Comments Add Comment

बाबुराम–उपेन्द्रलाई महन्थको ‘सरप्राइज’ : ओलीसँग वार्ता गर्न सुटुक्क कार्यदल

२५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई सत्तारुढ नेकपा एमालेसँग वार्ता गर्न नेताहरु खटाएको पाइएको छ ।

ठाकुरले २३ फागुनको विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । पार्टी अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई भेटेको थाहा पाएका जसपाका नेताहरुलाई वार्ता गर्न कार्यदल नै गठन भएको सूचना थिएन ।

तत्कालीन राजपा र संघीय समाजवादीबीच एकता भएपछि मंगलबार पहिलो पटक बसेको संसदीय दलको बैठकमा ठाकुरले प्रधानमन्त्री ओलीसँग भएको भेटवार्ताबारे ब्रिफ्रिङ मात्र गरेनन्, सत्ता पक्षसँग वार्ता गर्न नेताद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्षणलाल कर्णलाई खटाएको जानकारी दिए ।

उनका अनुसार प्राधनमन्त्री ओलीले सरकारमा आउन प्रस्ताव गरेका थिए । तर आफूले रेशम चौधरीलगायतका कैदीबन्दीको रिहाइलगायतका माग सम्बोधन हुनुपर्ने बताएको उनले सुनाए । ‘उहाँले रेशम चौधरीलाई छिट्टै छुटाउँला । सरकारमा आउनुस्, अरु पछि गरौंला भन्नुभयो’ ठाकुरले सुनाए ।

त्यसपछि आफूले सत्ता पक्षसँग सम्वाद गर्न दुई नेता शुक्ल र कर्णलाई खटाएको जानकारी दिएका छन् ।

सुटुक्क वार्ता टोली खटाउने ठाकुरको कदम सांसदहरुका लागि मात्र होइन, पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका लागि ‘सरप्राइज’ थियो ।

पूर्वप्रधानमन्त्री भट्टराई मंगलबारको बैठकमा भने अस्वस्थताका कारण अनुपस्थित थिए । एक सांसदका अनुसार बैठकमा सहभागी अध्यक्ष उपेन्द्रको अनुहारमा भने आश्चर्यभाव प्रष्टै देखिन्थ्यो ।

सांसदहरुले पनि पार्टीलाई जानकारी नदिई वार्ता टोली बनाएको भन्दै ठाकुरप्रति आक्रोश पोखेका थिए । ठाकुरले भने आकस्मिक रुपमा वार्ताका लागि खटाउनुपर्‍यो भन्ने आफ्नो बचाउ गरेका छन् ।

बैठकपछि जसपा वरिष्ठ नेता राजेन्द्र महतोले पनि अचानक वार्ता गर्नुपर्ने भएकाले अनौपचारिक रुपमा टोली बनाएको र छिट्टै शीर्ष नेताहरु बसेर त्यसलाई पूर्णता दिने बताएका छन् । एक नेताका अनुसार सम्भवतः शुक्ल र कर्णसहित ४ वा ५ सदस्यीय वार्ता टोली बन्नेछ ।

सोमबार नै भइसक्यो वार्ता

पार्टीले औपचारिकता नदिँदै जसपा नेताद्वय शुक्ल र कर्णले भने एमाले नेताहरुसँग वार्ता गर्न सुरु गरेका छन् ।

स्रोतका अनुसार उनीहरुले सोमबार एमालेबाट सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलसँग कुराकानी गरेका थिए । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेमश चौधरीको रिहाइबारे कुराकानी भएको नेता कर्णले बताए । उनले भने, ‘अरु विषयमा कुराकानी भएको छैन ।’

सजिलो छैन एमाले जसपा गठबन्धन

अध्यक्ष ठाकुरले सुटुक्क वार्ता थालेपछि एमालेसँग सत्ता गठबन्धन सहज नभएको जसपा नेताहरु बताउँछन् ।

जसपाले पुस ५ को संसद विघटन प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भनेको थियो र सडक आन्दोलनमा उत्रिएको थियो । साथै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने पक्षमा छैनन् । उनीहरु कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर संयुक्त सरकार बनाउनुपर्ने मत राख्छन् ।

मंगलबार संसदीय दलको बैठकमा धेरै सांसदहरुले ‘प्रतिगामी शक्ति’लाई साथ दिन नहुने धारणा राखेका छन् ।

राजपा वरिष्ठ नेता महतोले पनि मुद्दालाई केन्द्रमा राखेर नै अरु दलहरुसँग सम्वाद गर्ने बताए । ‘सरकार र सत्ताको कुरा सहज छैन । किनकी मुद्दा सम्बोधनको सवाल छ र त्यो सम्बोधनको विश्वसनीय आधार चाहिन्छ’ उनले भने, ‘सबैको कुरा बुझिसकेपछि के गर्ने भनेर निर्णय गर्छौं ।’

जसपाले मधेस आन्दोलनका क्रममा भएका घटनाहरुबारे अध्ययन गर्न सर्वोच्चका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका कैलाली-१ का सांसद रेशम चौधरीलगायतका कैदी बन्दी रिहा गर्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने र संविधान संशोधन गर्नुपर्ने माग राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment