Comments Add Comment

सरकार र विप्लव समूहबीच बालुवाटारमै पहिलो वार्ता

१९ फागुन, काठमाडौं । सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ । वार्ताका लागि नेत्रविक्रम चन्द विप्लव समूहको वार्ता टोली सदस्यद्धय बुधबार विहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए ।

मन्त्रिपरिषद् बैठक बस्ने हल नजिकैको कोठामा दुबै टोलीबीच केही घण्टा कुराकानी भएको थियो ।

पहिलो दिन भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।

अर्को वार्ताको मिति तोकिएको छैन । तर छिट्टै वार्तामा बस्न दुबै पक्ष सहमत रहेको स्रोतको दाबी छ ।

मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।

विप्लव समूहका नेताहरुले ‘राष्ट्रिय स्वाधिनता र जनताका जनजीविकाका बारेमा विद्रोहीले राखेका प्रस्ताव र सर्तमा राज्य पक्ष सकरात्मक भयो भने वार्ता अघि बढ्छ र त्यो संयुक्त सरकारसम्म पुग्न सक्छ’ भनेका छन् ।

संसद विघटनको प्रयासपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फुट आएका वेला प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग सम्वादको प्रयास थालेका थिए । पटकपटकको अनौपचारिक छलफलपछि दुवै पक्षबाट वार्ता समिति गठन भएको थियो । ठोस छलफलमा बस्नुअघि प्रतिबन्ध फुकुवा, पक्राउ परेका नेता, कार्यकर्ताको रिहाइ हुनुपर्ने र औपचारिक पत्र पठाउनुपर्ने माग विप्लवका नेताहरुले राख्दै आएका थिए । तर, ती मागहरु पूरा हुनु अगावै बुधबार दुवै पक्ष वार्ताको टेबलमा देखिएका छन् ।

वार्तामा के के भयो भन्ने विषयबारे दुवै पक्षले विस्तृतमा खुलाएका छैनन् ।

यो पनि पढ्नुहोस सरकार–विप्लव समूह वार्ता नजिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment