Comments Add Comment

रामकुमार पाँडेको साहित्यिक भूगोल

२९ कात्तिक, काठमाडौं । जाउलाखेल सदर चिडियाखाना छेउबाट करिब सय मिटर हिँडेपछि आइपुग्छ, शान्ति–चोक । त्यहाँ झिँगटीको पाली हालेको, कलात्मक पिँढी र दलान भएको तीनतले घर देखिन्छ । सहरका अन्य घरजस्तै पक्की भएपनि यो घरमा गाउँमा हुने छानो, पाली, दलान, फलैंचा र आँखीझ्याल सबै छन् ।

शान्ति–चोकको बाटो हिँड्ने जो–कसैको नजर यो अनौठो बंगलातिर मोडिन्छ । यो बंगला साहित्यकार एवं प्राध्यापक रामकुमार पाँडेको हो । घरजस्तै कलात्मक जीवनशैली बाँच्ने पाँडेको मूल परिचय हाँस्य–व्यंग्यकार हो ।

यसबाहेक हाइकु लेखक एवं यतीका खोजकर्ता, अनसन्धानकर्ता, भूगोलका ज्ञाता, कार्टुनिस्टको परिचय पाँडेले बनाएका छन् ।

भूगोलका प्राध्यापक पाँडेले २७ वर्ष त्रिभुवन विश्वविद्यालयमा पढाए । त्यहीबीचमा साहित्यका सबै विधामा सक्रिय भए । विशेषः प्रसिद्धि व्यंग्य विधामा कमाए । र, उनले यही साता एकलाख रुपैयाँ राशीको ‘भैरव व्यंग्य पुरस्कार’ पाए ।

जाउलालाखेलका रैथाने हुन्, पाँडे । पिता लेफ्टिनेन्ट प्रेमजङ्ग पाँडेले पुर्ख्यौली सम्पत्तिका रुपमा जग्गा पाएका थिए । पृथ्वीनारायण शाहका बफादार सेनापति कालु पाँडेसँग वंशवृक्षको नाता रहेको रामकुमारको परिवार शताब्दी अघिदेखि जाउलाखेल क्षेत्रमै बसेको छ ।

यही जाउलाखेलको हरियाली सेरोफेरोमा २००३, असार २५ गते जन्मिए रामकुमार पाँडे । त्यतिखेर जाउलाखेलभरि हरिया फाँट थिए । चिडियाखानाका ठूलाठूला बोटविरुवाले हराभरा हुन्थ्यो वातावरण । बाल्यकालको जाउलाखेल सम्झिँदै उनी भन्छन्, ‘त्योबेला जाउलाखेल उपत्यकाकै रमणीय स्थान थियो । मछिन्द्रनाथको जात्रा हुने अनि चिडियाखाना पनि भएको घमाइलो ठाउँमा सबैको आँखा पर्थ्यो ।’

बालक रामकुमारले पाटन नागबहालको विद्यायलयमा चार वर्षकै उमेरदेखि पढ्न पाए । उनी भन्छन्, ‘पढाइप्रति नजाँनिदो लगाव रहेछ मेरो । सुकुलमा बसेर खरीपाटीमा लेख्नुपर्ने कष्टकर दिनमा समेत म रमाइरहें ।’

केही वर्ष नागबहालमा पढेर उनी धोबीघाटको कालो बंगला स्कुलमा  भर्ना भएँ ।  प्राथमिक तह सकेपछि पाटन हाइस्कुल गए । पाटन हाइस्कुल नै उनको साहित्यको आधारभूमि बन्यो । कविता, गीत, कथा, चित्र र व्यंग्य लेख्ने वातावरण स्कुलकै माहोलमा पाए ।

किशोरावस्थाका जोशिला रामकुमारका लागि असम्भव भन्ने केही नलाग्ने रहेछ । भलिबल खेल्न पनि उनी नै अगाडि, चित्र कोर्न, बाजा बजाउन, कविता लेख्न, हाजिरीजवाफ खेल्न, जात्रामा साथीहरूसँग रमाउन अघि सर्थे ।

बाल्यकालको चर्चा गर्दा गम्भीर भावमा उनी भन्छन्, ‘पाटन स्कुलको त्यो जोशिलो ठिटो मै थिएँ, जो जुनसुकै काम गर्न सुरिइहाल्थ्यो । त्यही बानी जीवनभरि बसेपछि म आदतको दास नै भएँ ।’

आज पनि जुनसुकै क्षेत्रमा हात हाल्न अघि सर्ने बानी किशोरकालदेखिकै रहेको स्वीकार्छन् पाँडे । एक अक्षर नपढेको, नसुनेको विषयमा पनि उनी पुस्तक नै लेखिदिन तम्सिन्छन् ।

भूगोलका ‘भर्सटाइल प्राध्यापक’

पाँडेले स्कुलपछि आईएमा अंग्रेजी र नेपाली पढे । स्नातक भर्ना हुने बेलामा उनलाई लाग्यो, ‘साहित्य त आफैं पनि लेख्ने हुनाले धेरै कुरा जानिसकेको छु । फेरि साहित्य पढेर के जागिर पाइएला !’

यही सन्देहले उनले भूगोल विषय रोजे । पढाइको विषय गहन नै भए पनि पाँडेको सम्पूर्ण ध्यान साहित्यमा थियो । त्यतिबेला उनी कविता धेरै लेख्थे । त्यसबाहेक निबन्ध र व्यंग्यमा समेत उनको कलम निर्वाध दौडिन थालिसकेको थियो । साथीभाइ बनाएर हिँड्ने, कविता–मुक्तक सुनाउनमै उनका दिन बित्न थाले ।

‘स्नातकको परीक्षा आउन थालिसकेको थियो, म भने साहित्यमै हराइरहेको थिएँ,’ पाँडे भन्छन्, ‘यही स्वाभाव देखेर प्राध्यापकहरूले म वार्षिक परीक्षामा असफल हुने लख काटिसकेछन् !’

तर, जब क्याम्पसको सेन्ट–अप (पूर्ववार्षिक परीक्षा) भयो, उनी भूगोल विषयका टपर भए । त्यसपछि उनले प्राध्यापकहरूको साथ पाउन थाले । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट भूगोलमै स्नात्तकोत्तर गरे ।

भूगोल नै रामकुमारको जीवनको अभिन्न भाग बन्यो । उनी जहाँ जान्थे, साहित्यिक मन बोकेर जान्थे । तर, जीउज्यान भने भूगोलकै हुन्थ्यो । अर्थात्, उनले भूगोलको अनुसन्धान, अध्यापन र रिपोर्टहरू गर्नैपर्ने भयो ।

नेपाली प्रदर्शनी कोठा हेर्न लाग्दा एकजना साहित्यकारको तस्वीर देखाउँदै महेन्द्रले पाँडेलाई सोधे, ‘यो को हो बाबु ?’ पाँडेले हत्तपत्त, ‘उहाँ बीपी हुनुहुन्छ सरकार !’ भने । पाश्र्ववर्ती जर्नेलले त पाँडेका तिघ्रामा चिमोटेर चुप लाग्ने इशारा नै गरे । तैपनि पाँडेले नडराई राजाको पिछा गरेर ‘अटोग्राफ’ मागे

पाँडे २०२९ मंसिरदेखि त्रिभुवन विश्वविद्यालयमा भूगोलका सहायक प्राध्यापक भए । पाँच वर्षपछि उपप्राध्यापक, त्यसपछि प्राध्यापक र विभागीय प्रमुख हुँदै २०६६ असारमा अवकाश पाए ।

विश्वविद्यालयको जागिरे दिनबारे पाँडे भन्छन्, ‘जब भूगोलको प्राध्यापक भएर पनि सधैं साहित्यकर्म गर्दा आक्षेप लाग्न थाल्यो तबमात्र मैले भूगोलको अनुसन्धानमा मन दिएँ । भूगोलकै अनुसन्धानका लागि जुम्लादेखि देशैभरिको हावापानी हेर्न पुगें ।’

पाँडे साहित्यसँगै भूगोलका पाठ्यपुस्तक लेखन, अनुसन्धान र प्राज्ञिक कर्ममा व्यस्त भए । आईएमा विद्यार्थीले पढ्ने ‘नेपाल परिचय’ पुस्तक उनले नै लेखेका हुन् । प्रसिद्ध भूगर्भविद् टोनी हेगनले समेत उनको पुस्तकलाई प्रशंसा गर्दै ‘अब नेपालमा विदेशी भूगोलविदको आवश्यकता नभएको’ लेखेको उनी बताउँछन् ।

प्राध्यापनकै क्रममा पाँडे सानोठिमी क्याम्पस, केन्द्रीय क्याम्पस र  पोखराको पृथ्वीनारायण क्याम्पस पुगे । शिक्षण तालिम, भूगोल सम्मेलन, अनुसन्धानका लागि धेरैपटक जापान, नेदरल्यान्ड र भारत पुगे ।

साहित्यका होलटाइमर

पाटन हाईस्कुलमा एकदिन ‘बृहत् शैक्षिक प्रदर्शनी’ भयो । त्यहाँ विज्ञान, साहित्य, कला, इतिहास, सृजनात्मक शिल्पको प्रदर्शनी हुने थियो । त्यहाँको नेपाली विभागको प्रदर्शनीको जिम्मा पाँडेले पाए । ‘प्रदर्शनीको मौकामा अरुले भन्दा के नयाँ गर्ने त !’ उनको मनले सोचिरह्यो ।

जिज्ञासु रामकुमारले ठूलो वृक्षको चित्र बनाए । त्यसको हाँगामा नेपाली साहित्यका विभिन्न विधाको नाम लेखे । फल लाग्ने ठाउँमा देवकोटा, लेखनाथ, मबीबी शाहको नाम लेखे । जरामा ‘जुम्ला–सिँजा’ लेखे ।

प्रदर्शनीको उदघाटनका दिन राजा महेन्द्र आए । नेपाली प्रदर्शनी कोठा हेर्न लाग्दा एकजना साहित्यकारको तस्वीर देखाउँदै महेन्द्रले पाँडेलाई सोधे, ‘यो को हो बाबु ?’

पाँडेले हत्तपत्त, ‘उहाँ बीपी हुनुहुन्छ सरकार !’ भने  । बीपी भन्नेबित्तिकै राजाका आसेपासे सशंकित भए । पाश्र्ववर्ती जर्नेलले त पाँडेका तिघ्रामा चिमोटेर चुप लाग्ने इशारा नै गरे ।

तैपनि पाँडेले नडराई राजाको पिछा गरेर ‘अटोग्राफ’ मागे । राजा फर्किन थालिसकेका थिए । तर, शिक्षक, (राजज्योतिष) मंगलराज जोशीले ‘यी रामकुमार पाँडे नेपालीका प्रतिभावान् छात्र हुन् सरकार’ भनेपछि राजाले हस्ताक्षरसहित शुभकाना लेखिदिए, जुन उनीसँग अझै सुरक्षित छ ।

विद्यालय उमेरमा नै साहित्यमा मग्न बनेका पाँडे स्कुल जीवनपछि साहित्यकै संसार हराउन स्वतन्त्र भए । जुन विधा मन पर्छ, त्यही लेख्न थाले ।

‘कति जानेर लेखें, कति नजानी लेखें । तर, लेख्नुपर्छ भनेर भित्री मनमा शंकल्प थियो’, उनी भन्छन् ।

अहिले पाँडेका प्रकाशित पुस्तक संख्या एक सय कटिसकेका छन् । जसमा २० थानजति व्यंग्यका पुस्तक छन् । यसबाहेक हाइकु, मुक्तक, कविता र यात्राका किताब पनि प्रतिविधा, आधा दर्जन प्रकाशित छन् ।

अहिले हाइकुमा बढी सक्रिय छन् उनी । कोरियाको कविता ‘सिजोे’ लेख्न पनि थालेका छन् । झण्डै ४५ वटा हाइकु किताबमा भूमिका लेखेका छन् ।

व्यंग्यका पर्याय

‘हाँस्यव्यंग थाहै नभई लेखेको थिएँ । पछि गोेरखापत्र, रुपरेखा पढ्न थालेपछि पो आफूले लेखेको कुरा हाँस्यव्यंग्य भएको चाल पाएँ ।’ व्यंग्य लेखनबारे बोल्दा यही कुरा दोहो¥याइरहेका हुन्छन् पाँडे ।

१९ वर्षकै उमेरमा उनले बासुदेव लुइँटेलको साथ पाए । पहिलो किताब ‘ख्यालख्याल’ लुइँटेलकै सहायताबाट २०२३ सालमा  प्रकाशित भयो ।

यसबीच उनले पत्रकार दाताराम शर्माले ‘प्रजातन्त्रचार्य’ नाममा लेखेको स्तम्भ पढे । केशवराज पिँडालीले लेखेको ‘सुरवीरहरूको नर्कयात्रा’ व्यंग्यले उनी यति प्रभावित भए कि अब व्यंग्य लेखन नै आफ्नो मूलकर्म बनाउने अठोट गरे ।

आफूले व्यंग्य लेख्न सुरु गर्दा भैरव अर्याल, केशवराज पिँडालीको दबदवा रहेको पाँडे सम्झन्छन् ।

एकपटक रत्नपार्कको पसलमा पत्रिका किन्न पुग्दा पाँडेले केही मान्छे कुर्सीमा बकेर पत्रिका पढ्दै मरीमरी हँसिरहेका देखे । उभिरहेका पाँडेले केहीछिनमा थाहा पाए, ती मान्छे त उनकै व्यंग्य सुनाउँदै पो हाँसेका रहेछन् ! यो घटनाले पाँडेको मुटु अझै दह्रो बनायो ।

उनलाई  व्यंग्य लेख्न केही कुराले छेक्न सकेन । विश्वविद्यायलकै जागिर हुँदा उनले लेखेका व्यंग्य पढेर दरबारका मानिसले फोन गरेर नसियत दिँदा रहेछन् । ‘लेखिसकेपछि कसलाई छुन्छ, कसलाई घोच्छ, त्यो अरुको कुरा हो । लेखकको काम  प्रतिवद्ध भएर लेख्ने मात्र हो’ व्यंग्य लेखनमाथि पाँडेको सदावहार धारणा छ ।

अहिले लेखिएका व्यंग्यप्रति उनी सन्तुष्ट छैनन् । अहिले हाँस्यव्यंग्यलाई उनी तयारी चाउचाउ मान्छन् । पकायो, खायो, भोक पनि पुरै नमेटिने ।

‘गिरिजाको समयमा उसलाई गिज्याएर लेखेको कुरा अहिले त बाँच्दैन नि !’ पाँडे भन्छन्, ‘तर गिरिजा प्रवृत्तिमाथि केही लेख्यो भने त्यो युगौंसम्मका शाश्वत हुन्छ ।’

पछिसम्मको चिन्तन गरेर, कुनै जात, वर्ग, वर्ण वा आस्थामा चोट नपुग्ने गरी व्यंग्य लेख्नुपर्ने कुरामा उनी अडिग छन् ।

प्रयोगमा गुज्रिएको जिन्दगी

पाँडेले यतीबारे तीनवटा पुस्तक लेखेका छन् । नेपाल सरकारले पर्यटन वर्ष २०२० मा बनाएको यतीको मस्कटलाई उनी विरुप कलाकृति मान्छन्

विद्यालय छात्रवृत्तिका लागि परीक्षा थियो । त्यहाँँ उपत्यकाभरिका विद्यार्थीमाझ प्रतिस्पर्धा थियो । परीक्षामा ‘अन्तरिक्षमा भू–उपग्रहको महत्त्व’का विषयमा लेख्नुपरेछ ।

त्यतिबेला पाठ्यक्रममा अन्तरीक्षको कुरा आएकै थिएन । तर जाउलाखेल पुस्तकालयमा जाँदा रंगीन तस्वीरको एउटा विदेशी किताबमा पाँडेले अन्तरीक्षबारे पढेका रहेछन् । नयाँ कुरा केही छ कि भनेर खोतल्दा उनले त्यो लेख भेटेका रहेछन् ।

परीक्षामा उत्तर लेख्दा दुईचोटि कापी थपे उनले । भू–उपग्रहबारे जानेरै ३ सय ६० रुपैयाँको छात्रवृत्ति पाए । पाँडे भन्छन्, ‘विद्यालय जीवनदेखि नै नयाँ कुरा खोतल्ने बानी परिसकेको थियो । यही कुरा बानीकै रुपमा विकास भएछ ।’

विद्यालयको प्रदर्शनीमा भएजस्तै अर्को घटना भयो, रत्न पुस्तक भण्डार भोटाहिटीमा । एकदिन पाँडे त्यहाँ पुस्तक किन्न बसिरहेका रहेछन् । एकजना विदेशी आएर रत्नका अध्यक्ष रत्नप्रसाद श्रेष्ठलाई यहाँ यतीबारे लेखेको पुस्तक पाइन्छ ? भनेर सोधेछन् ।

रत्नप्रसादले कुरा बुझेनन् । पाँडेको चलाख दिमागले सोच्यो, ‘यो पुस्तक पसलको माथिल्लो तलामा हिमाली जीव–जनावरमाथि लेखेको पुस्तक छ, त्यहाँ हुन सक्छ ।’

नभन्दै रत्न पुस्तकमा त्यो किताब रहेछ । त्यहीबेला विदेशीले यतीबारे खोज्दा रहेछन् भन्ने चाल पाए पाँडेले । अनि यतीबारे नेपाली र अंग्रेजीमै पुस्तक लेख्ने सोच बनाए । अनि हिमाल आरोही, पथप्रदर्शक, विदेशी अनुसन्धानकर्ता र हिमाली क्षेत्रमा गएर यतीमाथिका कता संकलन गरे ।

पाँडेले यतीबारे तीनवटा पुस्तक लेखेका छन् । सरल भाषामा यती के हो भन्नेबारे उनी भन्छन्, ‘यती एउटा हिम–मानव (जीव) हो । अहिले अस्तित्वमा नभए पनि प्रमाणहरूका आधारमा यसको अस्तित्व नेपालको उच्च हिमाली क्षेत्रमा थियो ।’

यद्यपि, नेपाल सरकारले पर्यटन वर्ष २०२० मा बनाएको यतीको मस्कटलाई उनी विरुप कलाकृति मान्छन् । प्रतिमूर्ति पाँच लाख खर्च भएको मस्कटको व्यंग्य गर्दै पाँडे भन्छन्, ‘यती के हो भनेर जान्ने विज्ञलाई नसोधी बनाउँदा मस्कट त दाह्रा फुस्केको राक्षसजस्तो देखिएको छ !’

नयाँ विषयमा पुस्तक लेख्नेसँगै संगठन बनाउन पनि दिलो ज्यान दिने स्वभाव छ पाँडेको । उनले नै सुरुमा काटुर्निस्ट क्लब बनाए । संगठन सुरु गर्न कार्टुन बनाउने घरघर गए र भेला गरे । अन्तराष्ट्रिय लेखक संघ ‘पेन’को अध्यक्ष तीन कार्यकाल भइसकेका छन् । यसबाहेक व्यंग्यकारहरूको समूह, स्थानीय टोल सुधारका कार्यसमिति र भूगोलका सक्रिय संस्थामा उनी पदाधिकारी छन् ।

दौडधूपलाई पनि सहज रुपमा लिने पाँडे आफूले धेरै काम गरेकोमा घमण्ड नगर्ने पक्षमा छन् । उनी भन्छन्, ‘चेतनाले भ्याएसम्म म घमण्ड गर्दिनँ, तर आफूले जानेको, अभ्यास गरेको कुरामा असीम आत्मविश्वास राख्छु ।’

आफ्नो मुखर स्वाभिमानलाई मानिसले अभिमान देखेको उनी बताउँछन् । कति अरुको प्रवृत्तिमाथि मात्रै कटाक्ष गर्नु भन्दै आफैंलाई व्यंग्य गर्छन्, ‘के–के गरें भन्ने सूचीभन्दा केचाहिँ गर्न छुटाएँछु भन्ने लिस्ट सानो छ !’

(तस्वीर : चन्द्र आले/अनलाइनखबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment