Comments Add Comment

प्रवीण बास्तोला मृत्यु प्रकरण : थप एकजनालाई थुनामा राख्ने आदेश

प्रवीण बास्तोला

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मंगलबार जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले १९ वर्षीय सुदीप परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
बिहीबार लामिछानेको इजलासले अर्का आरोपी मेहरमान दर्जीलाई पनि थुनामा राख्ने आदेश दिएको थियो । थुनछेक बहसपछि थुनामा राख्ने आदेश भएको जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

परियार हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक हुन् । फरार रहेका परियारलाई मोरङको कानेपोखरी गाउँपालिका–७ रमाइलोबाट प्रहरीले सोमबार राति पक्राउ गरेको थियो ।

बास्तोला प्रकरणमा जोडिएका उर्लाबारी नगरपालिका–६ का ६० वर्षीय रमेश गिरीलाई मोरङ अदालतले एकलाख धरौटीमा छाड्ने आदेश दिएको थियो । यसअघि पक्राउ परेका मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा र उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई बिहीबार तीनलाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

मुद्दामा प्रतिवादी बनाइएकामध्ये चारजना पक्राउ परिसकेका छन् । उर्लाबारीका राजेश रणपहेली र झापा बैगुनधुराका ३१ वर्षीय दीपेश पौडेल फरार छन् । फरार भएकाहरुको खोजी तीव्र पारिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment