Comments Add Comment

नेपालले जित्यो थ्री नेसन्स कप फुटबलको उपाधि

१६ चैत, काठमाडौं । नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो ।

खेलमा नेपाल सुरुवातदेखि नै हावी भएको थियो । १७ औं मिनेटमा नेपालका अनन्त तामाङको हेडर बंगलादेशी गोलकिपर अनिसुर रहमानले मुस्बिलले बचाउँदा नेपालले कर्नर पायो ।

त्यसपछि सुनील बलले प्रहार गरेको कर्नर बंगलादेशी खेलाडीले क्लियर गर्न सकेनन् । त्यसैमा अनमार्क रहेका सन्जोग राईले १८ औं मिनेटमा  गर्दै नेपाललाई अग्रता दिलाए । म्यान अफ दि म्याच सञ्जोगको यो राष्ट्रिय टिममा पहिलो र नेपाली टिमले १८ महिनापछि पहिलो पटक गोल गरेको हो ।

पछिल्लो पटक सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा अन्जन विष्टले चाइनिज ताइपेइविरुद्ध गरेका थिए । त्यसपछिका ८ खेलमा नेपालले गोल गर्न सकेको थिएन ।

३० औं मिनेटमा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमायो । अञ्जन विष्टले बंगलादेशी गोलकिपर अघि बढेको अवस्थामा पेनाल्टी एरियाभित्रबाट गरेको सामान्य प्रहार पोष्टमाथिबाट बाहिरियो ।

यस्तै ४२ औं मिनेटमा विशाल राईले वान भर्सेस वानमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । रञ्जित धिमालको पासका संजोग राईले वान टचमा उपलब्ध गराएको बलमा विशालले उत्कृष्ट गोल गरे । सन् २०१५ अगष्ट २१ मा भारतविरुद्ध खेल्दै डेब्यु गरेका विशालले नेपालका लागि गरेको यो चौथो गोल हो ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको नेपालको खेल दोस्रो हाफमा सुस्त रह्यो । उता बंगलादेशले भने दोस्रो हाफमा गोल फर्काउने प्रयासमा लागेको थियो ।

६७ औं मिनेटमा बंगलादेशका यासिन अराफातको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ८३ औं मिनेटमा महबुर रहमानले गोल गर्दै खेल २-१ को स्थितिमा पुर्‍याए । कप्तान जमन भुएनको कर्नरमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रहमानले उत्कृष्ट हेडर गोल गरेका थिए ।

च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । बंगलादेशले ३ हजार डलर पायो ।

नेपाल र बंगलादेश फुटबलको फाइनलमा भिडेको यो तेस्रो पटक हो । यसअघि सन् १९९४ को पहिलो साग र १९९९ को आठौं सागमा यी दुई टोली फाइनलमा खेलेका थिए ।

पहिलो सागमा नेपाल विजयी भएको थियो भने १९९९ मा बंगलादेशले नेपाललाई दशरथ रंगशालामै पराजित गरेको थियो । २१ वर्षपछि नेपालले त्यस हारको बदला पनि दशरथ रंगशालामै लियो ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अघिल्लो खेलबाट नेपाली टिममा दुई परिवर्तन गर्दै अभिषेक रिजाल र रवि पासवानको ठाउँमा विशाल राई र सुनील बललाई सोमबार पहिलो रोजाइमा खेलाएका थिए ।

यसै महिना तय भएको विश्वकप छनोटका खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट तयारीलाई मध्यनजर गर्दै थ्री नेसन्स कप फुटबल आयोजना गरेको हो ।

रोहित चन्द उत्कृष्ट खेलाडी

नेपालका रोहित चन्द थ्री नेशन्स कप फुटबलको उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका रोहित उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

उनले नगद ५०० डलर पुरस्कार प्राप्त गरे । इन्डोनसियाको लिगमा पर्सिजा जाकार्ताबाट मिडफिल्डमा खेल्दै आएका रोहितले राष्ट्रिय टिमबाट डिफेन्समा खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment