
७ मंसिर, काठमाडौं । अमेरिकाको पेन्सिल्भानियाको अदालतले राष्ट्रपति निर्वाचनमा धाँधली भएको आरोपसहितको मुद्दा खारेज गरेको छ ।
न्यायाधीश म्याथ्यु ब्रानले ट्रम्पको निर्वाचन अभियान टोलीले दायर गरेको अवैध भोट गणना गरेको भन्ने आरोपसहितको मुद्दा अयोग्य र यसमा लगाइएको आरोपहरु काल्पनिक रहेको भन्दै खारेज गरिदिएका हुन् । यससँगै पेन्सिल्भानियाको सरकारलाई जो बाइडनलाई विजयी घोषणा गर्न बाटो खुलेको छ । यो राज्यमा बाइडन ट्रम्पभन्दा ८० हजार भोटले अगाडि छन् ।
गत नोभेम्बर ३ मा भएको निर्वाचनको नतिजा उल्ट्याउने प्रयास गरिरहेका ट्रम्पका लागि यो अर्को झड्का हो । उनले उक्त निर्वाचनमा धाँधली बताउँदै आफूले निर्वाचन जितेको दाबी गर्दै आएका छन् । यद्यपि उनले निर्वाचनमा धाँधलीको कुनै प्रमाण भने दिन सकेका छैनन् ।
पेन्सिल्भानियाको अदालतले आफ्नोविरुद्धमा फैसला सुनाएसँगै ट्रम्पको निर्वाचन अभियान टोलीले फैसलाविरुद्ध कानुनी अपिल गर्ने बताएका छन् । यसअघि जर्जियामा पनि ट्रम्पको मागअनुसार पुनः मतगणना गरिएको थियो । तर, पुनः मतगणना गर्दा पनि बाइडन नै विजयी भएका थिए । त्यस्तै मिशिगनले पनि मतगणना रोक्ने माग अस्वीकार गरेको थियो ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4