Comments Add Comment

क्रिकेट प्रशिक्षक वाटमोर भन्छन्- नेपालको प्रदर्शनबाट ‘सरप्राइज्ड’ भएँ

१२ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा त्रिकोणात्मक सिरिज टी-२० सिरिजको उपाधि जित्दा पर्दा पछाडिको नायक रहे प्रशिक्षक डेभ वाटमोर । शनिवार नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गरेपछि नेपाली दर्शक मात्र होइन उनै प्रशिक्षक वाटमोर पनि केही आश्चर्यमा परे ।

उनले खेल प्रतिस्पर्धात्मक नै हुने सोचेका थिए । तर नेपाली बलरले कडा बलिङ गरे । जसमा डच ब्याट्सम्यान खुलेर खेल्न सकेनन् र पूरा २० ओभर समेत टिक्न सकेनन् ।

‘खेलाडीहरुले मलाई केही सरप्राइज दिए । उनीहरुले फाइनलका लागि आफ्नो उत्कृष्ट प्रदर्शन साँचेर राखेका थिए,’ वाटमोरले भने, ‘मैले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा राखेको थिएँ । कहिलेकाहीँ यस्तो हुने गर्छ । ‘ उनले जति ठूलो खेल हुन्छ त्यति नै ‘रिल्याक्स’ भएर फाइनलको तयारी गरेको बताए ।

वाटमोर यसै वर्षको जनवरीदेखि नेपाली राष्ट्रिय टिमको प्रशिक्षक बनेका थिए । उनी कस्ता प्रशिक्षक भनेर धेरै चिनाउनु पर्दैन । नेपाली टिममा अहिले रहेका आधाभन्दा बढी खेलाडी वाटमोरले सन् १९९६ मा श्रीलंकालाई प्रशिक्षकको रुपमा उपाधि जिताउँदा जन्मेका समेत थिएनन् । सिरिजमा म्यान अफ दि सिरिज बनेका कुशल भुर्तेल वाटमोरले प्रशिक्षकको रुपमा विश्वकप जित्दा जन्मिएका थिएनन् ।

उनै प्रशिक्षक डेभ वाटमोरले आफ्नो पहिलो प्रशिक्षणमै नेपाललाई उपाधि जिताए । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको नेपाल नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सिरिजमा नेपालले पाँच मध्ये फाइनलसहित ४ खेल जित्यो । जसमा नेदरल्याण्ड्स र मलेसियालाई समान दुई पटक हरायो । नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भयो ।

यस्तै नेपालले पाँचमध्ये दुई खेलमा रन चेज गर्दै समान ९ विकेटको जित हात पार्‍यो । बाँकी तीन खेलमा पहिलो ब्याटिङ गर्दै २०० रनको आँकडा पार गर्‍यो । जसमा दुई पटक पराकिलो जित हात पार्दा एक पटक २०६ रन डिफेण्ड गर्न सकेन ।

१५० को आसपासमा रन बनाउने नेपालले एउटै सिरिजमा तीन पटक दुई सय रन भन्दा बढी बनायो । नेदरल्याण्ड्स जस्तो टिमलाई पनि नेपालले दुई पटक दुईभन्दा बढी रन हान्यो ।

शनिबार भएको फाइनलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध आफ्नो टी-२० अन्तर्राष्ट्रिय इतिहासकै सर्वाधिक २३८ रन बनायो । उच्च लक्ष्य पछ्याएको नेदरल्याण्ड्सलाई ९६ रनमा अलआउट गर्दै नेपालले १४२ रनको फराकिलो जित हात पार्‍यो । नेपालले बनाएको स्कोर र जितको रनअन्तर अहिलेसम्मको कीर्तिमान हो ।

नेपालले २०१९ मा भएको १३औं सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो र उक्त खेलमा १४१ रनको जित हात पारेको थियो । दुवै कीर्तिमान नेपालले यस खेलमा तोड्यो ।

यी सबै प्रदर्शन र जितको पछाडिको नायक उनै वाटमोर रहे । भलै उनले मैदानमा खेल खेलेनन् तर खेलाडीलाई खेल्न सिकाए । भएको क्षमतालाई चिनेर अवसर दिए । खुल्ला रुपले खेल्न छाडिदिए । प्रदर्शनमा निखार ल्याउने प्रयास गरे।

उनी धेरै बोल्दैनन्, खेलाडीको प्रदर्शनबाटै आफ्नो कला देखाइदिन्छन् । टेष्ट राष्ट्र र आईपीएल फ्रेन्चाइज कोलकता नाइट राइडर्समा काम गरिसकेका वाटमोरको लागि अहिले प्रमाणित गर्नुपर्ने खासै केही छैन । उनले अहिलेसम्मको अनुभव नेपाली क्रिकेटलाई सिकाइरहेका छन् र नेपाली खेलाडी सिक्ने क्रममा छन् ।

नेपालले अब अर्को टी-२० प्रतियोगिता कहिले खेल्छ थाहा छैन । घरेलु प्रतियोगिता तत्काल छैन । अर्को वर्षको सुरुमा नेपालले टी-२० ग्लोबल क्वालिफायर खेल्दैछ । तर अब कसरी अघि बढ्ने तत्कालका लागि योजना भने छैन । प्रशिक्षक वाटमोरले नेपाल मात्र नभएर सबै टिमले खेल्न चाहेको बताए । तर समय सोचेजस्तो छैन ।

यस सिरिजमा वाटमोरको प्रशिक्षणमा चार खेलाडीले टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्ने अवसर पाए । जसमा कुशल भुर्तेल र आसिफ शेखले लगातार दुई खेलमा शतकीय साझेदारी गर्दै विश्व कीर्तिमान नै बनाए । यस्तै कुशल भुर्तेलले डेब्युमै लगातार तीन अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाए ।

मिडियम पेसर कमल सिंह ऐरीले अन्तिम दुई खेलमा मात्र अवसर पाए पनि आफूलाई प्रमाणित गर्दै दुई विकेट लिए । अर्का डेब्यु गर्ने स्पीनर शाहब आलमले पनि राम्रो प्रदर्शन गरे ।

सिरिज सुरु हुनुअघि वाटमोरलाई नयाँ खेलाडी कस्ता छन् भनेर सोध्दा उनले सबै खेलाडी क्षमतावान भएर नै टिममा राखेको र डेब्यु गर्ने अवसर पाए राम्रो हुने बताएका थिए । सिरिज सकिँदासम्म उनीहरुले डेब्यु मात्र गरेनन् टिममा पहिलो रोजाइमा खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment