढ वर्षै भइसक्यो । कहिल्यै खर्च पनि पठाएको छैन ।’

सरकारले नै केसीको उपचार खर्च व्यहोर्ने भनेपछि अब पार्टीले आर्थिक सहयोग संकलन गर्ने/नगर्नेबारे छलफल भइरहेको जनामोर्चाका एक नेताले बताए ।

प्रगतिशील लेखक संघका महसचिवसमेत रहेका जनमोर्चाका युवा नेता समीर सिंह जनमोर्चाका अध्यक्ष केसीको उपचारबारे परिवारका सदस्यले त्यसरी भ्रम फैलाउन नमिल्ने बताउँछन् । सिंह भन्छन्, क. चित्रबहादुर केसी बिरामी भएर अस्पतालमा भर्ना हुनुभएको छ । उहाँलाई उपचार गर्ने दायित्व पनि नेपाली जनताको नै हो । प्रमुखरुपमा उहाँ देशको नेता हो अनि मात्र कसैको बुवा तथा हजुरबुवा होला । कुनै परिवारको सदस्य तथा अराजक तत्वहरुबाट भ्रम सिर्जना गरिनु राम्रो कुरा होइन ।’

सरकारले सबै खर्च व्यहोर्ने

यसैबीच, बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वउपप्रधानमन्त्री केसीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । बैठकपछि अर्थमन्त्री विष्णु पौडेलले ट्विट गर्दै भनेका छन्, ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु ।’

सरकारले नै केसीको उपचार खर्च व्यहोर्ने भनेपछि अब पार्टीले आर्थिक सहयोग संकलन गर्ने/नगर्नेबारे छलफल भइरहेको जनामोर्चाका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment