Comments Add Comment

एनएसएल प्लेअफ आजदेखि, काठमाडौं र धनगढी भिड्दै

२८ वैशाख, काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ खेलआजदेखि हुँदैछ । प्लेअफको पहिलो खेलमा लिगमा शीर्ष दुई स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी एफसी भिडदैछन् । खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।  ।

काठमाडौं र धनगढीबीचको विजेता सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टिमले पनि अर्को अवसर भने पाउनेछ ।

लिग चरणमा ६ मध्ये सर्वाधिक ४ खेल जित्दै काठमाडौंले १३ अंक जोडेको थियो । लिगमा काठमाडौंले व्यहोरेको एक मात्र हार धनगढीविरुद्ध नै थियो । त्यसैले काठमाडौंलाई बदला लिने अवसर समेत छ ।

उता धनगढीले ६ मध्ये ३ खेलमा जित हात पार्दा २ खेलमा पराजित भयो भने एक खेल बराबरी खेलेको थियो । धनगढीले १० अंक जोड्यो ।

प्लेअफ अघि सोमबार भएको प्रि-म्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान तथा प्रशिक्षकले जितकै लागि खेल्ने बताएका थिए । राष्ट्रिय टिमका कप्तान तथा नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङको नेतृत्वमा धनगढीले खेलिरहेको छ भने राष्ट्रिय टिमका नम्बर दुई गोलकिपर विकेश कुथुको कप्तानीमा काठमाडौंले खेलिरहेको छ ।

काठमाडौंको प्रशिक्षकमा गत चैतमा नेपाललाई थ्री नेशन्स कपको उपाधि दिलाएका बालगोपाल महर्जन छन् । धनगढीको मुख्य प्रशिक्षक युगल किशोर राई रहेपनि नाइजेरियन फुजात तोपले रणनीतिमा साथ दिइरहेका छन् ।

काठमाडौं र धनगढीबीचको खेल बालगोपाल भर्सेस फुजा तथा विकेश भर्सेस किरणबीचको खेल समेत मान्न सकिनेछ ।

काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले लिगमा शीर्ष स्थानमा रहँदा खेलाडीहरु मोटिभेट भएको बताए । ‘पहिलो पटक भएको लिगमा काठमाडौं शीर्ष स्थानमा रहन सफल भयो । खेलाडीहरु मोटिभेट छन् । डे बाई डे राम्रो भइरहेको छ,’ महर्जनले भने, ‘कुनै पनि हालतमा जित्नकै लागि खेल्छौँ । मिड र अट्याकमा फरक छ । पहिलो खेलपछि दुवै पोजिसनमा राम्रो भएको छ ।’

यस्तै कप्तान तथा मार्की खेलाडी विकेशले पनि लिगमा राम्रो गरेकाले प्लेअफमा पनि सोही प्रदर्शन दोहोर्‍याउने लक्ष्य रहेको बताए । ‘लिगमा राम्रो भयो । प्लेअफका लाग तयार छौँ र आफ्नोतर्फबाट बेस्ट दिनेछौँ,’ पहिलो पटक कप्तानी गरिरहेका विकेशले नयाँ भूमिकाले थप जिम्मेवारी बढेको समेत बताए । ‘कप्तान र गोलकिपरको रुपमा नयाँ जिम्मेवारी छ । गोलकिपरले एक मिस्टेक गर्‍यो कि सकियो । कप्तान हुँदा थप जिम्मेवारी हुन्छ,’ उनले भने, ‘ट्राइबेकर भए झन् प्रेसर हुन्छ, टिमलाई अझ माथि लिएर जानु छ ।’

यस्तै धनगढीका प्रशिक्षक फुजा तोपेले काठमाडौंविरुद्ध खेल्न तयार रहेको बताए ।

धनगढीका कप्तान तथा आइकोनिक प्अर किरण चेम्जोङले लिगमा अन्तिम खेल हारेपनि प्लेअफका लागि तयार रहेको बताए । उनले भने, ‘राम्रो खेल्दा खेल्दै पनि अन्तिम लिग खेल हार्‍यौँ । तयारीको समय कम भएपनि मानसिक रुपमा तयार छौँ ।’

किरणले प्लेअफ प्रतिस्पर्धात्मक हुने र जित्नकै लागि खेल्ने बताए । उनले भने, ‘खेलको लागि तयार छौँ र जित्नकै लागि खेल्छौँ । लिग र नकआउट फरक हुन्छ । खेल प्रतिस्पर्धात्मक हुनेछ ।’

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टमा आयोजना भएको प्रतियोगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । लिगको २१ खेलपछि शीर्ष चार स्थानमा रहने टिमहरु प्लेअफका लागि छनोट भएका छन् ।

लिग चरणमा खेलको नतिजा

काठमाडौंको नतिजा

विरुद्ध ललितपुर १-०

विरुद्ध धनगढी ०-३

विरुद्ध पोखरा ०-०

विरुद्ध बुटवल १-०

विरुद्ध विराटनगर ५-४

विरुद्ध चितवन २-१

गोल गरेको : ९

गोल खाएको : ८

सर्वाधिक गोलकर्ता : मेसोउके ओलोमोउ (५ गोल)

धनगढीको नतिजा

विरुद्ध विराटनगर ०-३

विरुद्ध काठमाडौं ३-०

विरुद्ध ललितपुर १-१

विरुद्ध चितवन ३-०

विरुद्ध पोखरा १-०

विरुद्ध बुटवल ०-१

गोल गरेको : ८

गोल खाएको : ५

सर्वाधिक गोलकर्ता : ओलावाले आफिज (४ गोल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment