+
+
Shares
सुनकोसी-मरिन डाइभर्सन :

प्रधानमन्त्रीले शिलान्यास गरे, एक वर्षपछि थालिने छ सुरुङ खन्न

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७७ फागुन २० गते २२:३६

२० फागुन, काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी-मरिन डाइभर्सन (नदी पथान्तरण) बहुउद्देश्यीय आयोजनाको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे । तर, आयोजनाको सुरुङ खन्ने काम सुरु हुन भने अझै एक वर्षभन्दा बढी समय लाग्ने सिँचाइ विभागले जनाएको छ ।

यो आयोजनाको अहिलेसम्म ठेक्का लागिसकेको छैन । ठेक्का गरेर कम्पनी छनोट भएपनि निर्माणको सम्झौता भने भएको छैन ।

सिँचाई विभागका महानिर्देशक मधुकर राजभण्डारीका अनुसार चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपले सुरुङ निर्माणको ठेक्का पाउँदैछ । ‘कम्पनीलाई लेटर अफ एक्सप्टेन्स दिइसकेका छौं,’ उनले भने,’१०.०५ अर्बमा ठेक्का लाग्दैछ ।’ यो काम गर्न करिब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान थियो ।

भेरी-बबई डाइभर्सन आयोजनामा सुरुङको काम गरेकै कम्पनीले अनुमानित लागत अनुमानभन्दा ३५.५५प्रतिशत कम रकममा ठेक्का लिन लागेको हो । सुरुङ निर्माणको काम गर्न १२ कम्पनीबीच प्रतिस्पर्धा भएको थियो ।

करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि सुरुङमार्गको मात्रै ठेक्का प्रक्रिया टुंगिन लागेको हो । यो आयोजनाका लागि सुनकोसीबाट मरिनसम्म १३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ ।

यो आयोजनाको सुरुङ अमेरिकन प्रविधिको टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत नै खनिने छ । भेरी-बबई आयोजनामा सफल भएपछि दोस्रोपटक सिँचाइ विभागले सुनकोसी मरिनमा टीबीएम मेसिन प्रयोग गर्ने निर्णय लिएको हो ।

‘यो परियोजनामा बन्ने सुरुङका लागि अडिट सुरुङहरु बनाउन पनि कठिन हुने भएकाले टीबीएमको प्रयोग हुनेछ,’ राजभण्डारीले भने, ‘यसबाट छिटो काम हुन्छ ।’

सुरुङ खन्न छनोट हुने कम्पनीले सम्झौतापछि विभागबाट टीबीएमको डिजाइन पास गरेर खरिद गर्नुपर्नेछ । त्यसैले सुरुङ खन्ने काम सुरु गर्न अझै एक वर्ष समय लाग्ने राजभण्डारीले बताए ।

उनका अनुसार आयोजनाका लागि अरु पूर्वतयारीहरु काम सबै सकिएका छन् । ‘मुआब्जा वितरण, रुख कटानी लगायतका प्रक्रिया सकाएका छौं,’ उनले भने ।

यो सुरुङ बनाउन थाल्नुअघि नै मध्यपहाडी लोकमार्गको ९ सय मिटर सडकको वैकल्पिक ट्रयाक बनाउने योजना थियो । तर, त्यो काम नै नगरी आयोजना शिलान्यास गरिएको छ ।

आयोजनामा सुरुङबाहेकको सिभिलतर्फका हेडवक्र्स, सर्ज साफ्ट लगायतको कामसहित हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको ठेक्का लगाउन आर्थिक स्रोत जुटिसकेको छैन ।

स्रोत सुनिश्चित भएपछि सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको पनि ठेक्का लगाइने विभागले जनाएको छ ।

‘अर्थमन्त्रालयमा फाइल पठाएका छौं,’ महानिर्देशक राजभण्डारीले भने,’स्रोत जुट्नासाथ ठेक्का लाग्छ ।’

कसरी बन्छ आयोजना ?

यो आयोजना मुख्य रुपमा सिँचाइमा केन्दि्रत छ । तर, पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो ।

सिँचाइ विभागले यो आयोजनालाई २ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियान रुपमा ब्याख्या गर्दै आएको छ । बागमती प्रदेशको जलस्रोतलाई २ नम्बर प्रदेशमा पुर्‍याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने दाबी सरकारको छ ।

यो आयोजनाको बाँधस्थलको डिजाइन टुंगिने चरणमा छ । तामाकोसी र सुनकोसी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोसीको पानी सुरुङमार्फत मरिनमा खसालिनेछ ।

मरिनको पानी बागमतीमा पुग्ने छ र बागमती सिँचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन सकिनेछ । मरिनमा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ ।

मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ । आयोजनाबाट उत्पादित विजुली रािष्ट्रय प्रसारण लाइनमा जोडिनेछ । यो आयोजना बनेपछि सुनकोसीको ६४ क्युबिक मिटर प्रतिकेन्ड पानी मरिनमा झर्नेछ ।

मध्य तराईका बारा, रौतहट, महोत्तरी र सर्लाही जिल्लाका सुख्खा जमिनमा सिँचाइ सुविधा दिने गरी यो डाइभर्सन आयोजना निर्माण गर्न लागिएको महानिर्देशक राजभण्डारी बताउँछन् ।

लेखक
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?