Comments Add Comment

भोलि तीन लाख मानिस उतार्ने योजना छ : महेश बस्नेत

२२ माघ, काठमाडौं । संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सत्तारुढ नेकपा ओली समूहले मध्यावधि चुनाव तोकिएकै मितिमा हुने उद्घोषसहित देशभर प्रदर्शनहरु गरिरहेको छ । राजधानी बाहिर विभिन्न जिल्लामा सभा गरिसकेको यो समूहले राजधानी उपत्यकामा शुक्रबार सभा राखेको छ ।

गत माघ ९ मा नेकपा प्रचण्ड-माधव समूहले बृहत सभा गरेपछि त्यसको काउण्टरमा हुन लागेको सभामा दुई देखि तीन लाख मानिस सहभागी हुने सो समूहका नेताहरुको दाबी छ ।

नारायणहिटी दरबार संग्रहालयमा अगाडि हुने सभामा मार्फत् मूलतः तीन सन्देश दिइने यो समूहका नेता महेश बस्नेत बताउँछन् । उनी भन्छन्, ‘विभाजित नेकपामा ग्राउण्ड तहका  ९० प्रतिशत जनता केपी ओलीसँग छन् । जनता ताजा जनादेशको पक्षमा छन् । र, केपी ओलीको विकल्पमा प्रचण्ड वा माधव नेपालमात्र होइन, कांग्रेस पनि होइन भन्ने सन्देश दिने उद्देश्य हो ।’

प्रस्तुत छ,सभाको तयारीबारे बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंश :

भोलिको सभा कसरी हुन्छ, के छ प्रबन्ध ?

भोलि १६ स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छौं । अनि, सबै जुलुस दरबारको मुख्य सडकमा मुख्यसभाका दर्शकहरु बस्छन् । केशरमहलदेखि जयनेपाल हलसम्म पनि बस्ने व्यवस्था छ । टी आकारमा भएको सबै सडक हामी कभर गर्छौ । लगभग यो सबै गरेर दुई लाख मानिस अट्छन् भन्ने हाम्रो अनुमान छ । तर, हाम्रो टार्गेट चाहिँ तीन लाख मानिस सहभागी गराउने हो । भोलि धेरै भव्य ढंगले सभा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

माघ ९ मा प्रचण्ड-माधव समूहले गरेको सभापछि प्रधानमन्त्रीले ‘सभा कस्तो हुन्छ भन्ने २३ गते हेर्नुहोस्’ भनेर चुनौती दिनुभएको छ । त्यसका लागि मान्छे चाँहि कहाँबाट कसरी आउँछन् ?

बागमती प्रदेशका जिल्लाहरुबाट प्रतिनिधिमुलुक सहभागिता र खासगरी उपत्यकाभित्रैबाट ब्यापक सहभागिता गराउने योजना हो । त्यसो हुँदाहुँदै पनि कतिपय जिल्लाहरुबाट ऐक्यवद्धता जनाउन उपत्यका बाहिरका कमरेडहरु पनि आउने योजना थियो । तर, विभाजित नेकपाका अर्को समूहको आजको आम हडतालले चाहिँ प्रभावित भएको छ । त्यही भएर १३ जिल्लाभन्दा बाहिरका मान्छे आउने अपेक्षा राखेका छैनौं । काठमाडौं उपत्यका र बागमतीका जिल्लाहरुबाट मात्रै फोकस गरेका छौं ।

अर्को समूहले अस्ति माघ ९ मा सभा गर्दा बाहिरी जिल्लाका आन्तरिक पर्यटक धेरै ल्याइयो भनेर आरोप लगाएको पनि सुनियो । अनि, तपाईहरुले उपत्यका बाहिरबाट ल्याइएको मान्छेलाई चाहिँ के भन्ने ?

हामीले त आयोजक नै बागमती प्रदेश भनेका कारणले वागमती प्रदेशभित्रका साथीहरु आउनुहुन्छ । जस्तो- अन्य जिल्लाबाट आएका छन् भने पनि त्यो ऐक्यवद्धता जनाउन स्वतःस्फूर्त खुशियालीमा साना गाडीहरु र केही मोटरसाइकलबाट हुने उपस्थिति मात्रै हो । हाम्रो फोकस फेरि पनि उपत्यका र वरपरका जिल्ला मात्रै हो ।

भनेको, आयोजकको आहृवान उपत्यका र बागमती बाहेकका कार्यकर्तालाई होइन ?

स्वतःस्फूर्त ऐक्यवद्धता जनाउनलाई आउनुहुन्छ ।

प्रधानमन्त्रीले नै जोड दिएर बृहत सभा भन्नु भएपछि यसको उद्देश्यचाहिँ के हो ?

यो सभाको उद्देश्य भनेको प्रधानमन्त्री केपी ओलीले चाल्नुभएको पछिल्लो कदमलाई जनमत, जनसमर्थन छैन भन्नेजस्तो प्रचार गरियो । हामीबाट विभाजित भएको शक्तिले दुई तिहाई हामीसँग छ, केपी ओलीसँग एकतिहाइ पनि पुग्दैन भन्ने ढंगले जुन प्रचार गर्‍यो, वास्तवमा त्यस्तो होइन । साविक नेकपाको ९० प्रतिशत ग्राउण्ड चाहिँ हाम्रो पक्षमा छ भन्ने सन्देश दिन यो सभा गरिन लागेको हो ।

दोस्रो, वैशाख १७ र २७ मा घोषित निर्वाचनको माहोल बनाउन आम जनता निर्वाचनको पक्षमा लागे भन्ने सन्देश दिने हो । र तेस्रो, नेपाली जनताले सामाजिक सदभावको पक्षमा, सामाजिक न्यायको पक्षमा, राष्ट्रियताको पक्षमा, सुखसमृद्धिको पक्षमा, सुखी नेपाल र समृद्ध नेपालको पक्षमा प्रधानमन्त्रीले अगाडि बढाउनुभएको योजनालाई साथ दिएका छन्, अनि केपी ओलीको विकल्पमा प्रचण्ड वा माधव नेपाल मात्रै होइन, कांग्रेस पनि होइन भन्ने सन्देश दिने उद्देश्य हो ।

तर, सरकार चलाइरहेको शक्तिले यस्तो प्रकृतिको सभा गर्नु उचित होइन भन्ने पनि टिप्पणी छ । तपाईले भनेका कुरा पुष्टि गर्न सभाकै खाँचो हो ?

हामीले अभ्यासमा लोकतन्त्र भनेको बहुदलीय व्यवस्था हो । बहुदलीय व्यवस्था भनेको चाहिँ जनताले आफ्नो मत दलहरुलाई दिएर सार्वभौम सत्ताको उपभोग गर्छन् । त्यसो हुँदा सत्तामा रहेका अथवा प्रतिपक्षमा रहेका दुवै दलहरुले निर्वाचनमा भाग लिन्छन् । र, निर्वाचनको माध्यमबाट प्रतिश्पर्धी दललाई हराउँछन् अथवा चुनौती दिन्छन् । त्यसो भएको हुनाले मुलुक निर्वाचनमा गइसकेपछि सम्बन्धित दल सत्तामा भए पनि, नभए पनि जनताको बीचमा जानुपर्छ र निर्वाचनमा सामेल हुनुपर्छ ।

यो सरकारद्वारा आयोजित सभा होइन । योचाहिँ नेपाल कम्युनिष्ट पार्टी -नेकपा) द्वारा आयोजित सभा हो । नेकपा सत्तामा भएका कारणले जुलुस नगर्ने, सभा नगर्ने, कार्यक्रम नगर्ने, जनतामा नजाने र स्वतःस्फूर्त निर्वाचन अर्को पक्षलाई आत्मसमर्पण गर्नु भनेजस्तो कुरा हुन्छ । त्योचाहिँ हामीले बहुदलीय व्यवस्था अवलम्वन गरेको कुरालाई नबुझेको साथीहरुले भनेको कुरा हो । हामी निर्वाचन प्रक्रियामा सशक्त ढंगले जाँदैछौं भन्ने सन्देश हो ।

प्रचण्ड-माधव समूहले गरेको आम हड्तालको जसरी विरोध जनाइएको छ । तर, तपाईहरु तीन लाख मान्छे उतार्ने भनेर उपत्यका अस्तव्यस्त पार्ने योजनामा हुनुहुन्छ । सत्तारुढ शक्तिको चाहिँ यसमा कुनै दायित्व हुन्न ?

बन्द हड्ताल र भोलिको हाम्रो कार्यक्रम फरक कुरा हो । बन्द हड्तालले ब्यापार, व्यावसाय, उद्योग, कलकारखाना सबै बन्द गर्ने र मुलुकमा खरबौंको क्षति हुने स्थिति हो । भोलिको आमसभाले क्षणिक यातायातको आवागमन मात्रै प्रभावित गर्छ । दरबारमार्ग छान्नुका पछाडि पनि केशरमहलदेखि जमलसम्मको रुट खोल्न सकिने र जयनेपाल हलदेखि कमलादी-पुतलीसडकको रुट खोल्न सकिन्छ । यता, रत्नपार्कको राउण्डको एरिया पनि प्रभावित हुँदैन । त्यसैले सभास्थलले यातायात प्रभावित नहोस् भनेर बडो सचेत छौं र एकदम कममात्रै दुःख दिन्छौं हामी ।

तैपनि तपाइँहरुले दाबी गर्नुभएको मानिसको उपस्थिति सानो होइन । यसले सभास्थल मात्रै प्रभावित हुन्छ भन्ने त हुँदैन होला ?

डेढ/दुई घण्टा काठमाडौंको यातायात अवरोध हुन्छ । त्यसका लागि हामी क्षमा याचित हुँदै कम जनतालाई दुख दिने हिसाबले कार्यक्रम गर्छौं ।

सभा जहाँ राख्नुभएको छ, नारायणहिटी अगाडि । त्यो पूर्वराजदरबार पनि हो । यसबारे आशंका पनि गरिएको छ । कुनै सन्देश दिनलाई हो ?

नारायणहिटीतिर हिजो औंला ठड्याएर बोलेर १४ वर्ष केपी ओली र हामी सबैले धेरथोर सिंगो पंक्तिले भोलि कार्यक्रम गर्दैछौं । अब सुरेन्द्र पाण्डे कमरेडले हाम्रो कार्यक्रमको सफलता देखेर यस्तो आरोप लगाउनुभएको छ । तर, हामीले काठमाडौं सबभन्दा कम जनतालाई अवरोध गरेर धेरै मान्छे अटाउने स्थान देखेर त्यहाँ कार्यक्रम राखिएको हो ।

भृकुटीमण्डपमा उहाँहरुले राखेको स्थानचाहिँ हाम्रो लागि धेरै सानो हुन्थ्यो । त्यस कारणले रोजेका हौं । त्यसलाई प्रतिकात्मक ढंगले बुझ्ने हो भने राजतन्त्र र सामन्तवादको अवषेश समाप्त पार्ने उद्घोषका रुपमा बुझ्दा पनि भयो । पूर्ण पुँजीवाद, समाजवाद र अहिले प्रधानमन्त्रीले परिपूरक लोकतन्त्रको कुरा गर्नुभएको छ, त्यसलाई समर्थन गर्न गरेको रुपमा बुझ्दा पनि भयो ।

तर, कृष्णगोपाल श्रेष्ठले माघ २३ गतेको सभामा प्रधानमन्त्रीले अहिलेसम्म भन्दै नभनेको र सुन्दै नसुनेको कुरा भन्दै हुनुहुन्छ भन्नुभएको छ । यसले पनि त्यस्तो आशंकालाई बल पुर्‍याएको छ भन्न सकिँदैन ?

निर्वाचनको तयारीका साथ युद्धको मोर्चामा होमिएको दलको अध्यक्षले तीन लाख काठमाडौं उतारिसकेपछि निश्चितै नयाँ सन्देश दिनु नै हुन्छ । तैपनि हाम्रो प्रधानमन्त्रीले दिनहुँ नयाँ कुरा त दिनुभएकै छ । भोलि थप विशेष कुरा दिनु हुनेछ । त्यो विशेष कुरा भनेको चाहिँ संकीर्णतावादी सोचले सांस्कृतिक राजतन्त्र अथवा के-के भनेर व्याख्या गरेका छन् । त्यस्तो होइन । प्रगतिशील, जनवादी, राष्ट्रवादी र वैज्ञानिक नयाँ कुरा दिनुहुन्छ ।

संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा छ । नेकपाको वैधानिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ । यसलाई असर पार्न पनि तपाईहरु शक्ति प्रदर्शन गर्दै हुनुहुन्छ भन्दा गल्ती हुन्छ ?

निर्वाचन आयोगले कानूनी प्रक्रियालाई आत्मसाथ गरेर विषयवस्तु टुंग्याउँछ । सभाकोे उपस्थिति हेरेर त नटुंग्याउला । हामीले पार्टी एकतापछि बनाएको विधानले दुईवटा अध्यक्षको सहमतिमा महासचिवले बैठक बोलाउने र बैठकका एजेण्डाहरु सहमतिमा टुंग्याउने भन्ने छ, एकताको महाधिवेशनसम्म । त्यो विधानको व्याख्या गरेर दुई अध्यक्ष मध्य पनि प्रथम अध्यक्षले आधिकारिकता पाउने संभावना अधिक हुन्छ । महासचिव पनि भएको र सर्वसम्मत ढंगले अर्को पक्षले निर्णय गर्न नसकेको आदि-इत्यादि कारणले गर्दा हामीले वैधानिकता पाउन सभा नै आवश्यक होइन ।

तर, पनि सभामार्फत् विभाजनको प्रभावचाहिँ जनतामा गएको छैन, कार्यकर्ता पंक्तिमा गएको छैन भन्ने देखाउने मनोवैज्ञानिक कुरा पनि हो ।

प्रधानमन्त्रीसँग जनता छन् भन्ने देखाउन यो सभा अन्तिम हुन्छ कि थप सभाहरू आयोजना गर्नुहुन्छ ?

सभा त देशभर गर्छौं । जस्तो- बुटवलमा फागुन १ गते हुँदैछ । खुलेर सभा गर्नु आवश्यक पनि छ । किनभने, तीन वर्षसम्म पार्टी एकताका नाममा कार्यकारी अधिकार बोकेका कमरेड प्रचण्डले यो पार्टीलाई होल्डमा राखेर कुनै कार्यक्रम नराखी, संगठन नबनाई गुटबन्दी गरेर, आफ्नो पदका लागि आश्वासन बाँडेर बस्नुभयो । त्यसले हाम्रो संगठन फोहोर पोखरीजस्तो भएको थियो । अहिले उहाँहरु यो पार्टी छोडेर गएपछि हाम्रो संगठन स्वच्छ नदी बन्ने अवस्था आएको छ । त्यसो हुनाले कार्यक्रमहरु गर्छौं र आवश्यकताअनुसारका सभाहरु भविश्यमा गर्छौं ।

अर्को समूहले काठमाडौंमा तपाईंहरुको भन्दा ठूलो सभा गर्‍यो भने नि ? फेरि तपाइहरुले अर्को सभा राख्नुहुन्छ ?

अहिले तत्काल उहाँहरुसँग होडबाजी त किन गर्नुपर्‍यो र ! त्यस्तो त हामी गर्दैनौं । अलि पछि चुनावलाई फोकस गरेर अलि भव्य सभा गर्न सक्छौं । अब उहाँहरुलाई काउण्टर त हामीले दिनै पर्दैन नि । जस्तो- बुधवारको मोटरसाइकल र्‍याली उहाँहरुले देशभरको सभा जोड्दा पनि हाम्रो ठूलो भयो । भोलि सभा पनि उहाँहरुले देशभरि गरेको सभाभन्दा धेरै ठूलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment