Comments Add Comment

स्रष्टाहरुले गरे आन्दोलनको घोषणा

फाइल तस्वीर

२१ माघ, काठमाडौं । साहित्यकार, कलाकार तथा संस्कृतिकर्मीहरूले संसद विघटनको विरोधमा ‘स्रष्टान्दोलन–२०७७’ घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन लगायतका कदमहरूलाई ‘प्रतिगमनकारी कदम’ भन्दै ८५ जना स्रष्टाहरूले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।

माघ १७ गतेको स्रष्टा भेलाले ‘स्रष्टान्दोलन–२०७७’ का कार्यक्रम तथा नीतिहरू तय गर्न संयोजन र सचिवालय टिम गठन भइसकेको जनाइएको छ । दुवै टिमले छिटै आन्दोलनका कार्यक्रमहरू तय गर्ने स्रष्टाहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

‘आजको राजनीतिक प्रतिगमन एवम् राज्यको बढ्दो निरंकुश व्यवहारले सम्पूर्ण स्रष्टाहरूलाई फेरि एकपटक अग्रगमनका लागि साझा र संयुक्त आन्दोलनमा एकताबद्ध हुन उत्प्रेरित गरेको छ,’ वक्तव्यमा भनिएको छ, ‘विद्यमान सामाजिक संरचना, राजनीतिक प्रणाली र सत्ता–अभ्यासका कारण उत्पन्न सङ्कटहरूको अग्रगामी समाधान खोज्नुको सट्टा नागरिकको बोल्ने, विरोध गर्ने र भेला हुने स्वतन्त्रतामाथि नै हस्तक्षेप गर्ने सरकारी रवैया निन्दनीय छ ।’

स्रष्टाहरूले माघ १२ गते नागरिक आन्दोलनले गरेको शान्तिपूर्ण बालुवाटार मार्चमा सरकारद्वारा भएको भौतिक दमनको भर्त्सना गरेका छन् । नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रता, भेला हुने र विरोध गर्ने अधिकार कुन्ठित गर्दैमा निरंकुशता र तानाशाही शासन टिक्न नसक्ने वक्तव्यमा उल्लेख छ ।

वक्तव्य जारी गर्ने अग्रणी स्रष्टाहरूमा साहित्यकार निनु चापागाईं, नारायण ढकाल, विमल निभा, श्रवण मुकारूङ, इस्माली, भूपाल राई, राजन मुकारूङ, धनकुमारी सुनार, मातृका पोखरेल, विनोदविक्रम केसी, राजु स्याङ्तान, स्वप्निल स्मृतिलगायत रहेका छन् । त्यस्तै रङ्गकर्मी र सङ्गीतकर्मीमा अनुप बराल, दयाहाङ राई, दिया मास्के, सिर्जना सुब्बा, आकांक्षा कार्की, केदार श्रेष्ठ, घिमिरे युवराज, नाजिर हुसेन, बुद्धि तामाङ, झुमा लिम्बू, अन्जान बाबु शर्मालगायत रहेका छन् ।

स्रष्टाहरूको प्रथम भेलाले जारी गरेको यो वक्तव्यसँगै अन्य नियमित भेला गरिरहेको स्रष्टाहरूको तर्फबाट कवि संगीतस्रोताले अनलाइनखबरलाई बताए । उनले भने, ‘आन्दोलनमा थप स्रष्टाहरू जोडिने क्रम बढेको छ । जसले भिन्न राजनीतिक विचार भएका सर्जकहरूलाई पनि एकठाउँमा जोडेको छ ।’

वक्तव्यको पूर्ण पाठः

नेपालको राजनीतिक परिर्वतन तथा सामाजिक–सांस्कृतिक रूपान्तरणको आन्दोलनमा कला, साहित्य र संस्कृतिका क्षेत्रमा क्रियाशील स्रष्टाहरूले सिर्जना र सङ्घर्षमार्फत् निरन्तर भूमिका निर्वाह गर्दै आएको विदितै छ । राणाकाल, पञ्चायतकाल र निरङ्कुश राजतन्त्रकालमा परिवर्तनकामी स्रष्टाहरूले सिर्जना र कर्मका माध्यमबाट जनचेतना, जनजागरण र जनसङ्घर्षमा समेत प्रत्यक्ष सहभागिता जनाउँदै आएका हुन् । अभिव्यक्ति स्वतन्त्रता, सामाजिक रूपान्तरण र नागरिक हक–अधिकारको स्थापनाका लागि स्रष्टाहरू बेग्लाबेग्लै वैचारिक धारामा रहेर र आवश्यक पर्दा संयुक्त रूपमा सडक–सङ्घर्षमा ओर्लेर पनि आन्दोलित भएको गौरवपूर्ण इतिहास हाम्रासामु साक्षी नै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते चालेको असंवैधानिक र प्रतिगमनकारी कदमपछि मुलुक थप राजनीतिक सङ्कट र थप पश्चगमनको सिकार भएको छ । पटक–पटकका जनसङ्घर्ष तथा जनआन्दोलन २०६२्०६३ का कतिपय उपलब्धिहरूसमेत खोस्न, सङ्कुचित पार्न र मुलुकलाई अझै निरङ्कुशतातिर लैजान चालिएको संसद् विघटन गर्ने प्रतिगमनकारी कदमको हामी घोर भत्र्सना गर्दछौं । आजको राजनीतिक प्रतिगमन एवम् राज्यको बढ्दो निरङ्कुश व्यवहारले सम्पूर्ण स्रष्टाहरूलाई फेरि एकपटक अग्रगमनका लागि साझा र संयुक्त आन्दोलनमा एकताबद्ध हुन उत्प्रेरित गरेको छ ।

विद्यमान सामाजिक संरचना, राजनीतिक प्रणाली र सत्ता–अभ्यासका कारण उत्पन्न सङ्कटहरूको अग्रगामी समाधान खोज्नुको सट्टा नागरिकको बोल्ने, विरोध गर्ने र भेला हुने स्वतन्त्रतामाथि नै हस्तक्षेप गर्ने सरकारी रवैया निन्दनीय छ । यसैबीच गत सोमबार (माघ १२ गते) नागरिक आन्दोलनले गरेको शान्तिपूर्ण बालुवाटार मार्चमा सरकारद्वारा भएको दमनको हामी कडा विरोध तथा भर्त्सना गर्दछौं । नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रता, भेला हुने र विरोध गर्ने अधिकार कुञ्ठित गर्दैमा निरङ्कुशता र तानाशाही शासन टिक्न सक्दैन । नेपाली जनताको सङ्घर्षबाट स्थापित सापेक्षित उपलब्धिहरूको हरण हुन नदिन र सामाजिक न्याय, जनपक्षधरता एवम् सबैखाले विभेदको अन्त्यका लागि अग्रगामी परिवर्तनका नयाँ कार्यसूचीहरू समेत निर्माण गर्न प्रतिगमनविरोधी सम्पूर्ण स्रष्टाहरू संयुक्त आन्दोलनमा सहभागी हुनु आजको आवश्यकता बनेको छ ।

सिर्जनाका आ–आफ्ना माध्यमबाट र प्रत्यक्ष सडकमा उभिएर प्रतिगमनको प्रतिवाद गर्नका लागि हामी सम्पूर्ण लेखक, कवि, कलाकार, रङ्गकर्मी, चलचित्रकर्मी र सबै विधा–क्षेत्रका बौद्धिक–सांस्कृतिक अभियन्ताहरूमा आह्वान गर्दछौं । विद्यमान राजनीतिक परिपाटी एवम् वर्तमान नेतृत्वमा रहेको सत्ता–स्वार्थ, भ्रष्ट–आचरण र अवसरवादका कारण तत्कालै संसद् पुनस्र्थापना भए पनि आजको राजनीतिक सङ्कट समाधान नहुने भएकाले आलोचनात्मक विवेकसहित निरन्तर आन्दोलनको मोर्चामा रहनु स्रष्टा र बौद्धिक–संस्कृतिकर्मीहरूको दायित्व हुनेछ । तसर्थ, सबैखाले प्रतिगमनका विरूद्ध र निरन्तर अग्रगमनका पक्षमा हामी ‘स्रष्टान्दोलन–२०७७’ घोषणा गर्दछौं । स्रष्टान्दोलन–२०७७ का सिर्जनात्मक कार्यक्रमहरू एवम् नीतिहरू तय गर्नका लागि २०७७ माघ १७ गतेको स्रष्टा–भेलाले दुई वटा बेग्लाबेग्लै संयोजन टिम र सचिवालय टिम निर्माण गरेको छ । दुवै टिमले छिटै आन्दोलनका कार्यक्रमहरू तय गर्ने पनि यसै विज्ञप्तिमार्फत् जानकारी गराउँछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment