
२४ पुस, काठमाडौं । बितेको केही हप्ता काठमाडौंको संकटा बजार क्षेत्रमा राखिएको इन्द्रेणी छाता भाइरल भयो । भिड थाम्न नसकेर गत आइतबार जिल्ला प्रशासन कार्यालयले छाता हटाइदिँदासम्म टिकटक बनाउने र फोटो/सेल्फी खिच्ने थुप्रैको रहर मेटिसकेको थिएन । तर, अब काठमाडौंका विभिन्न रेस्टुरेन्टहरुले त्यसैलाई अवसरका रुपमा सदुपयोग गर्न थालेका छन् ।
आफूसँग उपलब्ध खाली क्षेत्रमा छाता राखेर धेरै रेष्टुरेन्टले ग्राहक तान्ने प्रयास सुरु गरेका छन् । यसले ग्राहक संख्या बढेको अनुभव ती रेस्टुरेन्टहरुको छ ।
रेस्टुरेन्ट सञ्चालकहरुका अनुसार अहिले टिकटक बनाउन र फोटो खिच्नकै कै लागि भएपनि क्याफे छिर्नेहरु थुप्रै छन् । विशेषगरी युवापुस्ताले यस्ता रेस्टुरेन्टमा पुगेर खाना/खाजाको स्वादसँगै छाताको आडमा फोटो भिडियो बनाइरहेका छन् ।
रेस्टुरेन्ट सञ्चालकहरु युवा पछ्याएको ट्रेन्डलाई सहयोग पुग्ने र आफ्नो पनि ब्यापार बढ्ने उपायकाका रुपमा यसलाई उपयोग गरेको बताउँछन् । कतिपय छाता राखिएका रेस्टुरेन्टमा त दिउँसो र बेलुकीको खाली टेबल नै भेटन मुस्किल पर्न थालेको छ । काठमाडौंमा मात्रै हैन, काठमाडौं बाहिरका विभिन्न रेस्टुरेन्टले पनि यस्तो प्रयोग थालेका छन् ।
रिमझिममा छाता रमझम
मिनभवनको सिभिल अस्पताल नजिकै रहेको हिमालय रिमठिम क्याफेले सन् २०२१को ‘न्यु इयर इभ’मा नै छाताहरु राख्यो । ग्राहक तान्न के गर्ने भनेर पिरोलिएको रेष्टुरेन्टले बौद्ध धर्मको ध्वजापतका मात्रै राख्ने निर्णय लिएको थियो ।
तर, एकाएक ‘अम्ब्रेला स्ट्रिट’ भाइरल भएपछि रेस्टुरेन्टले पनि आफ्नो खाली ठाउँमा त्यसैलाई पछ्याउँदै छाता राख्ने निर्णय लियो ।
फहराइरहेका बौद्ध ध्वजासँगै रंगीबिरंगी छाताहरुले रिमझिम क्याफेमा ग्राहक तानिरहेका छन् ।
क्याफेको सजावटमा नयाँ ‘फ्लबेर’ दिन जापान र चीनमा प्रचलनमा रहेको छातालाई प्रयोगमा ल्याएको बताउँछन् व्यवस्थापक शरद स्याङ्दन । ‘हामीले छाताका माध्यमबाट क्याफेलाई नयाँ ढंगले सजाएका हौं,’ उनले भने,’ यसलाई ग्राहकहरुले पनि निकै रुचाउनुभएको छ ।’ उनका आनुसार इन्टेरियर डेकोरेसन गर्ने कम्पनीलाई नै जिम्मा दिएर छाता राखिएको हो ।
‘छाता राखेपछि ग्राहक बढेका छन्,’ स्याङ्दन भन्छन्,’ वृद्ध उमेरदेखि किशोर र बालअवस्थासम्मका ग्राहकले यो सजावट रुचाएका छन् ।’
फर्च्युनमा बढे ग्राहक
काठमाडौंमा छाता राख्ने अर्को रेस्टुरेन्ट हो पुतलीसडकबाट डिल्लीबारतर्फ जाने चोक नजिकै रहेको ‘फर्च्युन रेस्ट्रो एन्ड क्याफे’ । यो क्याफेले पनि छाता राखेको १० दिन मात्रै भयो ।
क्याफेकी सञ्चालक गोमा तामाङका अनुसार छाता राखेपछि ग्राहक ह्वात्तै बढेका छन् । उनका अनुसार केही हप्ताअघि मात्रै स्वामित्व हस्तान्तरण भएपछि नयाँ सञ्चालकले क्याफेलाई नयाँ स्वरुपमा लैजान छाताको प्रयोग गरेका हुन् ।
७० वटा छाता राखेर क्याफेको खाली भागलाई सजाइएको छ । ‘छाता राखेपछि सेल्फी र टिकटक खिच्नेहरु बढेका छन्,’ उनी भन्छिन्,’पारिवारिक वातावरणसहितको सेवाले त ग्राहक तानिहाल्छ नै, छाताले पनि ब्यापार बढाउन मद्धत गर्यो ।’
महामारीको मार घटाउन छाता सहयोगी
सोह्रखुट्टेको मौलिक किचन पनि संकटामा राखिए जस्तै रंगका छाताहरुले सजिएको छ । सञ्चालनमा आएको केही समयपछि नै यो रेस्टुरेन्ट लकडाउनका कारण थलिन पुगेको थियो ।
ब्यापरलाई बढाउन नयाँ आइडिया सोच्दै गर्दा भाइरल भएको छातालाई सञ्चालक सुशील भण्डारीले रेस्टुरेन्टमा प्रयोग गरी हेरे । यसैहप्ताबाट छाता राखेका उनले ग्राहक बढेको अनुभव गरेका छन् । उनले करिब २५ हजार खर्चिएर छाता राखेका हुन् ।
‘यहाँ टिकटक वा सेल्फी खिच्न आएकाले पनि कम्तिमा एक कप कफी खानुहुन्छ,’ उनी भन्छन्,’ब्यापारलाई माथि उकास्न यसले सघाउँछ जस्तै लागेको छ ।’
उनले छाता राखेपछि रेस्टुरेन्ट क्षेत्रमा बाहरिबाट आउने धुलो पनि कम भएको र सुन्दर पनि देखिएकाले यसले राम्रै नतिजा दखिएको बताए ।
‘हामीले खासै प्रचार गरेका छौनौं,’ उनले भने ‘तर पनि ग्राहकहरु आउने क्रम बढ्दा उत्साहित नै छौं ।’
भूकम्पपछि ठमेलमा रेस्टुरेन्टमा काम गुमाएपछि दुबई जाने चक्करमा रुमल्लिएका भण्डारीले दाजु भाइ मिलेर गत वर्षबाट मात्रै यो रेस्टुरेन्टको सुरुआत गरेका थिए । कोरोनाले प्रभावित गरेको ब्यापरलाई अब छाताले फर्काउने उनको अपेक्षा छ ।
प्रतिक्रिया 4