News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण कोरियाका १९ विश्वविद्यालयका २६ विद्यार्थीको टोली नेपालका सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधारका लागि श्रमदानमा जुटेका छन्।
- टोलीले भक्तपुरको श्री सरस्वती माध्यमिक विद्यालयमा भवन रङ्गरोगन, पानीको निकास मर्मत तथा बाल उद्यान निर्माण सम्पन्न गरेको छ।
- कोरियाली विद्यार्थीहरूले आगामी मंगलबारदेखि काभ्रेस्थित श्वेत वराह माध्यमिक विद्यालयमा आफ्नो स्वयंसेवा कार्यक्रमलाई निरन्तरता दिने भएका छन्।
१० साउन, काठमाडौं । दक्षिण कोरियाका विभिन्न १९ वटा विश्वविद्यालयका विद्यार्थीहरू नेपालका सामुदायिक विद्यालयहरूको भौतिक संरचना र शैक्षिक वातावरण सुधार्न श्रमदानमा जुटेका छन्।
दक्षिण कोरियाको सरकारी संस्था ‘सेमाउल सेन्टर कोरिया’ (नयाँ गाउँ अभियान) मार्फत स्वयंसेवाका लागि साउन ४ गते नेपाल आइपुगेका २६ जना विद्यार्थी तथा प्रतिनिधिको टोलीले हाल भक्तपुर र काभ्रेका सामुदायिक विद्यालयहरूमा काम गरिरहेको हो।
टोलीले विद्यालयका कक्षाकोठा रङ्गरोगन गर्ने, पानीको निकास मर्मत तथा निर्माण गर्ने र बालबालिकाका लागि खेलमैदान निर्माण गर्ने जस्ता भौतिक सुधारका कामहरू गर्दै आएको छ। भौतिक पूर्वाधारका अतिरिक्त उनीहरूले नेपाली विद्यार्थीहरूका लागि सीप विकास तथा स्वास्थ्य जनचेतनासम्बन्धी विविध कार्यक्रमहरू समेत सञ्चालन गरिरहेका छन्।
यसै कार्यक्रमअन्तर्गत आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका–८, थाकलमाठस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा निर्माण तथा सौन्दर्यीकरणको काम सम्पन्न भएको छ। स्वयंसेवक टोलीले त्यहाँ पानीको निकास मर्मत, विद्यालय भवन तथा कक्षाकोठा रङ्गरोगन र कृत्रिम घाँससहितको बाल उद्यान निर्माण गरेको छ।
काम सम्पन्न भएपछि विद्यालयले एक विशेष समारोहको आयोजना गरी कोरियाली स्वयंसेवक टोलीलाई धन्यवाद ज्ञापन गर्दै बिदाइ गरेको थियो।
भक्तपुरको काम सम्पन्न गरेसँगै उक्त टोलीले आगामी मंगलबारदेखि काभ्रे जिल्लास्थित श्वेत वराह माध्यमिक विद्यालयमा पुगेर आफ्नो स्वयंसेवा कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ।
प्रतिक्रिया 4