
१७ फागुन, काठमाडौं । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेस निकट विद्यार्थीहरु पक्राउ परेका छन् ।
नेकपा ओली समूहको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघमा आवद्ध विद्यार्थीहरुले कालो झण्डा देखाउने प्रयास गरेका थिए ।
कालोझण्डा देखाउने क्रममा पोखराको नदीपुरबाट नेवि संघका प्रताव बानिया, अशिम शुवेदी, सन्देश ठकुरी, रमेश चन्द्र जैसी र नसिब गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।
विद्यार्थी नेताहरु पक्राउ परेपछि नेविसंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै त्यसको विरोध जनाएको छ । प्रहरीको नियन्त्रणमा रहेका आफ्ना विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न नेविसंघका अध्यक्ष राजीव ढुंगानाले माग गरेका छन् ।
प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुको सट्टा प्रहरी दमनको भरमा सत्ताको आयु लम्ब्याउन खोजे त्यो दिवा सपना मात्र हुने विज्ञप्तिमार्फत उनले चेतावनी दिएका छन् ।
प्रहरी हिरासतमा रहेका विद्यार्थी नेताहरुलाई तत्काल रिहा नगरे आन्दोलनको आँधीबेहरी सिर्जना गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4