Comments Add Comment

स्रोत नखुलेको ३ लाख रुपैयाँसहित एकजना महिला पक्राउ

१७ फागुन, सप्तरी । सप्तरीको सीमावर्ती क्षेत्रमा हुण्डी कारोबारमा वृद्धि भएको छ । एक साताभित्रै दुई पटक स्रोत नखुलेको रकमसहित महिलाहरु पक्राउ परेपछि यो क्षेत्रमा हुण्डी कारोबारमा वृद्धि भइरहेको देखिएको हो ।

पछिल्लो पटक सोमबार सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको तीन लाख रुपैयाँसहित एकजना महिलालाई पक्राउ गरेको छ । बीओपी तिलाठीको टोलीले तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित खाँडो खोला नजिकबाट ती महिलालाई उक्त रकमसहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका-१ निवासी ५५ वर्षीया गीता देवी महतो छन् । शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको ३ लाख रुपैयाँ बरामद भएको र बरामद रकमसहित उनलाई भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको श्रेष्ठले बताए ।

यसअघि ११ फागुनमा यही ठाउँबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना महिलालाई पक्राउ गरेको थियो ।

छिन्नमस्ता गाउँपालिका-५ निवासी ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास पक्राउ परेका थिए । उनीहरुको साथबाट स्रोत खुल्न नसकेको रु १० लाख फेला परेपछि दुवैजनालाई रकमसहित भन्सार कार्यालयमा बुझाइसकिएको छ ।

सप्तरीसँग सीमा जोडिएको कुनौली नाका हुँदै यसअघि पनि विभिन्न सामानको तस्करी हुँदै आएकोमा पछिल्लो पटक हुण्डी कारोबार हुने गरेको देखिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment