Comments Add Comment

बैतडी बस दुर्घटनाका घाइतेको बयान : बस त हावामा घुम्यो, अब बाँचिदैन भन्ने लाग्यो

बैतडीको खोड्पेमा दुर्घटनाग्रस्त यात्रु बस । फोटो : कृष्ण विष्ट, बैतडी

२८ कात्तिक, कैलाली । दार्चुलाबाट तिहार मनाउन भन्दै कैलाली आउँदै गरेका कैलाली गोदावरीका यज्ञराज कठायतका लागि बिहीबारको रात सबैभन्दा त्रासदीपूर्ण र भयानक बन्यो । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बसले एक्कासी सडक छाड्दा अब बाँचिदैन भन्ने लाग्यो ।

अहिले आफूलाई अस्पतालको शय्यामा पाउँदा उनलाई पुनर्जीवन पाएजस्तै भएको छ । बसको अन्तिमतर्फको सिटमा थिए उनी । जब बसले नियन्त्रण गुमायो, उनको होस हवास गुम्यो । ‘आकाशमा गाडी तीन पल्ट घुम्यो, के भइरहेको छ भनेर अनुमान गर्न नपाउँदै रुखमा बजारिएँ,’ उनले सुनाए ।

दशरथ चन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा उनलाई रुखले जोगायो । झ्यालतर्फ रहेका उनी रुखमा बजारिए र  त्यहिँ रोकिए । तर, उनीजस्तै ९ जना यात्रुको मृत्यु भयो, ३४ जना घाइते भए । ‘म बाच्छु जस्तो लागेकै थिएन,’ उनले भने, ‘भाग्यले मात्रै जोगिएको हुँ  ।’

बस घुम्ती सडकबाट करिब ६ सय मिटर तल खसेको छ ।

जसले दुर्घटनाको जानकारी दिए

बैतडीको दोगडाकेदारका नितेस भट्टको होस खुल्दा घटनास्थलमा चित्कार मात्रै थियो ।  ‘बचाउ’, ‘बचाउ’ भन्दै रोएका आवाज उनले सुने । बिहीबार ७ बजे कञ्चनपुरका लागि प्रस्थान गरेका उनीलाई त्यो दुर्घटनाको सम्झनाले मात्रै पनि त्रसित बनाउँछ ।

‘बसले रोड छोडेको आभास भइसकेको थियो,’ शुक्रबार बिहान डडेल्धुरा अस्पतालबाट उनले भने, ‘गाडी घुमेको याद छ । र त्यो पछि के भयो थाहै भएन ।’

उनको होस आउँदासम्म त्यहाँ उद्धारकर्मी पुगेका थिएनन् । उनले फोन गरेर सडक दुर्घटना भएको जानकारी दिए । त्यसपछि उद्धार टोली पुग्यो ।

‘म आफैं घाइते थिएँ । धेरैले मलाई नै बचाउ–बचाउ भन्दै थिए,’ त्यो पल सम्झँदै उनले भने, ‘एक बालक थिचिएको थियो । उनकी आमाले रुँदै बचाउन भन्नुभयो । मैले सकिनँ ।’

पछि प्रहरीको सहयोगमा बालकको उद्धार गरिएको उनले बताए । दुर्घटना हुनुभन्दा केही समय अघि बस बिग्रिएको उनले जानकारी दिए । ‘त्यो बस बिग्रिएको थियो,’ उनले भने, ‘त्यहि भएर दुर्घटना भएको हुन सक्छ ।’

प्रहरीले अहिलेसम्म दुर्घटनाको कारणबारे तथ्यगत जानकारी दिन सकेको छैन । तर, घाइतेहरूले प्राविधिक गडबढी भएको र तीव्र गतिमा बस रहेको बताएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

‘यकिन कारण अझै खुल्न सकेको छैन । चालक पनि घाइते छन्, हामीले बुझ्नपाएका छैनौं,’ उनले भने, ‘यात्रुले गति बढी रहेको र बस बिग्रिएको बताएका छन् ।’

प्रहरीलाई पूर्णरुपमा उद्धार गर्न करिब ८ घण्टा लागेको थियो । बस चालकसहित ९ जना घाइतेहरुको धनगढीमा उपचार भइरहेको छ । केही सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटना भएको खबर प्रहरीले राति १०ः२४ मा पाएको थियो । त्यसलगत्तै उद्धारमा खटिएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment