Comments Add Comment
साहित्य वार्ता :

‘अमेरिकामा पनि शोषित–उत्पीडितकै कथा लेख्छु’

२९ कात्तिक, काठमाडौं । कथाकार ‘राजव’को औपचारिक नाम जनार्दन पुडासैनी हो । दुई दशक राष्ट्रिय वाणिज्य बैंकमा बिताएका उनी २००२ नोभेम्बरदेखि अमेरिकाको म्यासाचुसेटमा बस्न थाले । त्यसयता उनको अमेरिका–नेपाल आउजाउ चलिरहेकै छ ।

नेपालमा रहँदा राजवलाई नारायण ढकाल, विमल निभा र श्यामलसँग अत्यन्तै मिल्ने साथीका रुपमा चिनिन्थ्यो । अमेरिकामा हुँदा पनि यी साथीहरुलाई ‘मिस’ गरिरहेको उनी बताउँछन् ।

आफू पनि पूर्वकर्मचारी भएकाले हुन सक्छ, तल्लो तहमा काम गर्ने कर्मचारीहरुको पीडालाई समेटेर कथाहरु लेख्दै आएका उनी अमेरिकामा रहँदा पनि उत्पीडित र शोषितकै साहित्य लेखिरहेको बताउँछन् ।

राजव भन्छन्, ‘अमेरिका आएपछि मेरो लेखनको परिवेश फेरियो । तर, ध्येय फेरिएको छैन । यहाँ पनि मेरो लेखनको विषय उत्पीडित र शोषित जीवन नै हो ।’

प्रवासी परिवेशमा रहेर साहित्यकार राजवले नेपाली साहित्यलाई कसरी नियालिरहेका छन् भन्ने सन्दर्भमा केन्द्रित रहेर अनलाइनखबरकर्मी निर्भीकजंग रायमाझीले उनीसँग कुराकानी गरेका छन् –

तपाईका अधिकांश कथामा  तल्लो तहका सरकारी कर्मचारीको चित्रण, दर्द बढी पाइन्छ किन ?

म यही समाजभित्र हुर्किएको व्यक्ति हुँ । म समाजको संघर्ष र पीडाबाट अछुतो हुने कल्पना पनि गर्न सक्दिनँ । त्यसकारण मेरो लेखनमा आफ्नो समाज भित्रको  उत्पीडन,  प्रताडना , आक्रोश र संघर्ष देखिनु स्वभाविक हो ।

वास्तवमा सुरुदेखि नै मेरो लेखनको संवेदनात्मक स्रोत बिल्कुल ‘सबाल्टर्न  वर्ग’ नै रह्यो । म कुनै अलौकिक सौन्दर्यको व्यसनी हैन । मेरो प्रतिवद्धता भनेको उत्पीडित वर्ग र समाजभित्रको शोषणको हर पीडालाई व्यक्त गर्ने हो, प्रतिकार गर्ने हो । कथामा मात्र हैन, मेरो उपन्यास, नाटक र कविताभित्र पनि तपाईं सबाल्टर्न आवाज नै बढी पाउनुहुन्छ ।

नेपाली समाजको वर्गीय चित्रणमा रमाइरहेको कथाकार अमेरिकी जीवन र त्यहाँको भिन्न परिवेशका कथामा रमाउन थाल्नुभएको हो ? 

अमेरिका आएपछि मेरो लेखनको परिवेश फेरियो । तर, ध्येय फेरिएको छैन । यहाँ पनि मेरो लेखनको विषय उत्पीडित र शोषित जीवन नै हो । अमेरिकी नेपाली जीवन र अमेरिकी जीवनमात्र हैन, बेलाबेला म समानान्तररुपमा  स्वदेशको परिवेशमा पनि लेखिरहन्छु । बेलाबेला प्रकाशित भएका मेरा कथा, उपन्यास, नाटक र कविताहरू पढ्नुभयो भने पाठकले जान्नुहुनेछ ।

जत्तिसुकै टाढा र भिन्न परिवेशमा गए पनि  संवेदनात्मक स्तरमा व्यक्तिलाई आफ्नो देशको सामाजिक, सांस्कृतिक, साहित्यिक र राजनीतिक परिवेशले लखेटिरहेको हुन्छ । त्यस किसिमको मानसिक द्वन्द्वबाट निजात पाउन ती कुराहरू लेख्न जरुरी हुन्छ र, म लेख्छु ।

अमेरिका बस्न थाल्नुभएको डेढदशक भयो । तपाईंलाई दिवंगत लेखक गोविन्द वर्तमानले भनेझैं देश छाडेकोमा ‘आत्मीय फाँसी’ दिनुपर्ने कुरा सत्य बन्दै गएको त होइन ?

अहिलेसम्म मेरो बसाई थोर बहुत रुपमा दुबैतिर (अमेरिका र नेपाल) भइरहेको छ । आउने–फर्कने गरिरहेको छु ।  कहिले उता धेरै, कहिले यता धेरै बस्छु । कुनै एक चटक्क छोडेको छैन ।

तपाईंको आशय अमेरिका चटक्क छाडेको भनेर यसको लागि तपाईं मलाई आत्मीय फाँसी दिन चाहनुहुन्छ भने पनि दिनुस् म तयार छु । आखिर जुन रुपमा दिए पनि फाँसी त फाँसी नै हो । एउटाले सम्बन्ध अर्कोले जीवन लान्छ । जीवनको लागि सम्बन्ध जरुरी छ  र सम्बन्धका लागि जीवन । कवि जीवनवादी हुनुपर्छ, फाँसीवादी हैन । यो फासिस्टहरूको खेमाको शब्द हो । उनीहरूलाई नै फिर्ता दिनुस् ।

अमेरिका बसाइको अवधिमा तपाईंका कृति बढी नै बाहिर आए । नेपालमा बस्दाभन्दा बढी सृजनशील हुन पाउनुभएको हो अमेरिकामा ?

नेपाल हुँदा धेरै कुरामा व्यस्त भइन्थ्यो । तैपनि लेख्नलाई हरेक दिनको कुनै न कुनै समय निकाल्थें । नेपालमा धेरै कुरा पन्छाएर, असामाजिक भएर  लेखनको लागि  समय दिनुपर्थ्यो । अझ निद्राको समय पनि चोर्नुपथ्र्यो । यहाँ अमेरिकामा समयको चोरी, चकारी गर्नुपर्दैन । कामबाहेक अन्य कुरामा उस्तो व्यस्त हुनुपर्दैन । चाहेको समय लेख्न, पढ्नमा लगाउन सकिन्छ ।

नेपालका साथीहरू र विशेष ‘ग्यांग अफ फोर’ (नारायण ढकाल, विमल निभा, श्यामल, राजव) साथीहरूलाई कति मिस गर्नुहुन्छ ?

धेरै मिस गर्छु । मेरा लागि अमेरिकी बसाइमा खट्किने कुरा यही हो । तर, यो ‘ग्यांग’ भन्ने शब्द मित्रताको शानदार र उदार सम्बन्धको लागि उपयुक्त छैन ।

लेखकीय जीवनमा आफ्ना साथीहरूको उपस्थिति र संगतिलाई सकारात्मक पाउनुहुन्छ !

विल्कुल । अझ ह्विस्कीप्रेमी साथी भेटियो भने थप सकारात्मक हुन्छ ।

राजवको नेपाल आगमन अब कहिलेबाट पातलिँदै गएर बन्द हुन्छ ?

म भविष्यवक्ता हैन, तथापि भनूँ– पातलिने नै मोटाउने सम्भावना धेरै छ ।

नेपालमा साहित्यिक गतिविधिचाहिँ उल्लेख्य बनेको तर लेखनको गुणवत्ता खस्किएको हो ? पहिलेको तुलनामा तपाई स्वयमको लेखनी पनि खस्किएको भन्ने लाग्दैन ?

स्तरहीन लेखन पहिले पनि थियो, अहिले पनि छ । पहिले त्यसको अनुपात कम थियो । अहिले ज्यादै छ । संख्याको हिसाबले पहिले लेख्ने कम थिए । पत्रपत्रिका र प्रकाशन संस्थाहरू नगण्य थिए । शिक्षाको वृत्त र अवसर कम थियो । यसको असर लेखन र पठन–पाठनमा पनि थियो । अहिले शिक्षादेखि प्रकाशन र त्यसका माध्यमहरू अत्यन्त सुलभ छन् । अब प्रकाशन कागजमा मात्र हैन, काँचमा पनि हुन्छ । लेख्यो तुरुन्त प्रकाशन गर्न पाइने सामाजिक संजालजस्ता चुनौतिपूर्ण माध्यम छन् ।

‘टेक्नोलोजी’ले प्रदान गर्ने जत्ति सुलभ माध्यमहरू छन् त्यत्तिकै स्तरहीन प्रकाशन पनि छन् । हल्का, सस्तो र प्यारोडी डिजाइनका लेखन धेरै छन् । यस्तो लेखन पहिले पनि थियो, अहिले पनि छ । यस्तो लेखन बिकाउ खोज्ने प्रकाशक र हल्का मनोञ्ंजनप्रेमी पाठकलाई मनपर्छ । प्रकाशकहरू पनि आफ्नै स्तरको हल्का लेखनको बढावा गर्छन् । सस्तो बिकाउ लेखन र गम्भीर साहित्य लेखनको ‘डिमार्केसन’ पहिले पनि थियो, अहिले पनि छ । त्यसकारण डिमार्केसन राखेर हेरियो भने वास्तविक साहित्यको गति खस्किएको देखिँदैन ।

तपाईंबाट पनि  ‘हामीले केही लेख्न सकेका छैनौं, वाइयात लेखिरहेका छौं’ भन्ने जवाफ दोहोरिने त होइन !

‘वाहियात’ लेखिरहेका छौं किन भन्ने ? वाहियात लेख्नुहुन्छ भने तपाईं प्रकाशन किन गर्नुहुन्छ ! यो त असल लेख्नेहरूप्रति ईर्ष्या–भावले बोल्नेको कुरा हो । यस्तो कुरामा सही थाप्ने काम वेबकुफहरू मात्र गर्छन् । लेखकको काम अरुको स्तरको ठेक्का लिने हैन ।

आफू वाहियात लेखिरहने, त्यो वाहियात छपाइ पनि रहने अनि सारा लेखकलाई मुछेर सर्वनाम जोड्दै वाहियात लेखिरहेका छौं पनि भन्ने ? अरु पनि वाहियात लेखिरहेका छन् र म पनि वाहियात लेखिरहेको छु भन्नेजस्तो वाहियात र बेइमानी कुरो के होला ? मझैं सब वाहियात लेखिरहेका छन् भनेर आत्मतुष्ट हुने कमजोर प्रवृत्ति हो । इमान्दार लेखकको बोली यस्तो हास्यास्पद हुँदैन । अरुको असल र स्तरीय लेखनलाई तपाईं आफ्नो वाहियात लेखन लादेर वाहियात लेखिरहेका छौं भन्न पाउनुहुन्न ।  वाहियातको छिनोफानो पाठकहरूले गर्ने हो ।

नेपालमा हुँदा गम्भीर लेखनमा प्रतिवद्ध लेखकहरूले प्रवास पुग्नेबित्तिकै मनपरी लेख्ने, सृजनात्मक विशिष्टता भुलेर मनमौजी लेखकीय प्रयोग गर्ने कुरा सत्य हो ?

गम्भीर लेखन बुझेको जिम्मेवार लेखकले जहाँ पुगे पनि गम्भीर लेखन नै गर्छ । यसलाई उल्टाएर हेर्नुभयो भने तपाईंले जान्न खोजेको अर्को पाटोको पनि उत्तर देख्नु, भेट्नु हुनेछ ।

तपाईंको आगामी लेखन आख्यान, निबन्ध, कविता केमा विधामा केन्द्रित रहन्छ ?

अहिले म आख्यान (कथा र उपन्यास) अनि कविता नै लेखिरहेको छु । मेरो लेखनको भविष्य यिनै विधा हुन् । पोहोर भदौदेखि एउटा उपन्यास लेख्न थालेको भर्खरै पूरा गरें । यसको पहिलो च्याप्टर ‘त्यसपछि उसले काफ्कालाई भन्यो’ भन्ने शीर्षकमा केही समयअघि प्रकाशित गरेको थिएँ ।

तीन वर्षअगाडि एउटा लघु–उपन्यास लेखेको थिएँ । त्यो पनि परिमार्जन गर्नुछ । त्यसपछि यसतिर लाग्छु । भर्खर कोभिड–१९ बारे लामो कथा पुरा गरें । कोभिडबारे केही कथा लेखेको छु । यसको छुट्टै संग्रह निकाल्ने सोचमा छु । ‘नक्षत्रमा समुद्र’ नामको कवितासंग्रहको पाण्डुलिपि तयार गरेको छु । साहित्यिक सपनाका केही अरू योजनाहरू छन्, हेरौं कत्तिको पूरा गर्न सक्छु ।

जीवनकै पहिलो कथा लेख्दाको ऊर्जा कस्तो थियो ?

मेरो पहिलो कथा ‘एक गुन्द्रुकको आत्मकथा’ हो । नौ कक्षामा पढ्दा स्कुलको एक साहित्यिक प्रतियोगिताको लागि लेखेको थिएँ यो । यसलाई  मेरो पहिलो रचनाभन्दा, मान्दा हुन्छ । प्रकाशनको दृष्टिमा पहिलो प्रकाशित कथा ‘रोलर’ हो । यो कथा त्यसबेलाको चर्चित साहित्यिक पत्रिका ‘विदेह’को  २०३२ साल असोजको कथा विशेषांकमा प्रकाशित भएको थियो । यो कथा अत्यन्त प्रसंशित र चर्चित भएको थियो । मेरो कथा लेखनको प्रेरणा मार्ग हो ‘रोलर ।’

कविता विधामा चाहिँ तपाईले धीमा गति लिएको देखिन्छ नि ?     

कविता पनि म आख्यानकै समानान्तर लेखिरहेको हुन्छु । अझ कथाभन्दा कविता बढी लेखिरहेको छु । र, तिनलाई प्रकाशनमा पठाइरहन्छु । मजत्ति आख्यानप्रेमी हुँ त्यत्ति नै कविताप्रेमी पनि हुँ । कविताको माइलेजप्रति म धेरै आकर्षित छु । यसको ‘मारक’ क्षमता धेरै हुन्छ । वास्तवमा कविता साहित्यको अत्यन्त कलात्मक क्षेप्यास्त्र हो ।

तपाईंको ‘आमा हुँदा’ भन्ने कविता लेख्दाको पृष्ठभूमि बताइदिनुस् न !

मैले यो कविता मेरी आमा बित्नुभएपछि लेखेको हुँ । उहाँ बित्दा म घरमा थिइनँ । उहाँको अन्तिम बिदाइमा म उपस्थित हुन पाएको थिइनँ । आमाको दाहसंस्कार सम्पन्न भएको केही घन्टापछि मात्र म घर पुगेको थिएँ । यो कारणले म महिनौं अत्यन्त चिमोटिइरहेको थिएँ । मेरो मन विह्वल भैरहन्थ्यो । यस्तै तरल मनस्थितिमा एक बिहान मैले यो कविता लेखें ।

यस कवितामा मेरी आमाको मात्र हैन मेरी आमाजस्ती अरू असंख्य आमाको ‘इमेज’ मिस्सिएको छ । तर, कविता लेख्न सुरु गर्दा मूलमा मेरो आँखामा मेरी आमाका दैनिकी, बिम्ब, उपमा, प्रतीक, चित्र र उदाहरण बनेर नाचिरहेका थिए । र, म कलात्मक स्पर्शका साथ कविताको संवेदनात्मक स्वरूपमा तिनलाई लेख्दै थिएँ । कविता लेखिसकेपछि फेरि मैले यसलाई कुनै संसोधन, पुनर्लेखन गर्नुपरेन । २०५७  सालको ‘हिमाल’ पाक्षिकमा छापिएको थियो यो । ‘आमा हुँदा जीवन जोखिममा थिएन’ भन्ने अन्तिम लाइन भएको यो कविता मेरो सर्वाधिक पढिएको र उल्लेख गरिएको रचनामा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment