+
+

माओवादी केन्द्र ब्युँतिएपछि पेरिसडाँडाको दृश्य

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ फागुन २५ गते २०:२८

२५ फागुन, काठमाडौं । बिहान ११ बजे नेकपा एमाले नेता गंगालाल तुलाधर हात जोड्दै कार्यकक्षबाट निस्किए । नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडाको प्रांगणमा उभिएर कार्यालयका कर्मचारीहरुसंग सामूहिक फोटो खिचाए ।

अर्का कार्यालय सचिव श्रीराम ढकालसँग तुलाधरले हात जोड्दै भने, ‘फेरि दुई भाइ संगसंगै विशाल हेडक्वार्टरमा बस्न पाइयोस् ।’

तुलाधर निस्किनै लाग्दा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कार्यालय परिसरमा प्रवेश गरे । श्रेष्ठ गाडीबाट ओर्लन नपाउँदै तुलाधर त्यहीँ पुगे । ‘नमस्कार कमरेड, म त जान लागेको । माधव नेपाल कमरेड जता म त्यतै जानु परिहाल्यो’ तुलाधरले भने ।

नेता श्रेष्ठले ‘हामी संगसंगै छौं’ भन्दै तुलाधरलाई विदाइ गरे ।

तुलाधर गत माघ ११ गते मात्रै कार्यालय सचिवको जिम्मेवारी लिएर पेरिसडाँडा पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रचण्ड माधव समूहले पेरिसडाँडालाई केन्द्रीय कार्यालयका रुपमा प्रयोग गरेको थियो ।

तर सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्रको एकता निष्क्रिय बनाइदिएपछि सोमबार प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन्द्र अलग पार्टीमै रहने निर्णय गरेको थियो ।

माओवादी केन्द्रको पार्टी कार्यालयका अनुसार सचिव तुलाधरसंगै उपसचिव मोहन गौतम र लेखा शाखामा कार्यरत खेमराज पौडेल पनि पेरिसडाँडाबाट बिदा भएका छन् । उनीहरु तीनै जना माधव नेपाल पक्षका हुन् ।

माधव नेपालप्रति चिन्ता !

मंगलबार पेरिसडाँडास्थित कार्यालय परिसरमा नेता/कार्यकर्ताहरु समूह-समूहमा छलफलमा थिए ।

एउटा समूहमा पूर्वमन्त्री समेत रहेका नेता मातृका यादव थिए । उनी भन्दै थिए, ‘माधव नेपाल समूहलाई अलि गाह्रो भयो । तथापि, सहकार्य भयो, हाम्रोतिरका र एमालेतिरका को कस्तो थाहा पाउने मौका मिल्यो । यही नै भयो एकीकरण भएर रहेको तीन वर्षको उपलब्धी ।’

उनीसंग रहेका कार्यकर्ताहरु एमाले र माओवादी अलग हुने निर्णयका सम्बन्धमा जिज्ञासा राखिरहेका थिए । अबको बाटो के ? भनेर सोधिरहेका थिए ।

‘माधव नेपालहरु एमालेमा पेलानमा पर्न सक्छन् । केपी शर्मा ओलीले एक एक गरेर अनुशासनको कारबाही गर्न सक्छ । यसलाई नेताहरुले कसरी लिएका होलान् ?’ कार्यकर्ताको जिज्ञासा थियो ।

अर्को एउटा समूहमा कार्यकर्ताहरु सोमबार र मंगलबारको दृश्य केलाइरहेका थिए ।

उनीहरु भन्दै थिए, ‘सोमबार शीर्ष नेताहरु थिए, माधव नेपाल, झलनाथ खनालसहितका एमाले नेताहरु आएका थिए । स्थायी कमिटी बैठकको माहोल अर्कै थियो । एकैदिनमा चार्म हराए जस्तो पो भयो ।’

सोमबार प्रचण्ड–माधव समूहको स्थायी समितिको बैठक पेरिसडाँडामै बसेको थियो । सोही बैठकबाट एमाले र माओवादी अलग अलग हुने निर्णय भएको हो ।

अलग भएपछि माओवादी केन्द्रको स्थायी समितिको बैठक मंगलबार पेरिसडाँडामै बस्यो । के निर्णय गर्ला त भनेर कार्यकर्ता पर्खिरहेका थिए ।

त्यही बेला एमालेले केन्द्रीय समिति १५ सय सदस्यीय बनाएको जानकारी निर्वाचन आयोगमा पठाउन लागेको सूचना आयो । एक माओवादी कार्यकर्ताले भने ‘१५ सय सदस्यीय केन्द्रीय समितिले मान्यता पायो भने त माधव नेपाल समूह एमालेमा बस्नै सक्दैनन् । आजै फर्काउनुपर्छ ।’

ती नेताले निर्वाचन आयोगका प्रमुख आयुक्तलाई फोन गरे, उठेन । आयोगका प्रवक्ताले फोन उठाएर ‘आफ्नो जानकारीमा नरहेको’ जवाफ दिए ।

‘नेतृत्व र विचार नफेरिएसम्म यस्तै हो’

कार्यकर्ताले पार्टीमा लामो समयदेखि एउटै नेतृत्व रहेकामा असन्तुष्टि जनाए । ‘कम्युनिस्ट पार्टी हो, हामी लागेकै छौं तर, सधैं एउटै नेतृत्व । विचार पनि उही । नेतृत्व र विचार नफेरिएसम्म यस्तै हो’ स्थायी समिति सदस्यकै अगाडि एक कार्यकर्ताले गुनासो गरे ।

बोर्ड फेर्न बाँकी

माओवादी केन्द्रले पेरिसडाँडास्थित कार्यालयमा ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ लेखेको बोर्ड फेरेको छैन । बोर्ड मात्र होइन, कार्यालयमा रहेका एमाले नेताहरुको नेम प्लेट पनि हटाएको छैन ।

प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सोमबार एमालेमै फर्किने गरी बिदा भएका थिए । तर, मंगलबारसम्म उनीहरुको नेम प्लेट र कार्यकक्ष यथावत छ । कार्यालय सचिव श्रीराम ढकालले भने, ‘बोर्ड बनाउन दिइएको छ, आएपछि फेरिन्छ ।’

यता धुम्बाराहीको केन्द्रीय कार्यालयमा भने बिहान साढे १० बजेतिर नै ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ को बोर्ड हटाएर ‘नेकपा एमाले’को बोर्ड राखियो ।

कार्यालय सचिव ईश्वरी रिजालका अनुसार धुम्बाराहीबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठको नाम प्लेट अदालतको फैसला आएकै दिन हटाइएको थियो ।

‘प्रचण्ड र नारायणकाजी श्रेष्ठ आउनुहुन्छ भने अतिथिकक्षमा राख्छौं’, उनले भने, ‘वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल कहिले आउनुहुन्छ भनेर स्वागत गर्न खादा लिएर बसेको छु ।’

उनका अनुसार धुम्बाराहीमा रामबहादुर थापा बादलको कार्यकक्ष भने यथावत छ ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?