Comments Add Comment

७ सातापछि पुनः बढ्यो विश्वव्यापी कोरोना संक्रमण

डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेस ।

१८ फागुन, काठमाडौं । गत साता विश्वभर कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या बढेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार दिएको जानकारीअनुसार सात सातापछि पहिलोपटक विश्वभर कोरोना संक्रमणमा वृद्धि भएको हो ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेसले सोमबार एक ब्रिफिङमा बोल्दै विश्वभर कोरोना संक्रमण बढ्नु दुखद् भए पनि अनौठो भने नरहेको बताए । उनले विश्वका सबैजसो क्षेत्रमा गत साता कोरोना संक्रमण बढेको बताए । केही क्षेत्रहरुमा स्वास्थ्य मापदण्ड खुकुलो बनाइएकाले पनि संक्रमण बढेको उनको भनाइ छ ।

डब्ल्यूएचओकी कोभिड-१९ को प्राविधिक क्षेत्रको नेतृत्व गरिरहेकी मारिया भान केरखोभले पछिल्लो समय संक्रमणमा वृद्धि हुनु विश्वका सबै मुलुकको लागि चेतावनी रहेको बताइन् । उनले यसलाई थप बढ्न दिनु नहुनेमा जोड दिइन् ।

अहिलेसम्म विश्वभर ११ करोड ४० लाखभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् भने अहिलेसम्म २५ लाखभन्दा धेरैको मृत्यु भएको छ । यस्तोमा विश्वका धेरै मुलुकमा कोरोना खोप कार्यक्रम पनि सञ्चालन भइरहेको छ । तर, डब्ल्यूएचओले भने खोप कार्यक्रम सञ्चालन भए पनि कोरोना नियन्त्रणको आवश्यक सुरक्षा मापदण्ड पालना गर्न छाड्नु हतार हुने बताएको छ । यद्यपि उनले सबैलाई कोरोना खोप लिन आग्रह गरेका छन् ।

डब्ल्यूएचओका प्रमुख गेब्रेयेससले विश्वभर अहिले खोप वितरणमा देखिएको असमानताको पनि विरोध गरेका छन् । उनले सबैको सोच विश्वभरका सबैभन्दा जोखिममा रहेका मानिसहरुलाई बचाउने हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment