Comments Add Comment

कोरोना संक्रमणबाट मध्य तराईमा थप १२ जनाको मृत्यु

५ जेठ, वीरगञ्ज । कोरोना संक्रमणबाट मध्य तराईका पर्सा, बारा र रौतहटमा थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा बारा र पर्साका विभिन्न अस्पताल तथा अस्पताल लैजाने क्रममा १२ जनाको मृत्यु भएको हो ।

नारायणी अस्पतालमा २, वीरगञ्ज हेल्थ केयरमा ४, तराई हस्पिटल २, स्पर्श मल्टीस्पेसालिटी हस्पिटल, नेशनल मेडिकलको बाबा होटल कोरोना अस्पताल र सिमरा आइसोलेसन सेन्टरमा १÷१ जना र उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै एक जनाको मृत्यु भएको हो । मृतकमध्ये पर्साका ६ जना, बाराका ४ र रौतहटका २ जना छन् ।

नारायणी अस्पतालमै रौतहटको गौर नगरपालिका–८ कोरवा बस्ने ५१ वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख ३० गते गौरमै एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो । उपचारको क्रममा बुधबार बिहान १०ः१० बजे उनको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

नारायणी अस्पतालमा रौतहटको चन्द्रपुर नगरपालिका– ९ बस्ने ९० वर्षीय वृद्धको मृत्यु भएको छ । जेठ ४ गते अस्पतालमा भर्ना गरिएकै दिन एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा मंगलबार राति ९ः१० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

वीरगञ्जकै स्पर्श मल्टी स्पेसालिटी हस्पिटलमा वीरगञ्ज– १० बस्ने ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएका उनी २८ गते अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा मंगलबार राति १२ बजे उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा वीरगञ्ज–३ बस्ने ४१ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । वैशाख २४ गते अस्पताल भर्ना भएका उनको २७ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा मंगलबार साँझ ६ः१० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

वीरगञ्ज हेल्थकेयरमै वीरगञ्ज–१३ बस्ने ६१ वर्षीय पुरुषको मंगलबार साँझ ७ बजे र वीरगञ्ज–१४ बस्ने ४८ वर्षीय पुरुषको मंगलबार राति १०ः२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । जेठ ३ गते र वैशाख २७ गते अस्पतालमा भर्ना भएका उनीहरुको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

वीरगञ्ज हेल्थ केयरमा बाराको कलैया उपमहानगरपालिका– १८ मोतिसर बस्ने ६६ वर्षीय पुरुषको मृत्यु भएको छ । जेठ ३ गते एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसन वार्डमा उपचारको क्रममा बुधबार बिहान ४ः२५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

वीरगञ्जकै तराई हस्पिटलमा उपचारको क्रममा पर्साको जिराभवानी गाउँपालिका– १ बस्ने ४२ वर्षीया महिलाको मृत्यु भएको छ । जेठ २ गते भर्ना भएकी उनको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा बुधबार बिहान १ः१० बजे उनको मृत्यु भएको थियो ।

तराई अस्पतालमै बाराको कलैया उपमहानगरपालिका– १ बस्ने ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख २ गते कोरोना संक्रमण पुष्टि भई उपचाररत उनको मंगलबार बेलुका पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा वीरगञ्ज– २ कि ५८ वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख २३ गते भर्ना भएकी उनको सोही दिन पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा बुधबार दिउँसो १२ः१० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु

बाराको कलैया उपमहानगरपालिका–११ बस्ने ५१ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । उपचारका लागि अस्पताल लैजाने क्रममा बुधबार दिउँसो साढे ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झाडापखाला लागेपछि बुधबार बिहान ११ बजे उनलाई उपचारको लागि जिल्ला अस्पताल कलैयामा लगिएको थियो । एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जतर्फ लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उपचार नपाउँदा मृत्यु

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–८ बस्ने ५८ वर्षीय पुरुषको सिमरामा मृत्यु भएको छ । पीसीआर परीक्षणका लागि वैशाख ३० गते कलैया अस्पतालमा उनको स्वाब नमुना दिइएको थियो । पीसीआर रिपोर्ट नआउँदै जेठ १ गते स्वास प्रश्वासमा समस्या आएपछि अल्पाइन अस्पतालमा भर्ना गरियो ।

अल्पाइनले थप उपचारका लागि गण्डक अस्पतालमा पठायो । जेठ २ गते उनलाई कोरोना संक्रमण पुष्टि भयो । आर्थिक अवस्था कमजोर भएका कारण उनलाई सिमरास्थित आइसोलेसन सेन्टरमा ल्याएर राखिएको थियो ।

आइसोलेसन सेन्टरमै मंगलबार राति ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment