
३० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गरेका छन् ।
निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
माओवादी निर्वाचनमा सहभागी हुन तयार रहे पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनले भनाइ छ ।
सरकारले दलहरूलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनका लागि कुनै भूमिका नखेलेको उनको आरोप छ ।
उनले सरकार राजनीतिक दलहरूको विरुद्धमा लागिरहेको पनि जिकिर गरे ।
सरकाले दलहरूको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने, मुद्दा लगाउने खालका गतिवधि अगाडि बढाएको उनको भनाइ छ ।
सरकारले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन गर्छ भन्नेमा शंका पैदा भएको उनले बताए ।
‘निर्वाचन त हुनुपर्छ भन्ने नै हो । निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन गर्ने हो । सरकारले निर्वाचनका लागि निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन गर्न सक्ने खालको वातावरण बनाउँछ कि बनाउँदैन भन्नेकुरा कै आशंका पैदा भएको छ,’ उनले भने, ‘त्यसकारण सरकारले न भयमुक्त वातावरणमा निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न गराउनका लागि भूमिका निर्वाह गर्नुपर्छ ।’
उनले अगाडि भने, ‘अहिलेसम्मको स्थिति हेर्दा सरकारले त्यो भूमिका निर्वाह गर्न सकेको देखिँदैन । यद्यपि अस्ती राष्ट्रपति कहाँ केही संवाद त भएको छ । तर पनि सरकारले दलहरूलाई विश्वासको वातावरणमा लिनुको साथै शान्तिसुरक्षा कायम राख्नुपर्छ । राजनीतिक दलहरूको विरुद्धमा जुन ढंगले प्रतिशोधको भावनाले कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ । त्यसले निष्पक्ष, स्वतन्त्र ढंगवाट निर्वाचन हुन्छ भन्नेमा आंशका पैदा गराइराखेको छ ।’
प्रतिक्रिया 4