Comments Add Comment

कलैयाका १२ स्थानमा फ्रि वाइफाइ सेवा

१७ फागुन, वीरगञ्ज । बाराको कलैयालाई फ्रि वाइफाइ क्षेत्र घोषित गरिएको छ । कलैया उपमहानगरपालिकाले वर्ल्ड लिंकसँगको सहकार्यमा कलैयालाई फ्रि वाइफाइ क्षेत्र घोषित गरिएको हो ।

तत्कालका लागि कलैया उपमहानगरपालिका कार्यालय परिसर, भरत चौक, कलैया बजार, जिल्ला प्रशासन कार्यालय बारा, कलैया अस्पताल, जिल्ला अदालत/मालपोत कार्यालय, कलैया बसपार्क, राम जानकी मन्दिर, दुर्गा मन्दिर बरेवा, देवकोटा चौक, दुर्गा स्कुल चोक र मटिअर्वा भन्सार नाका गरी १२ वटा सार्वजनिक स्थानमा फ्रि वाइफाइ सेवा सुरु गरिएको कलैया उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

जडान गरिएका ठाउँमा सेवा प्रभावकारी भएको खण्डमा वडा कार्यालय परिसर तथा अन्य सार्वजनिक स्थानमा सेवा विस्तार गर्दै लैजाने योजना उपमहानगरपालिकाको छ ।

कलैया उपमहानगरपालिकामा सोमबार कलैया फ्रि वाइफाइ जोनको उदघाटन गरिएको छ ।नगर प्रमुख राजेश राय यादवले सेवाको उद्घाटन गरेका हुन् । चुनावी घोषणा पत्रमा गरेको बाचा अनुसार नै कलैया उपमहानगरपालिकालाई फ्रि वाइफाइ जोन बनाइएको उनले बताए ।

‘कलैया बारा जिल्लाको सदरमुकाम हो, कलैयामा जिल्लावासी तथा अन्यत्रबाट आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन्,’ उनले भने, ‘ सूचना प्रविधिको प्रविधिको युगमा इन्टरनेट सेवा सबैलाई आवश्यक भइसकेको छ । सहज सूचना प्राप्तिका लागि समेत फ्रि वाइफाइ सेवा प्रभावकारी हुने विश्वास छ ।’

कलैया उपमहानगरका सूचना प्रविधि अधिकृत सुरेश यादवले इन्टरनेट सेवा हरेक व्यक्तिले प्रतिदिन ९० मिनेट प्रयोग गर्न पाउने जानकारी गराए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले प्रविधिको विश्व दौडमासँगसँगै अघि बढ्न फ्रि वाइफाइ सेवा प्रभावकारी हुने बताएका छन् ।

कार्यक्रममा बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, वडा अध्यक्ष जटाशंकर सहनी, सशस्त्र प्रहरी उपरीक्षक रविन्द्रराज कर्णजीत, प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद प्रसाद वर्णवाल लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment