Comments Add Comment

ढोकामा प्रधानमन्त्री प्रस्ताव, झ्यालबाट नियाल्दैछन् देउवा !

२० फागुन, काठमाडौं । ‘प्रधानमन्त्री पदले नेपाली कांग्रेसको ढोका ढकढक्याइरहेको छ, तर हामीले ढोका खोलेर प्रस्ताव स्वीकार गरिसकेको अवस्था छैनौं । संयमतापूर्वक झ्यालबाट हेरिरहेका छौं‘, सत्तारुढ नेकपा विभाजित भएसँगै तानातानमा परेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका माथिका भनाइले पार्टी सभापति शेरबहादुर देउवाको मनस्थिति बुझ्न पर्याप्त छ ।

संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरेसँगै नेकपाको प्रचण्ड-माधव समूहले कांग्रेस र जनता समाजवादी पार्टीलाई संयुक्त सरकार गठनको प्रस्ताव राखेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले भने, ‘कांग्रेस र जसपा नेतृत्वलाई भन्न चाहन्छु, बैठक बसौं । सहकार्य गरौं, हामी सबै विकल्पमा तयार छौं ।’

कांग्रेसले सहकार्य गर्दैनौं भनेको छैन तर, संयुक्त सरकार गठनको प्रस्ताव स्वीकार गरेको पनि छैन ।

संसद बैठक बस्ने दिन २३ फागुन नजिकिँदै गर्दा पनि कांग्रेसले निर्णय नगरेपछि प्रचण्ड-माधव समूह कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री मान्न तयार देखिएको छ । देउवालाई मनाउन प्रचण्ड-माधव समूहका शीर्ष र दोस्रो तहका नेताहरुले देउवा र कांग्रेसका अरु नेताहरुलाई लगातार भेट्दै आएका छन् ।

तर अहिलेसम्म सत्ता साझेदारीबारे कुनै ठोस सहमति भइनसकेको नेताहरु बताउँछन् । छलफलहरुमा सहभागी एक नेता भन्छन्, ‘संसदमा बहुमत भएको पार्टी फुटाएको आरोप लाग्ने, संविधान संशोधन, एमसीसी जस्ता मुद्धाहरुको जटिलता पार गर्न सबै तहबाट सहयोग प्राप्त हुन्छ कि हुन्न हेरिरहनु भएको होला ।’

ठोस प्रस्ताव आएकै छैन : देउवा

नेकपाको दुबै समूहसँग निरन्तर सम्वादमा रहेका कांग्रेस सभापति देउवाले बिहीबार नेपाल पत्रकार महासंघ र प्रेस युनियनको अधिवेशनबारे छलफल गर्न भन्दै पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आफ्नै निवासमा बोलाएका थिए ।

त्यसको अघिल्लो दिन चितवनमा सार्वजनिक मञ्चबाट कांग्रेस सभापति देउवाले प्रधानमन्त्री पद पाउँ नभनेको, तर जिम्मेवारी पाए पछि नह्टेन बताएका थिए । त्यसलाई धेरैले सभापति देउवा प्रधानमन्त्री बन्न तयार भएको रुपमा बुझेका थिए ।

बूढानीलकण्ठस्थित देउवा निवासमा बसेको बैठकमा कांग्रेस नेताहरुले पनि अरु दलहरुसँग भइरहेको छलफलबारे चासो राखेका थिए । ‘तर सभापतिले नेताहरुले भेटेका छन्, ठोस प्रस्ताव केही आएको छैन भन्नुभयो, बैठकमा सहभागी एक नेताले भने ।

बैठकमा निर्वाचन आयोगमा विचाराधीन नेकपाको आधिकारिकता विवाद कसरी टुंगिनसक्छ ? नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले छिट्टै गर्ने फैसलाले नेकपा विवादमा के असर गर्ला ? प्रधानमन्त्री विश्वासको मत लिन आउँछन् कि आउँदैनन् ? जस्ता विषयमा समीक्षा भएको छ ।

पार्टी सभापतिले सबैको धारणा सुनेको तर आफ्नो कुनै प्रस्ताव नराखेको बैठकमा सहभागी प्रमुख समेचक बालकृष्ण खाँडले बताए ।

कांग्रेसका तीन धार

उसो त सरकारबारे कांग्रेसमा तीन धार देखिन्छ । यद्यपि सबै प्रचण्ड-माधव समूहसँग सहकार्य गर्ने पक्षमा देखिएका छन् ।

सभापति देउवा निकट नेताहरु ओली इतर समूहसँग मिलेर पार्टी सभापति देउवाको नेतृत्वमा सरकार बनाउनुपर्ने मत राख्छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, गगन थापा लगायतका नेताहरु प्रचण्ड-माधव समूहलाई फ्लोरबाट समर्थन गर्न सकिने बताउँछन् भने महामन्त्री शशांक कोइराला लगायतले प्रचण्ड-माधव समूहको नेतृत्व सरकारमा जाने मत राख्ने गरेका छन् ।

नेकपा विभाजित भई अविश्वासको प्रस्ताव आए वा प्रधानमन्त्री विश्वासको मत लिन चाहे हाल सत्तामा रहेको ओली समूहलाई समर्थन गर्न नसकिने सबैको धारणा छ । तर कांग्रेसकै नेताहरु देउवाले प्रधानमन्त्री ओलीसँग मिल्ने त होइन भन्ने शंका गर्छन् ।

पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भने सरकारबारे कांग्रेसले उपयुक्त समयमा सही समयमा निर्णय गर्ने बताए । ‘हामी एकखाल मनोविज्ञानमा पुगेका छौं, तर सांसदहरुको धारणा बुझेपछि निर्णय गर्छौं’ उनले भने, ‘अविश्वास प्रस्तावको प्रस्तावकका रुपमा जाने कि आफैं अगुवाई गर्ने भन्ने देश, संविधान र वर्तमान परिवेशलाई हेरेर निर्णय गछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment