Comments Add Comment

सडकका ढुङ्गामा ‘देवता’ कोर्दै कलाकार

१९ फागुन, चितवन । नवलपरासी गैंडाकोटको प्रसिद्ध मौलाकालिका मन्दिर जाने सडकपेटी छेउमा ढुङ्गाहरुमा तमासले काम गरिरहेका मूर्तिकार देखिन्छन् । उनीहरु देवतासँग सम्बन्धित आकृति उतार्न व्यस्त छन् ।

कलाकारहरु कसैले एक त कसैले दुईवटा भगवानसँग सम्बन्धित आकृति ढुंगामा उतारेका छन् । कुनै आकृति बाटोको सिँढी नजिकै छन् भने कुनै केही पर जंगलमा ।

यही फागुन ४ गतेदेखि सुरु भएको ‘आस्था’ नामक राष्ट्रिय मूर्तिकला कार्यशालामा सहभागी १२ जना मूर्तिकार र तीनजना सहयोगीहरुले निरन्तर काम गरिरहेका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले धार्मिक अस्थासँग जोडिएको मौलाकालिका मन्दिर जाने सडकपेटीमा बिहान ९ बजेदेखि राति ६ बजेसम्म मूर्तिकारहरुले निरन्तर खटेर बटा मूर्ति तयार गरेको बताए । कलाकार लामाले शिवलिङ्गसहितको आकृति ढुंगामा उतारेका छन् ।

तेस्रो नेत्रसहितको भगवान् शिवको आधा अनुहार भएको मूर्ति बनाएका छन् प्रकाश थापाले । छिनो, हथौडा, ग्रेण्डरको सहायताले ढुंगामा बनेका कतिपय मूर्तिलाई मन्दिरको दर्शन गर्न जाने भक्तजनहरूले पूजासमेत गर्न थालेका छन् ।

चितवन माडीका कलाकार दिनेश्वर महतोले बनाएको हात्तीको मूर्तिमा भक्तजनहरुले रंग/अविर लगाइदिएका छन् । उनले यसबाहेक सबैभन्दामाथि महादेवको त्रिशूल, डमरु, कमलको फूलसहितको अर्को आकृति तयार गरेका छन् । यसलाई अन्तिम रुप दिने काममा तल्लिन छन् महतो । उनले यसमा काम गर्न पाउँदा आफू उत्साहित भएको बताए ।

कलाकार तम पुनले इन्द्रको बाहन ऐरावत हात्ती बनाएका छन् । हेर्दा दुरुस्त लाग्छ । एक सहयोगीका साथमा उनले तयार गरेको आकृति लोभलाग्दो छ ।
विगत ८ पुस्तादेखि मूर्तिको क्षेत्रमा काम गर्दै आएको बताउने ललितपुरका विकास शाक्यले भएको गणेशलाई ढुंगामा जीवन्तता दिएका छन् । यो चार हात भएका गणेश हुन् । निधारमा भगवान गौतमवुद्धको आकृति पनि छ ।

सिढीको उकालो बीच छेउमा नै देवीको मूर्ति बनाएका छन् मूर्तिकारले । जिब्रो निकालेकी देवीको निधारमा आँखा, कानमा कुण्डली र खप्परको माला देवीको घाँटीमा तयार भएको छ । यसलाई झापाका हिम्मत नेम्वाङले बनाएका हुन् ।

उनै नेम्वाङले ढुंगामा आकर्षक हनुमानको मूर्ति पनि तयार गरेका छन् । मौलाकालिका मन्दिरको दर्शन गर्न उक्लिनेहरुका लागि यो सबैभन्दा बढी आकर्षक बनेको छ । जसले पनि यससँगै टाँसिएर सेल्फी खिच्ने गरेका छन् ।

कलाकारहरुले भगवान् गणेश, शिव, काली, विष्णुसहित हात्ती, कछुवा, नागका मूर्ति बनाइरहेका छन् । कलाकारहरुको संयोजक ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका संयोजक लालकाजी लामाले गरेका हुन् । उनैले धार्मिक सेवासँग सम्झौता गरी काम गरेका हुन् ।

लामा भन्छन् ‘यो त धार्मिक क्षेत्रसँग सम्बन्धित सडकपेटी भएकाले यहाँ आस्थासँग जोडिएका मूर्तिहरु तयार गरेका हौं,’ मूर्तिले यस क्षेत्रको गरिमालाई बढाउने, चर्चामा ल्याउने, भक्तजनहरुलाई मन्दिर जाँदा नै धार्मिक भाव पैदा गराउने उद्देश्यले ढुंगामा भगवानका प्रतिमूर्तिहरु तयार गरिएको संयोजक लामाले बताए । यसले धार्मिक पर्यटन बढाउन टेवा पुग्ने उनको भनाइ छ ।

यही कलाकारहरुको समूहले माडीको सोमेश्ववर पहाड जाने बाटोमा झण्डै २८ वटा मूर्ति अघिल्लो वर्ष बनाएको थियो । यस्ता कार्यशालाहरुले मूर्तिकारहरु एक ठाउँमा भेला भएर आत्मीयता, क्षमता, एवम् सीप साटासाट गर्ने अवसरसमेत मिल्ने उनीहरुले बताएका छन् ।

मूर्तिले कलाकार र आमनागरिकबीच परिचयको काम गरेको संयोजक लामाको भनाइ छ । झण्डै २२ लाख रुपैयाँको लागतमा मूर्तिहरू तयार गरिएका हुन् । श्री धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकग्राम सापकोटाले मौलाकालिका मन्दिरको गरिमालाई अझै बढाउन र धार्मिक पर्यटन बढाउन मूर्तिहरु बनाइएको बताए ।

यसलाई थप विस्तार गरी बाँकी ठाउँमा समेत प्राकृतिकरुपमा रहेका ढुंगाहरुमा विभिन्न मूर्तिहरु बनाउँदै जाने योजना रहेको सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment