Comments Add Comment

‘घरघरमा संक्रमित हुने अवस्था आइसक्यो, ‘चेन ब्रेक’ गर्न नाका सिल गरौं’

२८ कात्तिक, काठमाडौं । परीक्षण घटेसँगै दैनिक पहिचान हुने कोरोना संक्रमितको संख्या घटेको छ । तर काठमाडौं उपत्यकामा संक्रमण घटेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै तथ्यांकअनुसार झण्डै २० हजार सक्रिय संक्रमित छन् ।

बढ्दो संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यका नगरपालिका फोरमले तिहार र छठलगत्तै उपत्यका प्रवेश गर्ने नाका सिल गर्न सरकारलाई सुझाएको छ । काठमाडौं महानगरपालिकाका मेयर एवं फोरमका अध्यक्ष विद्यासुन्दर शाक्य भन्छन्, ‘कोरोना महामारी बढेर घरमा संक्रमतिहरू हुने अवस्था आइसक्यो, परीक्षण बढाएर कोरोना ‘चेन ब्रेक’ गर्ने समय यही हो ।’

मेयर शाक्यको भनाइ उनकै शब्दमाः

काठमाडौं उपत्यका नोवेल कोरोना भाइरस (कोभड–१९) को हटस्पट बनेको छ । हामीले चाहेर पनि महामारी नियन्त्रण गर्न सकेको छैनौं । सरकारले केही समय निःशुल्क परीक्षण बन्द गरेकाले जनस्तरमा ब्यापक परीक्षण हुन पाएन । जबकी सहरका धेरैमा लक्षण देखिएको छ ।

कम्तीमा एक हप्ताअघि पूर्वसूचना दिऔं, त्यसपछि भने कडा रुपमा काठमाडौंका नाकाहरू सिल गरौं भन्ने हाम्रो प्रस्ताव हो । त्यसो गर्दा कसैलाई सास्ती हुँदैन ।

दसैं तिहारमा जमघट गरेर खान र रमाइलो गर्न पाइँदैन भनेर लक्षण हुँदाहुँदै पनि परीक्षण नगर्नेहरू धेरै छन् । घर परिवारसंग बसेर रमाइलो गर्न नपाइला कि भनेर धेरैले परीक्षण नै गराएका छैनन् । त्यसैले हामीले तिहार र छठ सकिएपछि काठमाडौं उपत्यकामा परीक्षणको दर बढाउनुपर्छ ।

सरकारले अब सरकारी अस्पतालमा निःशुल्क परीक्षण र उपचार गर्ने व्यवस्था गरेको छ । परीक्षण बढाउन अनुकुल अवस्था बनेको छ ।

त्यसैले काठमाडौंमा परीक्षण बढाएर कोरोना ‘चेन ब्रेक’ गर्ने समय यही हो । जसरी महामारी बढेर प्रत्येक घरका मानिस संक्रमित हुने अवस्था आइसक्यो, यसमा गम्भीर हुनैपर्छ ।

हामीले काठमाडौं उपत्यका नगरपालिका फोरममार्फत सरकारलाई गम्भीर बन्न आग्रह गरेका छौं । हाम्रा मागहरू सुनुवाइ गर्न आग्रह गरेका छौं ।

काठमाडौंमा दैनिक ३० हजार मानिस भित्रिँदैछन् । यहाँबाट पनि उत्तिकै मान्छे बाहिरिन्छन् । यसरी सबै कुरा सामान्य मानेर खुला छोड्दा भविष्यमा संक्रमण सबैतिर उत्तिकै फैलिने जोखिम छ ।

कुलोको पानी सफा भएर पुग्दैन, मुहान नै सफा गर्नुपर्छ । उपत्यका नगरपालिका फोरमले उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित सीसीएमसीका प्रतिनिधिहरूसंग केही महत्वपूर्ण प्रस्ताव गरेको छ ।

हामीले भनेका छौं कि कम्तीमा एक हप्ताअघि पूर्वसूचना दिएर नाका सिल गरौं । एक हप्ताअघि नै सूचना दिएपछि यहाँबाट बाहिरिनुपर्ने अवस्थाका पनि सबै सहजै जानुहन्छ । भित्रिन पर्नेहरू पनि सहजै भित्रिनुहुन्छ । त्यसपछि भने कडा रुपमा काठमाडौंका नाकाहरू सिल गरौं भन्ने हाम्रो प्रस्ताव हो । त्यसो गर्दा कसैलाई सास्ती हुँदैन ।

नाका सिल गरेर यहाँ भित्रको आर्थिक गतिविधिलाई चलायमान नै छाड्नुपर्छ । तर, परीक्षण भने त्यही मौकामा बढाउनुपर्छ । हाम्रो प्रस्ताव त ‘एक परिवार एक परीक्षण’ गरौं भन्ने हो । लक्षण देखिएका सबैलाई परीक्षणमा समेटौं ।

अहिले कोरोनाको लक्षण देखिएका, स्वाब दिएका र संक्रमण भएकाहरू पनि समुदायमा खुल्लम खुल्ला हिँडिरहेको भेट्छौं । कोही तरकारी किन्न हिँडिरहेका छन्, कतिपय मानिसहरु केही नभए जसरी हिँडिरहेका छन् ।

अब भने त्यो अवस्था आउन दिन भएन । जो सम्भावित संक्रमित वा संक्रमित हो, उसलाई कडाइपूर्वक आइसोलेसनमा बस्ने वातावरण बनाउनुपर्छ ।

स्थानीय क्लब, टोल सुधार समिति, स्थानीय समूह र संघसंस्थालाई परिचालन गर्नुपर्ने प्रस्ताव गरेका छौं । जो संक्रमित छ, बरू उसको घरमा सूचना नै टाँसेर त्यो परिवारलाई आवश्यक पर्ने दाल चामल स्थानीय समुदायले नै पुर्‍याउने व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो मत हो । त्यसका लागि हाम्रो वडा कार्यालयहरू पनि आवश्यक सहयोग समन्वय गर्न तयार छन् । संक्रमितलाई तिरस्कार गर्ने हैन, सम्मान गर्ने वातावरण बनाउनुपर्छ । जसले गर्दा संक्रमित खुल्ने वातावरण बन्छ ।

कुनैपनि हालतमा संक्रमितलाई बाहिर आउने र आउनुपर्ने बाध्यात्मक अवस्था बन्न नदिँदा सबैको भलो हुन्छ । स्थानीय संघसस्था र क्लबमार्फत निगरानी गरेर संक्रमितलाई आवश्यक सहयोग पनि गर्ने वातावरण बनाउनुपर्छ ।

म संक्रमित भएको एक दिनपछि आफैंले संक्रमित भएँ भनेर घोषण गरेको थिएँ । सकेसम्म संक्रमितलाई खुल्न प्रोत्साहन गर्नुपर्छ । त्यसो भएमा समुदायमा संक्रमण फैलिन पाउँदैन । समुदायबाटै सहयोग दिलाउने र निगरानी पनि गर्ने गरी व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो प्रस्ताव हो ।

नगरपालिका फोरमको जोड अहिले जसरी संक्रमण फैलिएको छ, त्यसको चेनलाई तोड्न प्रभावकारी पहलकदमी लिनैपर्छ भन्ने हो । हामी भित्रको आर्थिक गतिविधि बन्द गर्नुपर्छ भनिरहेका छैनौं । तर, भित्रिने र बाहिरिनेलाई पर्याप्त समय दिएर नाकालाई बन्द गरेपछि यहाँ परीक्षण बढाउनुपर्छ । त्यो अवधिमा संक्रमितलाई पनि सामुदायिक तवरबाट आइसोलेसनमा कडाइपूर्वक बस्न प्रोत्सहान गरौं भन्ने हाम्रो भनाइ हो ।

छर–छिमेकीबाट संक्रमित र उसको परिवारलाई सहयोग हुने गरी नै महामारी नियन्त्रणको लागि कदम चाल्नुपर्छ ।

त्यसबाहेक आमीले स्थानीय प्रशासनसँग पनि नीतिगत दोहोरोपना आउन नदिन सरकारलाई आग्रह गरेका छौं । विगतमा हामीले फुटपाथ, ठेलगाडा र साइकलमार्फत हुने ब्यापार रोक्यौ, तर जिल्ला प्रशासनले खुलाइदियो ।

त्यस्तो समन्वयविनाको काम हुनुहुन्न । किनभने प्रहरीले पनि प्रशासनकै निर्देशन पालना गर्छन् । प्रहरीलाई पनि मेयरको कुरा सुन्ने कि प्रजिअको सुन्ने भन्ने हुन्छ । त्यसैले हामीले यसपटक समन्वयको पक्ष पनि बलियो बनाउँदै काम गर्न आग्रह गरेका छौं ।

काठमाडौंवासी सबैको जीवन रक्षा गर्न पनि कोरोनाको चेन ब्रेक हुनैपर्छ । परीक्षण बढाएपछि भेटिएका संक्रमितको पनि हामी उपचार गर्न तयार नै छौं । सबै किसिमबाट प्रभावकारी मोडालिटीमार्फत काठमाडौंलाई सुरक्षित राख्नुपर्छ भन्ने नगरपालिका फोरमको धारणा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment