Comments Add Comment

लालबाबु पण्डित भन्छन- नेकपामा समस्याको जड वामदेव गौतम

फाइल तस्वीर

२४ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह अलग अलग गतिविधि गर्दा नेता लालबाबु पण्डित कुनै समूहतिर लागेका थिएनन् । उनले आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका थिए ।

तर सर्वोच्च अदालतले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणलाई मान्यता नदिई दुई पार्टीलाई पूर्ववत अवस्थामा नै फर्काइदिएपछि उनले साविकको नेकपा एमालेतिर रहने बताएक छन् ।

सोमबार अनलाइनखबरसँगको कुराकानीमा उनले आफू सूर्य चुनाव चिन्हतिर रहने बताए । ‘मैले पहिलादेखि नै भन्दै आएको हो– जनताको बहुदलीय जनवाद र सूर्य चिन्ह,’ नेता पण्डितले भने, ‘अब दुईटा पार्टी एक भएर गए सँगै रहन्छु, एक भएन भने जता सूर्य चिन्ह उतै म ।’

अब दुवै समूह एक भएर जान सक्ने स्थिति नरहेको पण्डितको बुझाइ छ । र केपी शर्मा ओली नेतृत्वको एमाले ब्युँतिएकाले आफू त्यतै रहने पण्डितले बताए ।

‘मैले आइतबारको प्रतिनिधिसभाको बैठक बहिष्कार गरिन नि । साथीहरु उठेर जाँदा म बैठकमै उपस्थित रहेँ । यसले क्लियर भएन र ! म कता छु ?’ पण्डितले भने ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सरकारको तर्फबाट विभिन्न अध्यादेशहरु पेस हुन लाग्दा प्रचण्ड–माधव समूहका सांसदहरुले बैठक बहिष्कार गरेका थिए । कामचलाउ सरकारले अध्यादेश ल्याउन नसक्ने प्रचण्ड–माधव समूहको तर्क थियो । तर, पण्डितले भने बैठक बहिष्कार गरेका थिएनन् ।

नेकपामा समस्याको जड वामदेव गौतम !

पूर्वमन्त्री समेत रहेका नेता पण्डितले नेकपा एकीकरणमा समस्याको जड वामदेव गौतम भएको टिप्पणी गरे ।

‘वामदेव कमरेडकै कारणले यत्रो भएको हो । बामदेव कमरेडको मिलाउने कुरा छँदै थिएन । च्याखे थापेर आफूतिर केन्द्रित गर्न खोज्या हो’ पण्डित भन्छन्, ‘सचिवालयको बैठकमा उहाँ जता लाग्दा त्यतै बहुमत पुग्थ्यो नि । तर, उहाँले सुरु देखि प्रधानमन्त्री खोज्नुभयो । संसदमा इन्ट्री खोज्नुभयो । निर्वाचनबाट इन्ट्री नभएपछि मनोनितमा जान्न भन्नुभयो । पछि कहीँ जित्ने आधार तय भएन । त्यसपछि मनोनीतमा तयार हुनुभयो । बेइज्जत गर्नुभयो नि ।’

केपी ओली र प्रचण्डको बीचमा रहेर गौतमले लाभ लिन खोज्दा समस्या आएको उनको भनाइ छ ।

आफूतिर बहुमत छ भन्ने नेताहरुको घमण्ड सर्वोच्च अदालतको फैसलाले तोडिदिएको नेता पण्डितले टिप्पणी गरे ।

‘पार्टी फोड्छु, हामी बहुमत छौं, उहाँ अल्पमत हो, संसदीय दलको नेता म, अविश्वास प्रस्तावको कुरा जुन थियो ती सबै घमण्डहरु तोडियो । ती समस्याको पनि समाधान भयो’ पण्डितले भने ।

‘अब एमाले र माओवादी हुने हो’

अब एमाले र माओवादी भएर जानुपर्ने स्थिति आएको पण्डितले बताए ।

‘कि त नयाँ पार्टी दर्ता हुन पर्‍यो । नयाँ पार्टी दर्ता हुने सम्भावना म देख्दिन । हिजो प्रचण्डजीहरुले प्रतिनिधिसभा बहिष्कार गर्नुभएको छ । आज नारी दिवसमा वक्तव्य निकाल्दा आफूलाई एकल अध्यक्षका रुपमा प्रस्तुत गर्नुभएको छ’, उनी भन्छन्, ‘त्यसैले दुइटा पार्टी मिल्ने स्थिति कम देखियो । अब एमाले माओवादी भनेरै जाने स्थिति भयो ।’

देशभरका पार्टी कार्यालयमा साइनबोर्ड फेरिन थालेको भन्दै उनले एमाले ब्युतिँदा एमालेका कार्यकर्ता खुसी भएको आफूले पाएको सुनाए ।

‘सर्वोच्चको फैसलापछि एमालेका कार्यकर्ता उत्साहित भएका छन् । हामी ठूला थियौं, हौं र हामी ठूलामाथि प्रहार भएको थियो । अब एक किसिमले उन्मुक्ति पाएका छौं भन्ने कार्यकर्तामा रहेको पाएको छु’ पण्डितले भने ।

माधव नेपाल र बादल पुरानैमा फर्किनु वेश !

पण्डितले नेता माधवकुमार नेपाललाई नेकपा एमालेमा र रामबहादुर थापा बादललाई नेकपा माओवादी केन्द्रमा फर्किन सुझाव दिए ।

‘कि उहाँहरुले घाटा बेहुर्नुपर्यो, कि पुरानैमा फर्किनुपर्यो । कि त नयाँ दर्ता हुन पर्यो । तर, त्यो सम्भावना कम देख्छु’ उनी भन्छन्, ‘हामी चुनाव लड्दा बाममोर्चा मात्रै भएको हो नि । अब त्यसरी नै जान पनि सकिन्छ ।’

अन्यथा गरे कारबाहीमा पर्न सक्ने पण्डितको भनाइ छ ।

‘एमालेको चुनाव चिन्हबाट जितेर आएकाहरु अन्त लाग्दा कारबाही हुन्छ । यस्तो दुईतिरै छ । हसिया हथौडाबाट चुनाव जितेर आएकाहरु यता (ओली समूहमा) पनि आउनुभएको छ । उहाँहरुलाई समस्या हो । जो सूर्यमै छन्, जो हसिया हथौडामै छन् । तिनलाई त केही फरक पर्दैन’ पण्डितले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment