Comments Add Comment

किन अलप भए दीपक लिम्बु ?

नेपाल टेलिभिजनबाट प्रसारण भएको  सांगीतिक रियालिटी शो ‘नेपाली तारा’ एक यस्तो प्लेटर्फम थियो, जहाँ टेकेर कतिपयले फड्को मारे । जस्तो, इन्दिरा जोशी, धमेन्द्र सेवान, रुपक डोटेल, दुर्गा खरेल । यसको अग्रपंक्तिमा थिए, दीपक लिम्बु ।

‘नेपाली तारा’का यी शीर्ष विजेता अहिले भने यो लहरभन्दा पछाडि छन् । अझ भनौं, गुमनाम जस्तै छन् ।

करियरको पूवार्द्धमा उनको चर्चाको ग्राफ यसरी चुलिएको थियो, मानौ यो चमक-दमक दीर्घकालीन हो । रियालिटी शोबाट पाएको नेम र फेमले उनलाई नेपाली सिनेमाको पार्श्व गायनमा गतिलो ढंगले नै स्थापित गरिदियो । ‘मेरो कल्पनामा आज एउटी परी’, ‘ढल्क्यो ढल्क्यो’, ‘यहाँ देशको छ चिन्ता’, ‘मुटु माग्यौ तिमीले’ जस्ता गीतले स्रोतालाई झट्टै स्पर्श गर्‍यो । स्टुडियोदेखि स्टेजसम्ममा दीपक लिम्बुको माग भयो ।

तर, समय सधैं दाहिना नहुने रहेछ । क्रमशः उनको स्वर सुनिन छाड्यो । दृश्यपटलबाट एकाएक उनी अलप भए । ‘दीपक लिम्बु कता हराए ?’ प्रसंगबस् धेरैले सोधे ।

हालैको भेटमा हामीले पनि सोही प्रश्न दोहोर्‍यायौं । त्यसबखत उनको रक्षात्मक जवाफ यस्तो थियो, ‘म हराएको होइन, खोज्नेले नखोजेको हो । खोज्नुहोस् त म भेटिहाल्छु नि । तपाईंले खोज्नुभयो, भेटिएँ ।’

उनी त यो प्रश्नप्रति नै गुनासो गर्छन् । भन्छन्, ‘बजारमा नखोज्ने तर हरायो भन्ने परिपाटी छ । बरु मेरो गीत पहिलेजस्तो नआएका होलान् । पहिलेजस्तो नचलेका होलान् । तर म आज पनि सांगीतिक क्षेत्रमै व्यस्त छु ।’

हिजोका दिनमा जस्तो आज छैन । गीत गाउने मेलोमेसो हिजो जसरी मिलिरहेको छैन । रेकर्ड गराएको गीत हिजोको जसरी रुचाइदिएका छैनन् । यो कुरा भने उनी स्वीकार्छन् ।

उनको प्रष्टोक्ति छ, ‘पहिलेको तुलनामा गीतहरु कम आएको हुनाले सुस्ताएको चाहिँ हो ।’

उनी हिजोआज गीत चर्चामा आउन टे्रन्डिङमै आउनुपरेका कारण कतिपयले हराएको भन्ने गरेको गुनासो गर्छन् । भन्छन्, ‘अहिलेको समय यस्तो छ कि चर्चामा आउन गीत युट्युब ट्रेन्डिङमा आउनुपर्यो । हिजोआज मेरा गीतहरु ट्रेन्डिङमा नआएका कारण दर्शक/स्रोता तथा शुभचिन्तकलाई हराएको लागेको हुनसक्छ ।’

उनी उतार-चढाव हरेकको जीवनमा आउने बताउँदै निरन्तरता ठूलो कुरा भएको बताउँछन् । ‘सधैं एकैनास त कहाँ हुन्छ र ! निरन्तरता ठूलो कुरा हो । म विगत १५ वर्षदेखि निरन्तर सांगीतिक क्षेत्रमै छु । अहिले पनि गीतहरु रेकर्ड गराएकै छु । व्यस्त पनि छु ।’

किन सुस्ताए ?

त्यसो भए दीपकको चम्किलो सांगीतिक करिअर किन सुस्तायो ? जवाफमा दीपक यसरी बेलिबिस्तार लगाउँछन्, ‘त्यो समयमा चलचित्रमा पाँच/छ वटासम्म गीतहरु हुन्थ्यो । कतिपय चलचित्रका सबै गीतहरु मैले गाउने अवसर पाउँथे । बिस्तारै चलचित्रको ट्रेन्ड चेन्ज हुँदै गयो । चलचित्रमा गीत नै कम हुन थाले । निर्माता/निर्देशकले पनि फरक टेस्ट खोज्नुभयो । नयाँ गायकहरु पनि आउनुभयो । सधैंभरी एउटै धार, एउटै स्वर चल्नुपर्छ भन्ने पनि छैन ।’ निर्माताहरु दोहोरिन छाडेसँगै पनि आफ्नो पाश्र्व गीतहरु कमी भएको दीपकको भनाइ छ ।

बजारमा हल्ला चल्यो, गायिका मिलन नेवारसँग दीपकको प्रेम सम्बन्ध छ । त्यसले दुवैको सांगीतिक करिअरमा धक्का लागेको भन्नेहरु प्रशस्त सुनिन्थे । तर, दीपक त्यो कुरा सत्य नरहेको दाबी गर्छन् । भन्छन्, ‘त्यो एउटा गसिपमात्र थियो । थुप्रै गीतमा सहकार्य गरेको हुनाले त्यस्ता गसिपहरु आएका थिए । त्यो कुरा सत्य होइन र त्यो गसिपले सांगीतिक करिअरमा असर गरेको पनि होइन ।’

उसो त दीपक ‘क्यानडा बस्न गए’ भन्ने हल्ला पनि नचलेको होइन । उनी भने आफू सांगीतिक कार्यक्रमको सिलसिलामा क्यानडा पुगेको बताए । त्यहाँ ३ महिना, त्यसपछि युएस ४ महिना बसेर नेपाल फर्किएको दीपकले बताए । यो चार वर्ष अगाडिको कुरा थियो । त्यसयता पनि दीपकको सांगीतिक गति धीमा नै रह्यो । गीत फाट्टफुटमात्रै आइरहे ।

दीपक कहिलेकाहीँ सोच्छन् पनि, आफ्ना पछिल्ला गीत किन चलेनन् । अनि आफैं स्वीकार्छन्, ‘स्रोतालाई पहिलेजस्तो गीत दिन सकिनँ कि भन्ने चाहिँ लाग्छ ।’
करियरको उत्कर्षमा

मेरो कल्पनामा

आज एउटी परी…

१४ वर्षअघि रेखा थापाको ‘हिम्मत’ चलचित्रका लागि यो गीत गाउँदै दीपकले पाश्र्व गायनमा आफूलाई समाहित गराएका थिए । त्यसयता पाश्र्व गायनमा दीपकको ‘जादू’ नै चल्यो ।

‘घायल’को ‘माया गर मायालुले…’, ‘नैना रेशम’को ‘ढल्क्यो ढल्क्यो…’ जस्ता गीतहरु गाउँदै गर्दा दीपक पाश्र्व गायनमा चर्चाको उत्कर्षमा थिए । ‘घायल’ चलचित्रको ‘माया गर मायालुले…’ बोलको गीत पल्छिलो समय टिकटकमार्फत पुनः चर्चामा छ ।

‘किस्मत’, ‘हिफाजत’, ‘फैसला’, ‘नाइ नभन्नू ल’, ‘कोही मेरो’, ‘अन्दाज’ ‘कसले चोर्यो मेरो मन’ लगायत चलचित्रमा दीपकले गाएका गीतले चर्चा पाए । दीपकको पाश्र्व गायनमा यतिसम्म माग थियो कि दिनमै पाँच वटासम्म गीत रेकर्ड गराउँथे । दुई/तीनवटा गीत रेकर्डिङ त दैनिकजसो भएकै हुन्थे । कतिपय चलचित्रमा सबै गीतहरु दीपकले गाउँथे । हालसम्म आउँदा तीन सय बढी चलचित्रका गीतमा दीपकले स्वर दिए ।

उनका एल्बमका गीतहरु पनि उत्तिकै लोकप्रिय रहे । पाश्र्व गायनमा चर्चाको उत्कर्षमा रहेकै समयमा ‘यहाँ देशको छ चिन्ता’, ‘मुटु माग्यौ तिमीले’, ‘मैले माया गर्न जानिन होला’ जस्ता एल्बमका दर्जनौं गीतलाई पनि स्रोताले असाध्यै रुचाए ।

दीपक आज पनि आफू पुरानै जोश, जाँगरका साथ गीतसंगीतमा लागिरहेको बताउँछन् । भन्छन्, ‘जीवनको अन्तिम पलसम्म गीत गाउँछु भनेर हिँडिरहेको छु ।’

पुरानै लयको खोजी

दीपक सांगीतिक करिअरमा पुरानै लयको खोजीमा छन् । गत महिना ‘याः राक्मा हौँ सोल्टीनी ज्यू’ गीत ल्याएका दीपकले केही दिनअघि मात्रै ‘बाटो काटिएला’ बोलको गीत ल्याए । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘गोर्खा वारियर’का लागि गीत रेकर्ड गरिसकेका छन् भने एक अनाम चलचित्रको गीत पनि रेकर्ड गरिसकेको बताए । अन्य आधा दर्जन बढी गीतहरु आउने तयारीमा रहेको उनी बताउँछन् ।

‘मप्रति स्रोताको चिन्तन छ । मेरो गीतको प्रतिक्षा पनि छ । स्रोता/शुभचिन्तकको अपेक्षा कसरी पूर्ति गर्ने भन्नेबारे सोच्दै आइरहेको पनि छु,’ उनी भन्छन्, ‘सायद स्रोताले अब छिट्टै त्यस्ता गीतहरु पाउनुहुनेछ । मेरो धेरै गीतहरु आउँदैछन् । त्यसमध्ये कुनै न कुनै गीतले त स्रोताको मन जित्न सक्ला कि !’

दीपक आज पनि आफू पुरानै जोश, जाँगरका साथ गीतसंगीतमा लागिरहेको बताउँछन् । भन्छन्, ‘जीवनको अन्तिम पलसम्म गीत गाउँछु भनेर हिँडिरहेको छु ।’

नेपाली ताराबाट टर्निङ प्वाइन्ट

दीपकको गायनप्रतिको लगाव सानैदेखि हो । सुनसरीमा जन्मिएका दीपक बाल्यकालदेखि गीत गुनगुनाउँथे, नाच्नमा अघि सर्थे । ‘कलाकारिताप्रति मेरो रुचि सानैदेखि नै हो । गाउँमा देउसी भैलो, पूजाआजामा नाच्ने, गाउने, नाटक गर्ने गर्थेँ’ दीपक भन्छन् ।

क्रमशः दीपक विभिन्न सांगीतिक प्रतियोगिताहरुमा भाग लिन थाले । धेरै प्रतियोगिताहरुमा विजेता समेत बने । २०५७ सालमा नेपाल टेलिभिजनबाट प्रशारण भएको ‘ब्राइटर तिम्रो सुर, मेरो गीत’ प्रतियोगितामा प्रथम भएका दीपकले बताए । त्यो त्यतिबेलाको ठूलो टेलिभिजन सांगीतिक रियालिटी शो कार्यक्रम थियो ।

त्यस्तै २०५८ सालमा ‘प्रथम पूर्वाञ्चल आधुनिक गीत खुल्ला प्रतियोगिता’मा प्रथम भएको दीपक बताउँछन् । उनले २०५९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका हुन् ।

एल्बम निकालेर सांगीतिक क्षेत्रमा अगाडि बढ्ने सोचले २०६१ सालमा उनी काठमाडौं आएका थिए । सोही वर्ष नेपाल टेलिभिजनमा गायन प्रतियोगिता ‘नेपाली तारा’ शुरु भएको थियो । दीपकले त्यसमा भाग लिए र २०६२ सालमा पहिलो नेपाली ताराको ताज जिते । त्यसले उनको चर्चा एकाएक चुलिमा पुग्यो । नेपाली ताराबाट एल्बम पनि निकाले ।

‘मेरो सांगीतिक करिअरको टर्निङ प्वाइन्ट नै नेपाली तारा हो,’ दीपक भन्छन्, ‘त्यो मेरो लागि एउटा प्लेटर्फम थियो । त्यहाँबाट मैले धेरै अवसरहरु पाएँ । एल्बम हुँदै चलचित्रका गीतहरु गाउन पाएँ । त्यसको श्रेय नै नेपाली तारालाई जान्छ । आज पनि म गाउँघरमा जाँदा नेपाली ताराबाट चिनेको भन्नुहुन्छ ।’

सानैमा बाबुआमा गुमाएका दीपक दिदीको छत्रछायामा हुर्किए । दीपकले सानै उमेरमा विवाह गरे । उनले सांगीतिक करिअर सुरु नगर्दै प्रेमविवाह गरेका हुन् । उनका एक छोरा र श्रीमती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment