Comments Add Comment

तस्वीरमा प्रचण्‍ड-माधव समूहको नेपाल बन्द

२२ माघ, काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड माधव समूहले आहृवान गरेको आमहड्तालमा छिटपुटबाहेक अप्रिय घटना भएन ।

बन्द घोषणा गरेको प्रचण्ड-माधव समूहले आन्दोलन सफल भएको बताएको छ । केन्द्रीय सदस्य विष्णु रिजालले भनेका छन्, ‘मुलरुपमा आमहड्ताललाई शालीन र शान्तिपूर्ण बनाएका छौं ।’

प्रहरीले पनि आन्दोलनमा हिंसात्मक गतिविधि नभएकाले सुरक्षा, व्यवस्था कायम गराउन सफल भएको मानेको छ । प्रहरी प्रधान कार्यालयका एक सुरक्षा अधिकृत भन्छन्, ‘जति अनुमान गरेका थियौं, त्यस्तो कुनै अपि्रय घटना हुन पाएन ।’

आमहड्ताल सफल पार्न भन्दै प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपाल आफैं सडकमा उत्रिएका थिए । अन्य नेताहरुलाई पनि विभिन्न स्थानमा आन्दोलन संयोजनको जिम्मेवारी दिइएको थियो ।

सातदोबाटोमा प्रचण्डले सरकारले बलमिच्याइँ गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको बताए । सम्भवतः फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन हुने समेत उनले बताएका छन् ।

अर्का अध्यक्ष माधव नेपालले पनि प्रधानमन्त्री केपी शर्मा ओली संविधान कल्चिएकाले जनतालाई सचेत बनाउन बन्द गर्नुपरेको बताएका छन् । रत्नपार्क क्षेत्रमा आन्दोलनको नेतृत्व गरेका प्रवक्ता नारायणकाजी श्रेष्ठ शान्तिपूर्ण आन्दोलनमा धरपकड गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजेको बताएका थिए ।

प्रचण्ड गाडी चढेर सातदोबाटो पुल्चोक लगायतको क्षेत्रमा प्रदर्शनकारीको मनोबल बढाउन गएका थिए भने माधव नेपाल स्कुटर चढेर विभिन्न ठाउँ पुगेका थिए । प्रदर्शनकारीहरुले काटेश्वरमा सडकमै खाना पकाएर खाएका थिए ।

के-के भए घटना ?

आमहड्तालमा हिंसात्मक गतिविधि हुनसक्ने आँकलन गर्दै गृहप्रशासनले बिहीबार बिहान २ बजेबाटै सादा पोशाकमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो । ब्याकफोर्समा सशस्त्र प्रहरी बल पनि खटाइएको थियो ।

तर छिटपुटबाहेक अपि्रय घटना हुन पाएन । गृह मन्त्रालयको विश्लेषण अनुसार बिहीबारको सबैभन्दा ठूलो झडप धनुषामा भएको छ । नेता, कार्यकर्ताले जनकपुरको शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा प्रहरीले अवरोध गरेको थियो । त्यसक्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भयो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज र हवाई फायर नै गर्‍यो । त्यसक्रममा पूर्वसांसद रामचन्द्र झासहितका नेता, कार्यकर्ता घाइते भए । उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार जारी छ ।

बिहीबार बिहानै सामाखुशीमा प्रदेश ३-०१ ००२ ज ५८८१ मा ट्याक्सी आगजनी भएको घटनालाई गृहले गम्भिरताका साथ हेर्न भनेको छ । काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार आगजनीमा संलग्न दुई जनाको खोजी भइरहेको छ । ट्याक्सी चालक कुम्भनारायण श्रेष्ठका अनुसार चाबहिलका लागि भनेर चढेका व्यक्तिले नै ट्याक्सीमा आगो लगाएका थिए ।

मोरङमा बन्दको उल्लंघन गरेको भन्दै चिया पसलमा तोडफोड भएको छ । बन्दको बेला चिया पसल खोलेको भन्दै उनीहरुले विराटनगर महानगरपालिका-२ स्थित चिया पसल दिउँसो साढे १२ बजे तोडफोड गरेका हुन् । तोडफोडका क्रममा समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल कराही घोप्टिँदा तातो तेलको छिट्टाले पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वषर्ीया बसन्ती सहनी र उनकी छोरी २२ वषर्ीया बबिता सहनी सामान्य घाइते भएका थिए । बबिता ६ महिनाकी सुत्केरी हुन् ।

पूर्वमन्त्री शिवकुमार मण्डल नेतृत्वको समूहले उक्त चिया पसल तोडफोड गरेको थियो । भीड उत्तेजित भएर तोडफोडमा उत्रन थालेपछि उनले छुट्याउने प्रयास गरेका थिए ।

१८८ जना पक्राउ, अधिकांश छुट्ने

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार बन्दमा अवरोध गरेको आरोपमा १८८ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ४० जना छुटिसकेको कुँवरले बताए । थपलाई पनि स्क्रीनिङ गरेर छाडिने उनले बताए । कुँवरले भने, ‘कुनै तोडफोड वा हिंसात्मक गतिविधिमा संलग्न नभएका जति सबै छुट्छन् ।’

प्रहरीले बिहानै कलंकीबाट स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य तथा संघर्ष समितिका सचिव डा. विजय पौडेल, केन्द्रीय कमिटी सदस्य हितमान शाक्य, अखिल नेपाल महिला संघकी अध्यक्ष अमृता थापा लगायतलाई पक्राउ गरेको थियो ।

चाबहिलबाट केन्द्रीय कमिटी सदस्य कृष्ण केसीसहितका नेताहरु पक्राउ परे, बागबजारबाट युवा नेता रमेश मल्ल पक्राउ परे । उपत्यकाका विभिन्न ठाउँबाट समातिएका मध्ये अधिकांशलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा राखिएको थियो ।

तनहुँमा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, अतिन्द्रकेशरी न्यौपाने, ओमराज आलेसहित १६ जना पक्राउ परे । वीरगञ्जमा रामबाबु बैठा, रहबर अन्सारी, मनोज चौधरी, प्रभाकर गुप्तासहित ३५ जना नेता, कार्यकर्ता पक्राउ गरे । सिराहामा विवेक परियार, बिराट मण्डललगायत समातिएको नेकपा प्रचण्ड-माधव समूहले जनाएको छ ।

बारामा मुकेश शाह, जवाहिर अन्सारी, हरिओम शाहसहित ६ जना, बिराटनगरमा पारुल क्षेत्रीसहित ७ जना पक्राउ परेका छन् भने धरानमा ३ जना पक्राउ परेका छन् । कास्कीमा एक जना पक्राउ परेको भनिएको छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment