Comments Add Comment

‘मेरो भाषा बोल्दा रोक्ने तिमी जातिवादी हो ?’

१८ फागुन, काठमाडौं । सर्वोच्च अदालतको आदेशमा बालाजु सडक विस्तारको विरोधका पक्राउ परेका अभियन्ताहरू रिहा भएको  खुशियालीमा  मंगलबार साँझ काठमाडौंको इन्द्रचोकमा मैनबत्ती जुलुस गरियो ।

देश संघीय गणतन्त्रमा गइसक्दा पनि न्याय अनुभूत नभएको भन्दै ‘उपत्यका सडक विस्तार पीडित संघर्ष समिति’ तथा बृहत् नागरिक आन्दोलनले सांकेतिक विरोधस्वरुप मैनबत्ती जुलुस गरेको हो ।

इन्द्रचोक आकाश भैरवअगाडि जम्मा भएका उपत्यकाका वासिन्दा, अधिकारकर्मी तथा अभियन्ताहरूले मातृभाषामाथि दमन गरेको भन्दै विरोध गरे । उनीहरूले मातृभाषा बोलेकै आधारमा एक सातासम्म अधिकारकर्मीलाई पक्राउ गरिएको भन्दै त्यसलाई प्रतिगमन मानेका छन् ।

सभा चल्दै गर्दा अदालतबाट रिहा भएका सुमन सायमी, विरोचन श्रेष्ठ, भीमदेव श्रेष्ठ, मीन शाही, महेश्वर मानन्धर, सन्जय तामाङ, रुक्षित श्रेष्ठ, दिपेन श्रेष्ठ इन्द्रचोक आइपुगे । उनीहरूलाई त्यहाँ उपस्थित समूहले खादा, माला र अबीर लगाएर स्वागत गर्‍यो । यसपछि मैनबत्ती जुलुस वसन्तपुर, क्षेत्रपाटी हुँदै कालीमाटीतर्फ अघि बढ्यो ।

जुलुसमा अधिकारकर्मीले आफ्नो सम्पत्ति संरक्षणका लागि आन्दोलनमा उत्रिएकालाई गैरकानुनी थुनामा राखेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरे । उनीहरुले ‘नेवा एकता जिन्दावाद’, ‘नागरिक एकता जिन्दावाद !’, ‘भूमि अतिक्रमण बन्द गर’जस्ता नारा लगाइयो । जुलुसमा दिउँसो रिहा भएका सबै अभियन्ता सहभागी भए ।

अदालतबाट सिधै इन्द्रचोक आइपुगेका अभियन्ता महेश्वरमान श्रेष्ठले आफ्नो भूमिको स्वामित्व माग्दा सरकारले कायरतापूर्वक पक्राउ गरेको बताए । उनले भने, ‘हिरासतमा दमको बिरामीको स्वास्थ्य अवस्थाबारे नेवारी भाषामा कुरा गर्दा अभियन्ताहरूलाई पक्राउ गरिएको छ । यो सरासर नेपाल भाषा र सभ्यतामाथिको आक्रमण हो ।’

श्रेष्ठले हजारपटक पक्राउ गरेपनि आफ्नो मातृभाषा बोल्न नछाड्ने उद्घोष गरे ।

यस्तै नेवा विद्यार्थी युनियनका सिर्जनमान श्रेष्ठले अबको नयाँ पुस्तालाई आफ्नो मातृभाषा बोल्न सिकाउनुपर्ने बताए । उनले भने, ‘कुनै पनि अवस्थामा आफ्नो भाषा बोल्न सिकाइएन भने भोलि यो सभ्यता नै खतरामा पर्छ । उपत्यकाको इतिहास नै खतरामा पर्छ ।’ उनले नेपाल भाषामात्र नभई सबै भाषा, जाति, समुदायको पहिचान हुनुपर्ने बताए ।

इन्द्रचोकको सभामा बृहत् नागरिक आन्दोलनका तर्फबाट बोल्दै अरुणदेव जोशीले काठमाडौंको नेपाल भाषामात्र नभएर बैतडी, डोटी, दार्चुलामा बोलिने डोटेली भाषालाई राज्यले नचिनेको बताए । उनले भने, ‘काठमाडौंको आदिवासीकै मातृभाषा दमन गर्ने सत्ताले सीमान्त क्षेत्रको भाषा–संस्कृतिमाथि अतिक्रमण गरिहेको छ ।’

अभियन्ता सिएन थारूले थारु भाषामा बोल्दै भूमि अतिक्रमण र मातृभाषा माथिको दमनको विरोध गरे । उनले चितवन माडिमा राम मन्दिर बनाउन सरकारले थारूको जग्गा मिचेको बताए ।

जुलुसमा सहभागी अभियन्ता चन्द्रकुमार महर्जनले सरकारले व्यक्तिगत भूमिमात्र नभएर कमलपोखरीजस्तो ऐतिहासिक सम्पदा पनि अतिक्रमण गरेकोमा भर्त्सना गरे ।अनलाइनखबरसँग कुरा गर्दै महर्जनले भने, ‘व्यक्तिगत जग्गा र घरमात्र होइन सरकारले मठमन्दिर, सांस्कृतिक सम्पदा र नेपाल भाषमाथि निरन्तर दमन गरेको छ ।’

अभियन्ता आलोकसिद्धि तुलाधारले आफूलाई विकास विरोधिभन्दा कुनै फरक नपर्ने बताउँदै विदेशीले सिकाएको विकास अवधारणा मानय नहुने बताए । उनले काठमाडौंको इतिहासकै आधारमा सम्पदा पुनर्निर्माण हुनुपर्ने बताए ।

मैनबत्ती जुलुस कालीमाटी पुगेर सभामा परिणत भयो । जुलुसमा विवेकशील साझा पार्टीका प्रदेश सांसद विराजभक्त श्रेष्ठ र अरु स्थानीय राजनीतिकर्मी उपस्थित थिए । वर्तमान सरकारमा रहेका नेवाः समुदायका मन्त्रीहरूमाथि भने अभियन्ताहरूले आक्रोश व्यक्त गरे । आफ्नो समुदायमाथि प्रहार हुँदा पनि प्रतिगमनकारी सत्तालाई सघाएको भन्दै ओली सरकारका मन्त्रीमाथि आन्दोलनकारी खनिए ।

कालीमाटीमा कालीमाटी सडक विस्तार पीडितहरूले जुलुसलाई साथ दिए । उनीहरूले बालाजुमात्र नभएर उपत्यकाभरि नै सरकारले गैरकानुनी रुपमा भूमि अतिक्रमण गर्दै आएको बताए ।

सम्पूर्ण गैरकानुनी भूमि अतिक्रमण नसच्चिएसम्म उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले निरन्तर जारी राख्ने बताउँदै आएको छ ।

तस्वीरहरू: विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment