Comments Add Comment

भूवन भन्छिन्–‘हामीलाई ४०–५० हजार पारिश्रमिक दिन पनि गाह्रो मान्छन्’

नेपाली चलचित्रकी पहिलो नायिका भूवन चन्दले अहिले नायक–नायिकाहरुले महंगो पारिश्रमिक लिदा आफूहरुलाई भने निर्माताले ४०–५० हजार दिन पनि गाह्रो मान्ने गरेको गुनासो गरेकी छिन् ।

आफैले निर्माण गरेको चलचित्र ‘साइनो’ व्यापारिक रुपमा असफल भएपनि दोश्रो चलचित्र बनाउने तयारीमा रहेकी भूवनले भनिन्–‘पहिला चलचित्र खासै बन्दैनथ्यो । यसैले काम मात्र पाउन पाएँ हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले त हामीले गर्ने भनेको आमा र हजुरआमाको भूमिका मात्र हो । नायकको ५० लाख, नायिकाको २० लाख पारिश्रमिक हुँदा हामीलाई त ४०–५० हजार दिन पनि गाह्रो मान्छन् । आफ्नो पारिश्रमिक भन्न पनि लाज लाग्छ । यति पारिश्रमिक त मेरो मालीले नै लिन्छ ।’

महिला दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा उनले भनिन्–‘चलचित्रमा नायक–नायिकाले पाउने भन्दा आमाबुबाले पाउने पारिश्रमिक कम हुनु स्वभाविक नै हो । तर, नेपाली निर्माताले भने अती नै गर्छन् ।’

भूवनले आफूलाई केही चलचित्रको अफर आएपनि काम नगर्ने बताइन् । उनले, चलचित्र निर्माण गरेपछि यो क्षेत्रको राजनीति पनि राम्रोसँग वुझेको बताइन् । भनिन्–‘यो क्षेत्र त नराम्रो रहेछ । चलचित्र क्षेत्रको राजनीतिको अगाडि त देशको राजनीति फिक्का नै लाग्ने रहेछ । मेरो १ करोड लगानी डुबेपनि मैले यो क्षेत्रलाई राम्रोसँग वुझ्ने मौका भने पाएँ ।’

भूवनले चलचित्र ‘आमा’बाट चलचित्र यात्रा सुरु गरेकी थिइन् । उनी ५ दशक भन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment